१३० जना दीर्घ रोग भएका व्यक्तिसहित २५४ जनाको आँखाको जाँच  


काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा नम्बर २२ को स्वास्थ्य प्रवर्धन केन्द्रले तिलगंगा आँखा प्रतिष्ठानको प्राविधिक सहयोगमा आयोजना गरेको निःशुल्क आँखा जाँच शिविरमा २५४ जनाको परीक्षण गरिएको छ । यसमा मधुमेह र उच्च रक्तचापको समस्या भएका १३० जना विरामी हुनुहुन्थ्यो । उहाँहरुमध्ये १९ जनामा समस्या देखिएको छ । ९ जनाको भने थप उपचार गर्नु पर्नेछ ।

दीर्घ रोगका कारण आँखाको पर्दा तथा दृष्टिमा पर्ने असरको जाँच उपचारका लागि शिविर आयोजना गरिएको थियो । यस क्रममा मधुमेह, रक्तचाप जस्ता दीर्घ रोग भएका विरामीहरुको आँखाको नानीको जाँच गरिएको थियो । विहान १० बजेदेखि साँझ ६ बजेसम्म चलेको शिविरमा १ सयजनाभन्दा धेरैलाई निःशुल्क चस्मा प्रदान गरिएको थियो ।

शिविरका विषयमा जानकारी दिँदै वडाध्यक्ष एवं महानगरपालिकाको स्वास्थ्य तथा शिक्षा समितिका संयोजक चिनीकाजी महर्जनले भने, ‘हाम्रो समाजमा दृष्टि सम्बन्धित समस्यालाई उमेरसँगै आउने अवस्थाका रुपमा मात्र बुझ्ने गरिएको छ । रक्तचाप, मधुमेहजस्ता अरु रोगका कारण पनि दृष्टिमा समस्या आउँछ भन्ने चेतना कम छ । यसकारण हामीले वडाभित्रका समुदाय र विद्यालय स्तरमा आँखाको समस्या सम्बन्धी सचेतनात्मक र उपचारात्मक सेवा थालेका हौँ ।’ यसपछि विद्यालयमा जाने योजना रहेको जाने उनले जानकारी बताए।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ