उपसचिव हटाएर सिडिओ बनाउन गृहमा १४ जना सहसचिव आवश्यक, ७ जना बढी पठाइयो


काठमाडौं। गृह मन्त्रालयको बरन्डामा अहिले २१ जना सहसचिव रहेका छन्। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले एकैपटक १७ जना सहसचिव थपिदिएपछि गृहको बरण्डामा २२ जना सहसचिव पुगेका थिए। सूर्यप्रसाद सेढाईं फागुन १६ गतेबाट अनिवार्य अवकाशमा गएपछि अहिले २१ जना सहसचिव गृहको बरण्डामा हल्लिरहेका छन्। दरबन्दी अनुसार गृह मन्त्रालयलाई १४ जना सहसचिव आवश्यक पर्नेमा २१ जना भएका हुन्। सहसचिवको दरबन्दीमा सिडिओ भएका उपसचिवलाई हटाएर पठाउँदा पनि अझै ७ जना सहसचिव दरबन्दीभन्दा बढी देखिन्छन्। 

काभ्रेपलाञ्चोकको प्रमुख जिल्ला अधिकारीबाट मन्त्रालय तानिएका सेढाईंसहित बाराको सिडिओबाट तानिएका शशिधर घिमिरे, मोरङको सिडिओबाट मन्त्रालय आएका प्रेमप्रसाद भट्टराई र झापाको सिडिओबाट मन्त्रालय फिर्ता आएका बन्धुप्रसाद बाँस्तोला गृहको बरण्डामा घाम तापेर बसिरहेका छन्। उनीहरूलाई सेढाईंले साथ छाडिसकेका छन्। अहिले फेरि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गृहबाट २ जना सहसचिव झिकेर १७ जना पठाइदिएको छ।

गृह मन्त्रालयबाट बाँकेको सिडिओ रहेका खगेन्द्रप्रसाद रिजाल र दरबन्दीभन्दा बढी सहसचिव रहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट रामबन्धु सुवेदी बाहिरिएका छन्। गृहमा पुगेका सहसचिवहरू भविश्वर पाण्डे, विजयराज सुवेदी, प्रेमप्रसाद लुइँटेल, लक्ष्मण ढकाल, दिलकुमार तामाङ, जगदिश्वर उपाध्याय, दिव्यराज पोखरेल, धर्मराज जोशी, बलराम रिज्याल, सुरेन्द्र पौडेल, आनन्द सारु, वेदप्रसाद खरेल, कुमानसिंह गुरुङ, दीपकराज नेपाल, नरहरी घिमिरे, ईश्वरीप्रसाद अर्याल र माधवप्रसाद पोखरेल हुन्।

सहसचिवको दरबन्दी रहेका खोटाङ, ओखलढुङ्गा, रौतहट र बाँके खाली छ। सहसचिव दरबन्दी रहेको डडेलधुरा, डोटी, बैतडी, अछाम, प्युठान, अर्घाखाँची, सल्यान, जुम्ला, दैलेख र रामेछापमा उपसचिव झिकेर सहसचिवलाई प्रमुख जिल्ला अधिकारी बनाएर पठाउने ठाउँ छ। त्यति गर्दा १४ जना सहसचिवको व्यवस्थापन हुन्छ। बाँकी ७ जना सहसचिवलाई गृहबाट अन्यत्रै पठाउनु पर्ने देखिन्छ।

सहसचिव प्रमुख जिल्ला अधिकारी हुने अछाम उपसचिव शिवप्रसाद लम्साल २०८१ वैशाख २४ देखि सिडिओको हैसियतमा डेरा जमाएर बसेका छन्। सहसचिवको दरबन्दी रहेको जिल्ला प्रशासन कार्यालय डडेलधुरामा उपसचिव चोमेन्द्र न्यौपाने गत २०८१ भाद्र २४ सिडिओ छन्। त्यस्तै प्युठानमा उपसचिव रमा आचार्य (सुवेदी) भाद्र ३१ र अर्घाखाँची उपसचिव बाबुराम अर्याल भाद्र ३० प्रमुख जिल्ला अधिकारीको भूमिकामा छन्।

सहसचिवको दरबन्दी रहेको रामेछापमाउ पसचिव राजुप्रसाद पौडेल २०८१ आश्विन ६ गतेदेखि प्रमुख जिल्ला अधिकारी चलाएर बसेका छन्। दैलेखमा उपसचिव नवराज जैसी आश्विन ७ गतेदेखि प्रमुख जिल्ला अधिकारीको भूमिकामा छन्। त्यस्तै सहसचिव कै दरबन्दी रहेको जुम्लामा उपसचिव रामबहादुर शाही आश्विन ९ गतेदेखि सिडिओ बनेका हुन्।

सहसचिव कै दरबन्दी रहेको डोटीमा उपसचिव माेहनराज जाेशी र बैतडी उपसचिव दीर्घराज उपाध्यायले २०८१ कार्तिक १२ गतेदेखि प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सम्हालिरहेका छन्। त्यस्तै सहसचिव जानुपर्ने सल्यानको प्रमुख जिल्ला अधिकारीमा २०८१ पुष २८ गतेदेखि उपसचिव सावित्रा पुन कार्यरत छिन्। यसले पनि गृह मन्त्रालयको हैसियत स्पष्ट हुन्छ।

गृहमन्त्रीको जिम्मेवारी रमेश लेखकले सम्हालेपछि सहसचिव पठाउनु पर्ने ठाउँमा उपसचिवलाई सिडिओ बनाएर पठाइएको छ। यस्तो विकृति तत्काल सच्चाउन जरूरी छ। सहसचिवलाई बरण्डामा थन्क्याएर उपसचिवलाई सिडिओ बनाउन गृह प्रशासनमा चरम बेथिति मौलाएको छ। थिति बसाल्नका लागि मन्त्री लेखकले ‘बोल्ड’ निर्णय गर्नुपर्ने देखिन्छ। त्यसका लागि गृहमन्त्रीलाई ‘भिजिविलिटी’ पुग्छ कि पुग्दैन त्यो भने हेर्न बाँकी छ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ