योजना आयोगको सचिवमा अर्याल, उपराष्ट्रपति कार्यालय आए पौड्याल


काठमाडौं। सरकारले राष्ट्रिय योजना आयोग र उपराष्ट्रपति कार्यालयमा नयाँ सचिव पठाएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको जगेडामा राखिएका सचिव सुमनराज अर्याललाई सरुवा गरेर राष्ट्रिय योजना आयोग पठाइएको हो।

राष्ट्रिय योजना आयोगका सचिव मधुकुमार मरासिनील फागुन १६ गतेदेखि अवकाश पाएपछि उक्त ठाउँमा सचिव रिक्त थियो। राष्ट्रिय योजना आयोगको रिक्त सचिव पदमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको अतिरिक्तमा रहेका अर्याललाई पठाईएको छ। अर्याल साविक राष्ट्रिय योजना आयोग अन्तर्गत कै केन्द्रीय तथ्याङ्क विभाग (हाल राष्ट्रिय तथ्याङ्क कार्यालय)को महानिर्देशक थिए। युवा तथा खेलकुद मन्त्रालयबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको अतिरिक्तमा पुगेका सचिव अर्याल योजना आयोग पुगेका हुन्।

उपराष्ट्रपति कार्यालयको सचिवमा भने कर्णाली प्रदेशका प्रमुख सचिव लोकनाथ पौड्याललाई ल्याइएको छ। मधेश प्रदेशबाट कर्णाली प्रदेशको प्रमुख सचिवमा सरूवा भएका पौड्याल उपराष्ट्रपति कार्यालयमा आउन सफल भएका छन्। पौड्यालभन्दा कोशी प्रदेशका प्रमुख सचिव केदारनाथ शर्मा पहिला काठमाडौं प्रवेश गर्नुपर्नेमा देखिन्थे। तर, पौड्यालले पहिला बाजी मारे।

पौड्याल उपराष्ट्रपति कार्यालयमा सरूवा भएपछि रिक्त रहेको कर्णाली प्रदेशको प्रमुख सचिवमा भने वीरेन्द्रकुमार यादवलाई कायममुकायम प्रमुख सचिव मुकरर गरेर पठाइएको छ। बढुवाका लागि १ नम्बरमा सिफारिस भएका सहसचिव यादवलाई २ नम्बरमा परेका मदन भुजेलले उछिनेर मधेश प्रदेशको प्रमुख सचिव बनेपछि उनी पनि कायममुकायममा जान बाध्य भएका छन्। भुजेल कामु भएकै कारण सिफारिसमा यादवभन्दा पछाडि परेपनि सचिव बन्न सफल भएका थिए। अब यादव पनि सचिव हुने लाइनमा लागेका छन्। कर्णालीको कायममुकायम प्रमुख सचिव हुँदै सचिव हुने उनको लाइन प्रस्ट देखिएको छ।

क्याटेगोरी : समाचार
ट्याग : #लोकनाथ पौड्याल, #वीरेन्द्रकुमार यादव, #सुमनराज अर्याल

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ