यी हुन् सिडिओ खान गृह मन्त्रालय भित्रिएका सहसचिवहरू


काठमाडौं। सरकारले ७८ जना सहसचिवको गृह मन्त्रालयमा सरुवा गर्दा १७ जना गृह भित्रिएका छन्। उनीहरू सिडिओ खान गृह मन्त्रालय छिरेका हुन्। बढुवा र आन्तरिक प्रतिस्पर्धाबाट भएका आधा दर्जन बढी सहसचिवहरू गृह मन्त्रालय भित्रिएका छन्। गृह मन्त्रालयबाट भने बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाल र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका सहसचिव रामबन्धु सुवेदी ‘आउट’ भएका छन्। रिजाल अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सुवेदी सार्वजनिक खरिद अनुगमन कार्यालय पुगेका हुन्।

गृह मन्त्रालयमा सरूवा भएका सहसचिवहरूमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा रहेका भविश्वर पाण्डे, विजयराज सुवेदी, प्रेमप्रसाद लुइँटेल, लक्ष्मण ढकाल, दिलकुमार तामाङ, जगदिश्वर उपाध्याय र दिव्यराज पोखरेल र धर्मराज जोशी रहेका छन्।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको कर्मचारी महाशाखा प्रमुख बलराम रिज्याल, मधेश प्रदेशको श्रम तथा यातायात मन्त्रालय सचिव सुरेन्द्र पौडेल, कर्णाली प्रदेशको मुख्यमन्त्री कार्यालयमा कार्यरत आनन्द सारु, लुम्बिनी प्रदेशका वेदप्रसाद खरेल, गण्डकी प्रदेशका कुमानसिंह गुरुङ पनि गृह मन्त्रालयमा सरुवा भएका छन्। त्यस्तै सार्वजनिक खरिद अनुगमनको कार्यालयका सहसचिव दीपकराज नेपाल समेत गृहमा छिरेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता नरहरी घिमिरे, ईश्वरी प्रसाद अर्याल, माधवप्रसाद पोखरेल एकसाथ गृह प्रवेश गरेका हुन्। अख्तियारमा खगेन्द्रप्रसाद रिजाल, वेदप्रसाद भण्डारी र विनिता भट्टराई पुगेका छन्।

गृह पुगेका सहसचिव हेर्दा सिडिओ खान मारामार हुने देखिन्छ। अहिले, खोटाङ, ओखलढुंगा, रौतहट जिल्लाको प्रमुख जिल्ला अधिकारी रिक्त छ। सहसचिव दरबन्दी भएका जिल्लामा सिडिओ रहेका उपसचिवहरू पनि चिलिम हुने खतरा बढेको छ।

 

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ