परराष्ट्रमा सहसचिवको ‘माछा बजार’, दरबन्दीभन्दा बढी हुँदा व्यवस्थापनमा सकस


काठमाडौं। अहिले सहसचिवको ‘माछा बजार’ हेर्ने भए परराष्ट्र मन्त्रालयमा गए हुन्छ। जेष्ठता र कार्यसम्पादन मूल्याङ्कनबाट ५, कार्यक्षमताद्वारा ५, आन्तरिकबाट ३ जना गरी १३ जना सहसचिव परराष्ट्रमा आइसकेका छन्। समावेशीबाट १ जना सहसचिव आउन बाँकी नै छ। प्रशासन तर्फका १ जना सहसचिव पनि ७ महिनादेखि परराष्ट्र मन्त्रालयमा ‘डेरा’ जमाएर बस्दा अहिले परराष्ट्र मन्त्रालय सहसचिवको ‘माछा बजार’ जस्तो देखिएको छ।

परराष्ट्र मन्त्रालयमा रातारात ११ वटा सहसचिव दरबन्दी थपिएको थिए। सहसचिवको विज्ञानका लागि लोक सेवा आयोगमा पठाउँदा १४ वटा दरबन्दी देखाइयो। लोक सेवा आयोगले जेष्ठतामा ५, कार्यक्षमतामा ५, आन्तरिकमा ३ र समावेशीमा १ गरी १४ जना सहसचिवको विज्ञापन गऱ्यो। त्यसपछि जेष्ठता तथा कार्यसम्पादन मूल्याङ्कनद्वारा पुष्पराज भट्टराई, मणिरन्त शर्मा, लोकबहादुर पौडेल क्षेत्री, किरण शाक्य र दुरपदा सापकोटा सहसचिवमा बढुवा भए। कार्यक्षमता मूल्याङ्कनद्वारा दधिराम भण्डारी, हरिप्रसाद ओडारी, प्रकाश अधिकारी, डमरुबल्लभ पौडेल र पारस पण्डित सहसचिव बनेर आए। ईला मैनाली, रोशन खनाल र रोजिना ताम्राकार आन्तरिक प्रतिस्पर्धाबाट सहसचिव भएर आइसकेका छन्। समावेशीबाट सहसचिवको लिखितमा दिपक विक, विकासकुमार रजक र सुजनी राना उत्तीर्ण भएका छन्। तीमध्ये केही समयमै १ जना परराष्ट्र मन्त्रालयको सहसचिव बन्नेछन्। प्रशासन तर्फका सहसचिव विन्देश्वरप्रसाद लेखक पनि परराष्ट्रका सहसचिवहरूको हुलमा मिसिएका छन्। यति धेरै संख्यामा सहसचिवहरू एकैपटक परराष्ट्र मन्त्रालयमा आउँदा ‘माछा बजार’ जस्तो देखिएको हो।

बेल्जियमको राजदूतबाट फर्किने सहसचिव गेहेन्द्र राजभण्डारी पाकिस्तानको राजदूतबाट तापस अधिकारी र जर्मनीबाट फर्किने रामकाजी खड्काको दरबन्दी लुकाएर १४ जना सहसचिवको विज्ञापन गर्दा परराष्ट्र मन्त्रालय माछा बजार देखिनु स्वाभाविक हो। त्यसमाथि एउटै मन्त्रालयमा १५ वटा सहसचिव रहने गरी ओएन्डएम गर्दा असली ‘माछा बजार’ जस्तो परराष्ट्र मन्त्रालय देखिन पुगेको छ।

बेल्जियमबाट फर्किएका राजभण्डारीलाई दक्षिण एसिया महाशाखा प्रमुखको जिम्मेवारी दिइएको छ। पाकिस्तानबाट फर्किएका अधिकारीलाई दक्षिणपूर्व एसिया तथा प्रशान्त महाशाखा प्रमुखको जिम्मेवारी दिइएको हो। त्यस्तै जर्मनीबाट फर्किएका रामकाजी खड्कालाई मध्य एसिया, पश्चिम एसिया तथा अफ्रिका महाशाखा प्रमुखको हेर्ने गरी तोकिएको पाइन्छ।

मन्त्रालयको अन्तर्राष्ट्रिय संघ, संगठन तथा अन्तर्राष्ट्रिय कानुन महाशाखा एवं प्रवक्ता कृष्णप्रसाद ढकाल, उत्तरपूर्व एसिया महाशाखा प्रमुखमा भृगु ढुंगाना, युरोप अमेरिका महाशाखा प्रमुखमा गणेशप्रसाद ढकाल, नीति, योजना, विकास कूटनीति तथा नेपाली डायस्पोरा महाशाखा प्रमुखमा लक्ष्मण खनाल, सामान्य प्रशासन महाशाखा प्रमुखमा सुरेश अधिकारी, शिष्ट्रचार महशाखा (महापाल)मा विष्णुप्रसाद गौतम र क्षेत्रीय संगठन महाशाखा प्रमुखमा ज्ञानबहादुर मगर रहेका छन्। भर्खरै सहसचिवमा बढुवा भएर आएका दधिराम भण्डारीलाई सगरमाथा संवाद सचिवालयमा खटाइएको छ।

देश विपत्तिमा परेका बेला अर्बौंको भार पर्ने गरी परराष्ट्रमा सहसचिवको दरबन्दी थपिएको हो। परराष्ट्र मन्त्रालयमा १० वटा महाशाखा रहेकोमा १५ वटा महाशाखा बनाइएको छ। अहिले युरोप अमेरिका महाशाखा फुटाएर एउटा युरोप र अर्को उत्तर तथा दक्षिण अमेरिका महाशाखा बनाइएको छ। अन्तर्राष्ट्रिय संघ, संगठन तथा अन्तर्राष्ट्रिय कानुन महाशाखालाई फुटाएर एउटा अन्तर्राष्ट्रिय संघ, संगठन तथा अन्तर्राष्ट्रिय कानुन महाशाखा र अर्को संयुक्त राष्ट्र संघ तथा विशिष्टकृत संघ संस्था महाशाखा बनाइएको हो।

नीति, योजना, विकास कूटनीति तथा नेपाली डायस्पोरा महाशाखालाई फुटाएर एउटा नीति, योजना तथा अनुसन्धान महाशाखा र अर्को श्रम, आप्रवासन तथा नेपाली डायस्पोरा समन्वय महाशाखा बनाइएको छ। त्यस्तै गरी आर्थिक कुटनीति महाशाखा र सार्वजनिक कुटनीतिक महाशाखा गरी १५ वटा महाशाखासहित संगठन संरचना परराष्ट्र मन्त्रालयमा बनाइएको हो। त्यसैले परराष्ट्र मन्त्रालयलाई सहसचिवको ‘माछा बजार’को संज्ञा दिन थलिएको छ।

३ वटा सचिवको दरबन्दी भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ९ वटा महाशाखा रहेको छ। २ जना सचिव भएको अर्थ मन्त्रालयमा ९ वटा महाशाखा रहेको छ। २ जना सचिव रहेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा ७ वटा महाशाखा, २ जना सचिव रहेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा ७ वटा महाशाखा र २ सचिव रहेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा पनि ७ वटै महाशाखा रहेको पाइन्छ। प्राविधिक र प्रशासनको गरी २ सचिव रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा एघरौं तह (सहसचिव)को नेतृत्वमा रहेको स्वास्थ्य आपतकालीन तथा विपद् व्यवस्थापन इकाईसहित ६ वटा महाशाखा रहेको छ। यस अघि पनि एउटा मात्र सचिवको दरबन्दी रहेको परराष्ट्र मन्त्रालयमा १० वटा महाशाखा थियो। एउटा मात्र सचिव रहेको परराष्ट्र मन्त्रालयमा त्यति धेरै महाशाखा घटाएर ६/७ वटा महाशाखामा सीमित गर्नुपर्नेमा १५ वटा महाशाखा बनाइएको छ। त्यसैले परराष्ट्र मन्त्रालयमा सहसचिवको बाढी आएको हो।

परराष्ट्रमा थपिएका सहसचिवमा अमेरिकाको लस एन्जलस, न्युयोर्क र टेक्सासमा महावाणिज्यदूत, बनेर जान्छन्। त्यस्तै संयुक्त अरब इमिरेट्सको दुबई स्विजरल्याण्डको जेनेभा र साउदी अरबको जेद्दा परराष्ट्र सेवाको सहसचिव महावाणिज्यदूत जाने गरी दरबन्दी स्वीकृति गराइएको छ। त्यति हुँदा पनि अहिले थपिएका ३ जना सहसचिवहरू ‘बेरोजगार’ हुने देखिन्छन्।

१५ वटा महाशाखा रहेको परराष्ट्र मन्त्रालयमा थप ३ जना सहसचिव पनि मिसिदा सहसचिवको भीड भएको छ। अहिले ‘काहीँ नभएको जात्रा परराष्ट्रमा’ भन्ने कथन मिल्ने देखिन्छ। परराष्ट्रले अनावश्यक महाशाखा थपेर जात्रा नै देखाएको छ। राज्यलाई आर्थिक संकट परेका बेला अचाक्ली महाशाखा र सहसचिवको दरबन्दी थप गर्ने परराष्ट्रका तरमाराहरूले यसको मूल्य चुकाउनु पर्नेछ।

क्याटेगोरी : समाचार
ट्याग : #ईला मैनाली, #किरण शाक्य, #गेहेन्द्र राजभण्डारी, #डमरुबल्लभ पौडेल, #तापस अधिकारी, #दधिराम भण्डारी, #दुरपदा सापकोटा, #परराष्ट्र मन्त्रालय, #पारस पण्डित, #पुष्पराज भट्टराई, #प्रकाश अधिकारी, #मणिरन्त शर्मा, #रामकाजी खड्का, #रोजिना ताम्राकार, #रोशन खनाल, #लोकबहादुर पौडेल क्षेत्री, #सहसचिवको माछा बजार, #हरिप्रसाद ओडारी

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ