साढे १५ वर्षपछि सचिव हुने लाइनमा वीरेन्द्रकुमार यादव


काठमाडौं। सिडिओको लतले सचिव हुन भुलेका वीरेन्द्रकुमार यादव बल्ल सचिवमा सिफारिस भएका छन्। मंगलबार लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षतामा बसेको बढुवा समितिले सचिव बढुवाका लागि यादवको नाम सिफारिस गरेको हो।

जेलमा रहेका निलम्बित सचिव टेकनारायण पाण्डे फागुन १२ गते ५ वर्षे सेवा अवधिका कारण अनिवार्य अवकाशमा गएपछि उक्त ठाउँमा बढुवाका लागि ३ सहसचिवको नाम सिफारिस भएको हो। सिफारिस हुनेमा राष्ट्रिय योजना आयोगका सहसचिव वीरेन्द्रकुमार यादव, मधेश प्रदेशका कायममुकायम प्रमुख सचिव मदन भुजेल र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयकी सहसचिव चन्द्रकला पौडेल रहेका छन्। उनीहरूमध्ये १ जनालाई आगामी मन्त्रिपरिषद्को बैठकले सचिवमा बढुवा गर्नेछ।

२०६६ असोजमा मधेशी कोटाबाट सहसचिव भएका वीरेन्द्रकुमार यादव साढे १५ वर्षपछि सचिवमा बढुवा हुन लागेका हुन्। सिडिओ हुन पल्किएका उनी विशिष्ट श्रेणी (सचिव)मा बढुवा हुन आवश्यक पर्ने उच्चस्तरीय कार्यकारी विकास कार्यक्रम (एसईडीपी) तालीम नै नलिई बसेका थिए। सँगैका सहसचिवहरू बैकुण्ठ अर्याल, बुद्धिबहादुर खड्का, यादवप्रसाद कोइराला, रामप्रसाद थपलिया सचिव भएर अवकाश भएपछि बल्ल यादव सचिव हुने तरखरमा छन्। निजामती सेवामा सबैभन्दा वरिष्ठ सहसचिव नै यादव हुन्।

सहसचिव वीरेन्द्रकुमार यादव

कृषिको अधिकृतबाट २०६६ साल असोजमा मधेशी कोटाबाट सीधै प्रशासन सेवा तर्फको सहसचिव भएका यादव मधेश प्रदेशको गृह सचिव हुँदै राष्ट्रिय योजना आयोग प्रवेश गरेका हुन्। योजना आयोगमा आएपछि मात्र उनले सचिव हुनका लागि आवश्यक पर्ने ‘एसईडिपी’ तालिम लिएका हुन्। अब भने उनी सचिव बन्ने निश्चित भएको छ।

वीरेन्द्रले मोरङ, सप्तरी, उदययपुर, सिरहा, धनुषा, महोत्तरी, सुर्खेत, नुवाकोट, संखुवासभा, बारा, पाल्पा, डोटीलगायतका जिल्लाको सिडिओ चलाएर सचिव हुन आएका हुन्। २०३१ असार १५ गते सर्लाहीमा जन्मिएका उनी ५० वर्षमा सचिव हुन लागेका हुन्। वीरेन्द्र ५५ वर्षको उमेरमा सचिवको ५ वर्षे सेवा अवधि पूरा गरेर घर जानेछन्।

 

 

क्याटेगोरी : समाचार
ट्याग : ##मदन भुजेल, #सहसचिव चन्द्रकला पौडेल, #सहसचिव वीरेन्द्रकुमार यादव

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ