खुला सहसचिव प्रशासन र न्यायमा एकसाथ नाम निकालेका अमित


काठमाडौं। खुला सहसचिव लिखितको न्याय र प्रशासन तर्फको लिखित परीक्षामा अमित उप्रेतीको नाम देखिन्छ। उनी खुला सहसचिव न्याय र प्रशासनमा एकसाथ नाम निकालेपछि अहिले चर्चामा छन्।

बिर्तामोड झापाका अमित उप्रेतीले लोक सेवा आयोगले लिएको सहसचिव खुलाको लिखित परीक्षामा न्याय सेवाका न्याय र सरकारी वकिल दुईवटै समूहमा नाम निकालेका छन्। त्यस्तै प्रशासन तर्फको खुला सहसचिवको लिखित नतिजामा पनि नाम निकाल्न उनी सफल भएका छन्। अन्तर्वार्तापछि भने अमित न्याय सेवामै रहन्छन् कि प्रशासनमा त्यो थाहा पाउन चैतको दोस्रो हप्तासम्म कुर्नुपर्ने हुन्छ।

महान्यायाधिवक्ताको कार्यालयमा उपन्यायाधिवक्ता पदमा कार्यरत अमित सहसचिवको आन्तरिक प्रतिस्पर्धामा सहभागी भएका थिए। तर उनी आन्तरिक प्रतिस्पर्धामा लिखितमै असफल भए। त्यसको बदला अमितले खुलाबाट लिएका छन्।

न्याय सेवाको न्याय समूह खुला १ पदका लागि अमितसहित ३ जनाले लिखितमा नाम निकालेका छन्। विवेककुमार बराल र श्रीधर अर्याल १ पदका लागि उनीसँगै प्रतिस्पर्धामा खरो उत्रिएका छन्। सरकारी वकिल खुला सहसचिव २ जना आवश्यक रहेकोमा अमित, विवेक, श्रीधरसहित गंगा न्यौपाने, गणेश पौडेल, मुना राउत र रोशी भण्डारीले लिखितमा नाम निकालेका हुन्। विवेक र श्रीधरलाई न्यायमा छाडेर अमित प्रशासनमा पनि प्रतिस्पर्धा गर्न पुगेका छन्।

प्रशासन सेवाको खुलामा ३ जना आवश्यक पर्नेमा अमित एकदेव अधिकारी, जुनु हमाल ढकाल, धर्मराज रोकाया, मनोजकुमार रजक, मुकेश डंगोल र सफल पोर्तेलसँग प्रतिस्पर्धामा रहेका छन्।

लिखितमा २ ठाउँमा नाम निकालेपनि प्रस्तुतीकरण र अन्तर्वार्तामा असफल भएपछि अर्कोपटक आवेदन नै नदिने सोचमा रहेका केदार कोइराला ताजा उदाहरण हुँदाहुँदै प्रस्तुतीकरण र अन्तर्वार्तामा अमितले के गर्छन् त्यो भने भगवान भरोसा नै हो। न्याय र प्रशासन दुबैतिर खुला सहसचिव लिखित परीक्षाको नतिजामा नाम ‘दर्ज’ भएकाले अमितलाई ‘न्याय’ भने मिल्नुपर्ने देखिन्छ।

त्यसो त यस अघि पनि अमितले खुलाबाट सरकारी वकिल १ कानुन समूहको सहसचिवमा नाम निकालेका थिए। त्यो बेला उनी अन्तर्वार्तामा सफल हुन सकेनन्। २०७९ साल चैतमा खुलाबाट सरकारी वकिल समूहको सहसचिवमा लिखितमा नाम निकालेका अमितलाई अन्तर्वार्तामा पूजा खत्रीले वैकल्पिकमा पारिदिइन्।

 

त्यसपछि अमितले कानुन समूहको सहसचिवमा खुलाबाटै नाम निकाले। त्यो बेला पनि लिलाधर सुवेदीले बाजी मारे। अमित वैकल्पिकमा चित्त बुझाउन बाध्य भए। यसपटक भने उनले के गर्छन् हेर्न बाँकी छ। यसपटक अमितले अरुलाई वैकल्पिकमा पारेर अघि बढ्ने सम्भावना बढी देखिन्छ।

 

 

क्याटेगोरी : समाचार
ट्याग : #अमित उप्रेती, #धर्मराज रोकाया

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ