प्रदेशको प्रमुख सचिवबाट संघमा आउने पहिलो हकदार कोशीका शर्मा


काठमाडौं। मन्त्रिपरिषद्को आगामी बैठकले रिक्त एक सचिव बढुवा गर्नेछ। पुर्पक्षका लागि थुनामा रहेका निलम्बित सचिव टेकनारायण पाण्डे अवकाशमा गएपछि उक्त रिक्त स्थानमा सचिव बढुवाको तयारी भएको हो। त्यसका लागि सहसचिवहरू वीरेन्द्रकुमार यादव, मदन भुजेल र चन्द्रकला पौडेलको नाम सिफारिस भएको छ। विगतको अभ्यास हेर्ने हो भने भुजेल मधेश प्रदेशको कायममुकायम प्रमुख सचिव भइसकेकाले उनैको सचिव बढुवा हुने र मधेश प्रदेशमा पदस्थापन हुने उच्च सम्भावना देखिन्छ।

त्यसपछि राष्ट्रिय योजना आयोगको सचिवबाट अवकाश पाएका मधुकुमार मरासिनीको ठाउँमा अर्को सहसचिव सचिवमा बढुवा हुनेछन्। त्यसका लागि भुजेल पाण्डेको ठाउँमा बढुवा भएभने वीरेन्द्रकुमार यादव, चन्द्रकला पौडेल र शोभाकान्त पौडेलको नाम सचिव बढुवाका लागि सिफारिस हुनेछ। त्यसमा यादव सचिव बन्ने सम्भावना उच्च छ।

सचिव बढुवा भएपछि प्रदेश पठाउने अभ्यास भएकाले मधुको ठाउँमा बढुवा हुने सचिव प्रदेश जानुपर्ने हुन्छ। प्रदेश सचिवमा सबैभन्दा पुरानो केदारनाथ शर्मा हुन्। २०८० माघमै कायममुकायम प्रमुख सचिव बनेर गएका शर्मा ३ महिनापछि सचिवमा बढुवा भएका थिए । २०८१ वैशाख ६ सचिवमा बढुवा भएर कोशी प्रदेशको प्रमुख सचिव पदस्थापन भएका शर्मा न्यायका दृष्टिकोणले संघमा आउनका लागि पहिलो हकदार हुन्।

शर्मापछि कर्णाली प्रदेशका प्रमुख सचिव लोकनाथ पौड्याल संघमा आउने लाइनमा बसेका छन्। भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालका सचिव वैशाख २ गते अवकाशमा गएपछि उक्त स्थानमा बढुवा हुने सचिव प्रदेश जानेछन्। दायाँ-बायाँ नहुँदा उक्त ठाउँमा चन्द्रकला पौडेल सचिव हुनेछिन्। लोकनाथ पौड्याल २०८१ जेठ ३ मा सचिवमा बढुवा भएर मधेश प्रदेशमा पदस्थापन भएका थिए। उनी गर्मी चढ्न थालेपछि चैत अन्तिम साता कायममुकायम प्रमुख सचिव भएर मधेश झरेका थिए। माघको जाडोमा प्रमुख सचिव कै हैसियतमा कर्णाली उक्लिएका छन्। उनी काठमाडौं फर्किन फेरि गर्मी नै सुरू हुनुपर्ने देखिन्छ।

शर्मा र पौडेलपछि बागमती प्रदेशका प्रमुख सचिव माहादेव पन्थ संघमा आउने लाइनमा छन्। समय अवधिका आधारमा सिस्टम नबिगारी संघमा ल्याउने हो भने पन्थ २०८१ वैशाख अन्तिमतिर काठमाडौं फर्किनेछन्। २०८१ साउनमा कायममुकायम प्रमुख सचिव बनेर लुम्बिनी गएका पन्थ भदौं २८ गते प्रमुख सचिवमा बढुवा भएर लुम्बिनी प्रदेशमा पदस्थापना भएका थिए। लुम्बिनीबाट सरुवा भएपछि पन्थ २०८१ पुस १० गतेदेखि बागमती प्रदेशको प्रमुख सचिवमा हाजिर भएका थिए। ‘सिस्टम’ नबिगार्ने हो भने विनोदप्रकाश सिंह वैशाख २५ गते ‘रिटायर्ड’ भएपछि उक्त स्थानमा बढुवा हुने सचिवले पन्थलाई विस्थापित गर्ने देखिन्छ।

पन्थपछि सदूरपश्चिम प्रदेश प्रदेशका प्रमुख सचिव कमलप्रसाद पोखरेल (शर्मा) संघमा आउनेमा पर्छन्। पोखरेल २०८१ भदौ २७ बसेको मन्त्रिपरिषद् बैठकको निर्णयानुसार सुदूरपश्चिम प्रदेशको कायममुकायम प्रमुख सचिव बनेर गएका थिए। उनी असोज २ गते सचिवमा बढुवा भए। सचिवमा बढुवा भएका पोखरेल सुदूरपश्चिम प्रदेशकै प्रमुख सचिवमा पदस्थापन भएका थिए। डा. गणेशप्रसाद पाण्डे अवकाश भएपछि उक्त ठाउँमा बढुवा हुने सचिवले विष्टलाई विस्थापन गर्ने सम्भावना छ।

पोखरेलपछि गण्डकी प्रदेशका प्रमुख सचिव रघुराम विष्ट संघमा आउने लाइनमा छन्। विष्ट २०८१ भदौ २७ गते गण्डकी प्रदेशको कायममुकायम प्रमुख सचिव भएर गएका थिए। २०८१ कार्तिक ८ गते सचिवमा बढुवा भएर उनी गण्डकी प्रदेशमै पदस्थापन भएका थिए। ‘सिस्टम’ अनुसार सरुवा गरिएको भने विष्ट आगामी आर्थिक वर्षको सुरुवातमा मात्रै संघमा फर्किने छन्।

कायममुकायम प्रमुख सचिव मदन भुजेललाई छाड्ने हो भने अहिले भएका सबैभन्दा कनिष्ठ प्रदेश सचिव हुन् बाबुराम अधिकारी। लुम्बिनी प्रदेशकाे प्रमुख सचिव रहेका बाबुराम अधिकारी माघ २८ गते सचिवमा बढुवा भएका हुन्। उनी पुस २९ गते लुम्बिनी प्रदेशको कायममुकायम प्रमुख सचिव भएर गएका थिए। सचिव भएपछि अधिकारीको लुम्बिनी प्रदेशमै पदस्थापन भएको हो। वरिष्ठताका आधारमा संघमा आउँदा शर्मा, पौड्याल, पन्थ, पोखरेल, विष्टपछि मात्र अधिकारीको पालो आउँछ।

 

क्याटेगोरी : समाचार
ट्याग : #कायममुकायम प्रमुख सचिव मदन भुजेल, #सचिव कमलप्रसाद पोखरेल, #सचिव केदारनाथ शर्मा, #सचिव बाबुराम अधिकारी, #सचिव माहादेव पन्थ, #सचिव रघुराम विष्ट, #सचिव लोकनाथ पौड्याल

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ