सत्ता गठबन्धनबाट बार अध्यक्षमा मिश्र, महासचिवमा कोइराला

काठमाडौं। नेपाली कांग्रेस र नेकपा एमाले निकट कानुन व्यवसायीहरूबीच महागठबन्धन भएको छ। नेपाल बार एसोसिएसनको आगामी निर्वाचनमा कांग्रेस र एमाले निकट कानुन व्यवसायीहरू मिलेर उम्मेदवारी दर्ता गराउने तयारी गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा कांग्रेस निकट डीएलएका तर्फबाट वरिष्ठ अधिवक्ता विजयप्रसाद मिश्रलाई अध्यक्षको उम्मेदवार बनाउने तयारी भएको छ। महासचिवमा भने एमाले निकट पीपीएलएका वरिष्ठ अधिवक्ता केदार कोइरालालाई उम्मेदवार बनाइने भएको छ। कोषाध्यक्षमा पीपीएलए कै जगतबहादुर कार्कीलाई अघि सार्ने लगभग सहमति भएको जनाइन्छ।
डीएलएले अध्यक्ष उपाध्यक्षसहित १३ जना र पीपीएलएले महासचिव, कोषाध्यक्षसहित १२ जना पाउने मोटामोटी सहमति भएको बुझिन्छ। बारको निर्वाचनमा उम्मेदवार छनौट प्रक्रियामा पार्टीले हस्तक्षेप गरेको भन्दै डीएलएभित्र भने व्यापक असन्तुष्टि चुलिएको पाइन्छ।
विपक्षी गठबन्धनबाट भने नेकपा माओवादी केन्द्र निकट आरपीएलका तर्फबाट वरिष्ठ अधिवक्ता रमणकुमार श्रेष्ठ अध्यक्ष र महासचिवमा राष्ट्रिय स्वतन्त्र पार्टी निकट यज्ञमणि न्यौपानेले उम्मेदवारी दिएका छन्।
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस