डिल्लीबजार राम मन्दिरमा महानगरको वडा भवन बनाउन खोजेपछि लफडा


काठमाडौं। डिल्लीबजारस्थित राम मन्दिरमा वडा भवन बनाउन खोजेपछि लफडा सुरू भएको छ। काठमाडौं महानगरपालिका वडा नम्बर ३० को वडा भवन बनाउन खोजेपछि स्थानीयहरू विरोधमा उत्रिएका छन्।

राम मन्दिरभित्रै वडा भवन निर्माण गर्न सुरू गरेपछि स्थानीयहरू पुरातत्त्व विभागमा समेत उजुरी गर्न पुगेका छन्। काठमाडौं महानगरपालिका वडा नम्बर ३० का स्थानीय बासिन्दाहरूले पुरातात्त्विक मठ, मन्दिर, पाटीको संरक्षण गरी पाउँ भन्दै पुरातत्त्व विभागमा निवेदन दिएका छन्। तर, वडा कार्यालयले वडा भवन निर्माण गर्नका लागि राम मन्दिर कम्पपाउण्डभित्र भत्काउन सुरू गरेको छ। वडाध्यक्ष दलबहादुर कार्की मन्दिरको अस्तित्व जोगाएर वडा भवन बनाइने बताउँछन्। स्थानीयहरू भने वडाले बनाएको व्यापारिक भवनले मन्दिरको अस्तित्व नै समाप्त हुने दाबी गर्छन्।

काठमाडौं महानगरपालिकाले वडा भवन निर्माण गर्न लागेको डिल्लीबजारस्थित राम मन्दिरमा १ सय ५७ वर्ष पुरानो घण्टी रहेको छ। रामचन्द्र बाहालका नामले समेत चिनिने चारखाल मोडको राम मन्दिरको घण्टी हेर्दा त्यो मन्दिरको ईतिहास त्योभन्दा पुरानो रहेको अनुमान लगाउन सकिन्छ। उक्त ठाउँमा वडा भवन निर्माणको कार्य सुरू भएपछि वडा र स्थानीयहरू टकराव भएको हो। स्थानीयहरू पुरातत्त्व विभागले उक्त पुरातात्त्विक मन्दिरको संरक्षण गर्नुपर्ने बताउँछन् भने वडाध्यक्ष कार्की वडा भवन निर्माण गरेरै मन्दिरको संरक्षण गरिने जिकिर गर्छन्।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ