राजस्व अनुसन्धान कार्यालय बुटवलले साढे ५ करोड मागदाबीसहित मुद्दा हाल्यो


काठमाडौं। राजस्व अनुसन्धान कार्यालय, बुटवलले करिब साढे ५ करोडको राजस्व छलीको मुद्दा दायर गरेको छ। राजस्व अनुसन्धान विभागबाट राजस्व अनुसन्धान कार्यालय, बुटवल शशांक खनाल र रमेश गौतमविरुद्ध राजस्व चुहावटमा बिगो र जरिवाना गरी करिब साढे ५ करोडको मुद्दा दायर गरेको हो। प्रतिवादी शशांक र रमेशविरुद्ध समान १ करोड ३० लाख २७ हजार २९० बिगो र सोही बमोजिम जरिवाना मागदाबीसहित उच्च अदालत तुलसीपुर बुटवल ईजलासमा अभियोग पत्र दायर गरिएको छ। राजस्व अनुसन्धान कार्यालय, बुटवलको प्रमुख भएर विवेक घिमिरे गएसँगै राजस्व छलीमा आक्रामक कारवाही सुरु भएको छ। कार्यालयले राजस्व छलीका ठूल्ठूला काण्डमा एक्सन लिन थालेको हो।

 

प्रेस विज्ञप्ति

राजस्व अनुसन्धान विभागबाट राजस्व अनुसन्धान कार्यालय, वुटवल मार्फत प्रतिवादीहरु शशांक खनाल र रमेश गौतम बिरुद्ध राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा ३ ले निषेधित गरेको कार्य गरी ऐ. ऐनको दफा ४ बमोजिमको कसुर गरेको अभियोगमा आज मिति २०८१।११।१३ मा सम्मानित उच्च अदालत तुलसीपुर बुटवल ईजलासमा अभियोग पत्र दायर गरिएको छ ।

उल्लेखित प्रतिवादीहरुमध्ये जिल्ला रुपन्देही, सिद्धार्थनगर नगरपालिका, वडा नं. ०१, बेलहिया बस्ने बर्ष ३३ को शशांक खनालले विनास्रोतका ईम्पोर्टेड व्हिस्की (नेपालमा उत्पादन नहुने) लगायतका मदिराका ढक्कन (क्राउन क्रक) र अन्य सामाग्री चोरी तस्करी गरेको साथै उक्त सामाग्रीको कानुनी प्रयोगको कुनै आधार, कारण प्रमाण पेश गर्न नसकेको र भन्सार चोरीपैठारी गरेका मालवस्तुको कारोबार गरी भन्सार महसुल, मू.अ.कर तथा अन्तःशुल्क लगायत राजस्व चुहावट गरेको कसुरका सम्वन्धमा राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, 2052 को दफा 3 ले निषेध गरेको कार्य गरी दफा 4 को खण्ड (छ) र (झ) बमोजिम कसूर गरेको पुष्टि हुन आएकाले उक्त राजस्व चुहावटको प्रकृति, गाम्भिर्यता तथा राजस्व चुहावट भएको रकम समेतलाई मध्यनजर गरी राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, 2052 को दफा २(छ१) बमोजिम बिगो रु.१,३०,२७,२९०।–(एक करोड तिस लाख सत्ताइस हजार दुईसय नब्बे) कायम गरी सोही ऐनको दफा २३(१) बमोजिम बिगो रु.१,३०,२७,२९०।–(एक करोड तिस लाख सत्ताइस हजार दुईसय नब्बे) असुल गरी बिगोको शतप्रतिशत रकम रु.१,३०,२७,२९०।–(एक करोड तिस लाख सत्ताइस हजार दुईसय नब्बे) जरिबाना हुन र सोही ऐनको दफा २३(१)(ख) बमोजिम हदैसम्म कैद सजाय हुन मागदावी लिर्इएको छ ।

त्यसैगरी उक्त मुद्दामा संलग्न भएका अर्का प्रतिवादी जिल्ला काभ्रपलाञ्चोक, चौरीदेउराली गा.पा. वडा नं ०४ स्थायी ठेगाना भई हाल काठमाडौँ महानगरपालिका वडा नं. ४ बालुवाटार बस्ने वर्ष ४५ का रमेश गौतमले राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, 2052 को दफा 3 ले निषेध गरेको कार्य गरी दफा 4 को खण्ड (छ) र (झ) बमोजिम कसूर गरेको पुष्टि हुन आएकाले उक्त राजस्व चुहावटको प्रकृति, गाम्भिर्यता तथा राजस्व चुहावट भएको रकम समेतलाई मध्यनजर गरी राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, 2052 को दफा २(छ१) बमोजिम बिगो रु.१,३०,२७,२९०।–(एक करोड तिस लाख सत्ताइस हजार दुईसय नब्बे) कायम गरी सोही ऐनको दफा २३(१) बमोजिम बिगो रु.१,३०,२७,२९०।–(एक करोड तिस लाख सत्ताइस हजार दुईसय नब्बे) असुल गरी बिगोको शतप्रतिशत रकम रु.१,३०,२७,२९०।–(एक करोड तिस लाख सत्ताइस हजार दुईसय नब्बे) जरिबाना हुन र सोही ऐनको दफा २३(१)(ख) बमोजिम हदैसम्म कैद सजाय हुन मागदावी लिर्इ अभियोग पत्र दायर गरिएको छ ।

(कृष्ण कुमारी श्रेष्ठ)

उपमहानिर्देशक/प्रवक्ता

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ