स्वास्थ्यको उच्च तहमा रहेका नारीहरू

काठमाडौं। आज ११५ औं अन्तर्राष्ट्रिय नारी दिवस हो। नारी दिवसको पूर्वसन्ध्यामा स्वास्थ्य क्षेत्रमा भने तितो देखिएको छ। स्वास्थ्यमा सचिव बन्न नपाएको भनेर डा. संगिता कौशल मिश्राले चित्त दुखाएकी छिन्।
अतिरिक्त सचिव डा. संगिताले स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदिप पौडेललाई त महिला (नारी) विरोधीको ट्याग नै लगाइदिएकी छिन्। नारी दिवसमा संगिताले मन खिन्न पारेपनि अहिले स्वास्थ्यको उच्च तहमा रहेकी महिला उनै हुन्। स्वास्थ्य विभागको महानिर्देशक समेत भइसकेकी अतिरिक्त सचिव डा. संगिता स्वास्थ्यको नीतिगत र उच्च तहकी प्रशासन हुन्।
संगिता स्वास्थ्य सचिव हुन नसकेपनि महिलाबाट डा. सुधा शर्मा, किरण रेग्मी, पुष्पा चौधरी स्वास्थ्य सचिव भएका थिए। प्रशासन तर्फकी देवकुमारी गुरागाईं पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिवबाटै अवकाश पाउनेमा पर्छिन्। डा. संगिता संघको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा बाह्रौं तहको अतिरिक्त सचिव हुँदा प्रदेशमा पनि एघारौं तहका स्वास्थ्य सचिव महिला नै रहेका छन्।
कोशी, बागमती र लुम्बिनीको स्वास्थ्य मन्त्रालय नारी कै कमाण्डमा छ। कोशी प्रदेशको स्वास्थ्य सचिव डा. राधिका थपलिया, बागमती प्रदेशको स्वास्थ्य सचिव डा. सुमित्रा गौतम र लुम्बिनी प्रदेशको स्वास्थ्य सचिव दुर्गालक्ष्मी श्रेष्ठ पनि महिला नै हुन्।
कोशी प्रदेशको स्वास्थ्य सचिवबाट फर्किएकी डा. सुधा देवकोटा उपचारात्मक सेवा महाशाखा निर्देशक हुन्। उनी नीतिगत तहमा बसेर काम गर्दै आएकी छिन्। यसाेधा अर्याल राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रको निर्देशकको भूमिका रहेर काम गरिरहेकी छिन्।
एघारौं तहकी लिली श्रेष्ठ राष्ट्रिय जनस्वास्थ्य प्रयाेगशालामा कार्यरत छिन्। डा. रुणा झा काेशी अस्पतालको निर्देशक हुन्। हिरा कुमारी निरौला नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखा निर्देशक रहेकी छिन्। राेशनी देवी तुईतुई प्रमुख वीर अस्पताल नर्सिङ कलेज, संगिता श्रेष्ठ वीर अस्पताल मेट्राेन र बन्दना थापा टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल प्रमुख अस्पताल नर्सिङ प्रशासक हुन्।
डा. शिलु श्रेष्ठ वीर अस्पतालमा कार्यरत छिन्। नर्सिङ काउन्सिल रजिस्ट्रारको भूमिकामा समेत काम गरिसकेकी सकुन्तला प्रजापती स्वास्थ्य तथा जनसंख्या मन्त्रालय कार्यरत छिन्। रश्मि शर्मा, वर्षा थापालगायत पनि स्वास्थ्यको उच्च तहमा रहेर काम गरिरहेका महिलाहरू हुन्। हाम्रो जानकारीमा नआएका यस्तै थुप्रै नारीहरू स्वास्थ्यको उच्च तहमा रहेर काम गरिरहेका छन्।
स्वास्थ्यमा नारी (महिला)हरूको उपस्थिति उलेख्य मात्रामा छन्। तर, पछिल्लो समय स्वास्थ्यका महिलाहरूले आत्मसम्मानमा ठेस पुगेको भनेर चित्त दुखाउन थालेका छन्। स्वास्थ्यमा महिलाहरूलाई सम्मानपूर्वक काम गर्न र वृत्ति विकासमा असर पर्न नदिने वातावरण निर्माण गर्नुपर्ने आवश्यकता देखिन्छ।
अहिले परराष्ट्रमन्त्री आरजु राणा देउवा र शिक्षामन्त्री विद्या भट्टराई महिला नै हुन्। वन तथा वातावरण राज्यमन्त्री रूपा विकदेखि सञ्चार सचिव राधिका अर्याल, खानेपानी सचिव प्रमिलादेवी ब्रजाचार्य, सिंचाई सचिव सरिता दवाडी, महिला सचिव लक्ष्मीकुमारी बस्नेत र विन्दु विष्ट उपमहालेखापरीक्षक (सचिव) नै हुन्।
कर्मचारीको उच्च तह सहसचिवमा त अहिले धेरै महिलाहरू आइसकेका छन्। समग्रमा हेर्दा नेपालमा हरेक क्षेत्रमा नारीहरूको सशक्त उपस्थिति रहेको पाइन्छ।
क्याटेगोरी : मेडिकल शिक्षा, समाचार
तपाईको प्रतिक्रिया दिनुहोस