आरक्षणबाट आएका सहसचिवबीचको प्रतिस्पर्धामा भुजेलले बाजी मारे


काठमाडौं। बुधबार साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठक मदन भुजेललाई सचिवमा बढुवा गर्ने निर्णय गरेको छ। सचिव बढुवाका लागि वीरेन्द्रकुमार यादव, मदन भुजेल र चन्द्रकला पौडेलको नाम सिफारिस भएको थियो। मधेश प्रदेशको कायममुकायम प्रमुख सचिव समेत भइसकेकाले सरकारले भुजेललाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हो।

रोचक प्रसङ्ग के छ भने सचिव बढुवाका लागि सिफारिस भएका तीनै जना आरक्षणबाट सहसचिव भएका हुन्। आरक्षणबाट ४ वर्ष अघि सहसचिव बनेका यादवलाई सचिवमा भुजेलले उछिनेका छन्।

सचिवमा बढुवा भएका भुजेलभन्दा पहिलो नम्बरमा सिफारिस भएका यादव २०६६ असोजमा मधेशी कोटाबाट सहसचिव भएका हुन्। यादव मधेशी कोटाबाट पहिलो सहसचिव भएका थिए। विशिष्ट श्रेणी (सचिव)मा बढुवा हुन आवश्यक पर्ने उच्चस्तरीय कार्यकारी विकास कार्यक्रम (एसईडीपी) तालिम नलिएका कारण यादव सचिव हुन सकेका थिएनन्। उक्त तालिम लिएपछि उनी सचिव बढुवाका लागि सिफारिस हुन् थालेका छन्। यादव अहिले राष्ट्रिय योजना आयोगमा कार्यरत छन्।

सचिवमा बढुवा भएका भुजेल र सचिवमा बढुवाका लागि सँगै सिफारिस भएकी चन्द्रकला पौडेल समावेशीबाट एकैदिन सहसचिव भएका हुन्। भुजेल २०७० भदौमा आदिवासी जनजाति कोटाबाट सहसचिव भएका हुन् भने पौडेल महिला कोटाबाट सहसचिव भएकी हुन्। उनी अहिले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको सहसचिवको भूमिकामा छिन्। आरक्षणबाट सहसचिव भएकाहरूबीच सचिव बढुवामा प्रतिस्पर्धा हुँदा भुजेलले बाजी मारेका छन्। अब यादव र पौडेल सचिव हुने पालो कुरेर बसेका छन्।

 

क्याटेगोरी : समाचार
ट्याग : ##मदन भुजेल, #चन्द्रकला पौडेल (महिला), #मधेशी कोटाबाट पहिलो सहसचिव वीरेन्द्रकुमार यादव, #सहसचिव चन्द्रकला पौडेल, #सहसचिव वीरेन्द्रकुमार यादव

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ