स्वास्थ्य सचिवका लागि संगिता, टंक र विकासको नाम सिफारिस


काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्राविधिक सचिवका लागि ३ जनाको नाम सिफारिस भएको छ। स्वास्थ्य सचिवका लागि डा. संगीता कौशल मिश्र, डा. टंक बाराकोटी र डा. विकास देवकोटाको नाम सिफारिस भएको हो। सोमबार बसेको बढुवा समितिको बैठकले स्वास्थ्य सचिवमा ३ जनाको नाम सिफारिस गरेको लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीले स्वास्थ्य लाइभलाई जानकारी दिए।

नेपाल स्वास्थ्य सेवा ऐनमा स्वास्थ्य सेवाको बाह्रौं तहमा कार्यरत र एघारौं तहमा कम्तीमा पाँच वर्ष काम गरेको कर्मचारी ज्येष्ठता र कार्यसम्पादन मूल्याङ्कनको आधारमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिव पदमा नियुक्त हुन सक्ने’ उल्लेख छ। बढुवा समितिले डा. संगीता, डा. टंक र डा. विकासलाई सचिव बढुवाका लागि सिफारिस गरेपछि मन्त्रिपरिषद्ले उनीहरूमध्ये १ जनालाई स्वास्थ्य सचिवमा बढुवा गर्नेछ।

२०७९ असार २३ गते बाह्रौं तहमा बढुवा भएकी डा. संगिता सचिवमा नियुक्त भइन् भने २ वर्ष ४ महिना सचिव चलाउन पाउनेछिन्। २०७९ चैतमा १३ गते बाह्रौं तहमा बढुवा भएका डा. टंक र डा. विकाससचिव भए भने ३ वर्ष महिना सचिव चलाउने देखिन्छन्। डा. टंक उमेर हदका कारण केही समय अघि नै सेवानिवृत्त हुनेछन्।

स्वास्थ्य सचिव बढुवा समितिमा लोक सेवा आयोगका अध्यक्ष माधव रेग्मी अध्यक्ष, मुख्यसचिव एकनारायण अर्याल र पूर्वस्वास्थ्य सचिव डा. किरण रेग्मी सदस्य रहेका छन्। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव रविलाल पन्थ सदस्यसचिव रहेका छन्। उक्त समितिले भावी स्वास्थ्य सचिवमा ३ जना अतिरिक्त सचिवको नाम सिफारिस गरेको छ। स्वास्थ्य सचिव डा. रोशन पोखरेल फागुन ११ सेनानिवृत्त भएपछि भावी स्वास्थ्य सचिवका लागि अतिरिक्त सचिवहरू डा. संगिता, डा. टंक र डा. विकासको नाम सिफारिस भएको हो।

 

 

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ