स्वास्थ्य प्रवर्धन केन्द्रमा सेवा लिनेको संख्यामा उल्लेख्य वृद्धि : ७ महिनामा ९३ हजार ४२३ जनालाई स्वास्थ्य सेवा प्रदान

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले स्वास्थ्य प्रवर्धन केन्द्रबाट प्रवाह गरिरहेको स्वास्थ्य सेवामा सेवाग्राहीको संख्या वृद्धि हुँदै गएको छ । यस वर्षको वितेका ७ महिनामा ९३ हजार ४२३ जना सेवाग्राहीलाई स्वास्थ्य सेवा प्रदान गरिसकिएको छ । यसमध्ये ४४ हजार ९६८ जनाले बहिरंग सेवा लिएका छन्। गएको आर्थिक वर्षभरिमा १ लाख १७ हजार ३६२ जनालाई स्वास्थ्य सेवा दिइएकोमा ४१ हजार ७०५ जनाले बहिरंग सेवा लिएका हुन्।
आर्थिक वर्ष २०७९/०८० मा ९४ हजार २७१ जनाले स्वास्थ्य सेवा लिनुभएकोमा ३० हजार २२५ जनाले बहिरंग सेवा लिएका थिए । यसरी वितेका ३ वर्षको तथ्याङ्क हेर्दा चालु आर्थिक बर्षमा महानगरपालिकाको स्वास्थ्य सेवाप्रति सेवाग्राहीहरुको आकर्षण बढ्दो क्रममा देखिन्छ । स्वास्थ्य प्रवर्धन केन्द्रहरुबाट उपचारात्मक, प्रवर्धनात्मक तथा प्रतिरोधात्मक, निदानात्मक र पुनस्र्थापनात्मक सेवा हुने गरेका छन् ।
उपचारात्मक सेवामा प्राथमिक स्वास्थ्य उपचार, स्वास्थ्य बिमा, सुरक्षित मातृशिशु, सुरक्षित गर्भपतन, क्षयरोग नियन्त्रण, स्वास्थ्य शिविर, फार्मेसी, एकीकृत नवजात शिशु तथा बाल रोग व्यवस्थापन सेवा सञ्चालित छन् । यस्तै कुष्ठरोग नियन्त्रण सेवा, ज्येष्ठ नागरिक स्वास्थ्य सेवा, आयुर्वेद सेवा, बहुदीर्घकालीन रोग व्यवस्थापन सेवा, डेङ्गी रोग नियन्त्रण, सुलभ फार्मेसी सेवा, महानगर एकीकृत एम्बुलेन्स सेवा सञ्चालित छन् ।
प्रवर्धनात्मक सेवामा राष्ट्रिय खोप सेवा, परिवार नियोजन, पोषण, स्वास्थ्य शिक्षा जनचेतना अभिवृद्धि, नसर्ने रोग नियन्त्रण सचेतना महाअभियान, सरुवा रोग नियन्त्रण सेवा, स्वास्थ्य प्रवर्धन सेवा, बैकल्पिक चिकित्सा सेवा छन् । यस्तै विद्यालय स्वास्थ्य शिक्षा, नसर्ने रोगको परीक्षण (स्क्रिनिङ्) कार्यक्रम, महामारी रोग नियन्त्रण तथा निवारण, स्वास्थ्य नीति निर्माण तथा पैरवी, सुरक्षित मातृत्व, योग अभ्यास तथा व्यवहार परिवर्तन अभ्यास, तथ्याङ्क संकलन, प्रशोधन र प्रतिवेदन निर्माण, अनुसन्धान, स्वास्थ्य संस्थाजन्य फोहर व्यवस्थापन कार्यक्रम सञ्चालनमा छन् ।
निदानात्मक सेवामा प्रयोगशाला सेवा, रेडियोलोजी र ¥यापिड डाइग्नोस्टिक टेस्ट कार्यक्रम छन् । यस्तै पुनस्र्थापनात्मक सेवामा फिजियोथेरापी सेवा सुरु हुने चरणमा छ । विभागले चैत मसान्तभित्र २९ वटा प्रवर्धन केन्द्रहरुमा सेवा सञ्चालन गर्ने तयारी गरेको छ । वडा नं. ४, १५ र २४ मा पूर्वाधार तयारी भइरहेको छ । यी केन्द्रहरुमा आउँदो असार मसान्तभित्र सञ्चालन गर्ने तयारी छ ।
गएको ७ महिनामा सम्पन्न काम
३९ हजार २१३ जना किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपिभी खोप प्रदान गरिएको छ । विशेष पोलियो खोप कार्यक्रमअन्तर्गत ७६ हजार ९६२ जना बालबालिकालाई खोप दिइएको छ । अर्ध वार्षिक रुपमा ३९ हजार ९९८ जना बालबालिकालाई भिटामिन ए र ३५ हजार ३५० बालबालिकालाई जुकाको औषधि खुवाइएको छ । ६ स्थानबाट निःशुल्क भिडियो एक्सरे सेवा उपलब्ध गराइएको छ । ४५ हजार व्यक्तिलाई विमा कार्यक्रममा आवद्ध गरिएको छ । २६ हजार १९ जनामा नसर्ने रोगको स्क्रिनिङ् गरिएको छ ।
महानगरबासीलाई निःशुल्क रक्त तथा रक्तजन्य पदार्थ उपलब्ध गराउने कार्यक्रमअन्तर्गत ३ हजार ३२६ पिन्ट रगत संकलन भएको छ । ३३० जनाले निःशुल्क रक्त तत्व लिनुभएको छ । लक्षित वर्ग निःशुल्क उपचारका अन्तर्गत विपन्न, वेवारिसे, असहाय १४५ जनाले उपचार पाएका छन् ।
स्वास्थ्य विभागका प्रमुख दिपक के. सी. आगामी कार्यक्रमका बारेमा जानकारी दिँदै भन्छन्, ‘वडा नं. २६ मा केन्द्रीय प्रयोगशाला सञ्चालन गर्ने, वडा नं. ११ मा सुलभ फार्मेसी सञ्चालन गर्ने तयारी गरिएको छ । गुणस्तरीय स्वास्थ्य सेवालाई पहुँचयुक्त बनाउन लक्ष्य पूरा गर्न विभागले काम गरिरहेको छ ।’
जनस्वास्थ्य निरीक्षक धनेन्द्र श्रेष्ठका अनुसार यस वर्ष २४ वटा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भएका छन् । स्वास्थ्य विमा प्रथम विन्दुबाट दिइएको सेवावापत करिव ८० लाख रुपैयाँको शोध भर्नाका लागि स्वास्थ्य बिमा बोर्डमा पठाइएको छ । सामुदायिक विद्यालयमा अध्ययनरत किशोरीहरुको रक्तअल्पता स्क्रिनिङ् सञ्चालन भइरहेको छ । श्रेष्ठका अनुसार अहिलेसम्ममा जाँच गरिएका २ हजार २ सय किशोरीमध्ये करिब २२० जनामा रक्तअल्पता देखिएको छ ।
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस