राजाको पक्षमा उभिएका चर्चित अनुहारहरू


काठमाडौं। मेडिकल व्यवसायी दुर्गा प्रसाईदेखि चर्चित अभिनेत्री मनिषा कोइरालासम्म राजा ज्ञानेन्द्र शाहको पक्षमा उभिएका छन्। प्रसाई त राजावादी अभियानमै होमिएका छन्। त्यस्तै मनिषा कोइराला पनि राजाको पक्षमा खुलेरै लागेकी छिन्। 

प्रसाई दलबलसहित ज्ञानेन्द्रको स्वागत गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेका छन्। मनिषाले ज्ञानेन्द्रलाई ‘सरकार’ भनेर सम्बोधन गर्दै भव्य स्वागत गर्न अपिल गरेकी छिन्।

सामाजिक अभियान्ता भीम उपाध्याय पनि पछिल्लो समय राजाको पक्षमा खुलेर लागेका छन्। उनले सामाजिक सञ्जालमा राजाको पक्षमा पोष्ट गर्न थालेका हुन्। उनी राजावादी अभियानमा होमिएको सामाजिक सञ्जालका पोष्टहरूबाट सहजै अनुमान लगाउन सकिन्छ।

वैकल्पिक राजनीति गर्ने भन्दै पत्रकारिता छाडेर राजनीतिमा लागेका रविन्द्र मिश्र राजाको पक्षमा वकालत गर्दै आएका छन्। उनी साझा, विवेकशील हुँदै राप्रपातिर लागेपछि मिश्र राजाका प्रवक्ता नै भएका छन् भन्दा फरक पर्दैन। उनी दलहरुले राजासँग सम्झौता गर्नुपर्छ भन्न थालेका छन्।

युवाको मन जितेर सामाजिक अभियान्ताको रुपमा उदाएका ज्ञानबहादुर (ज्ञानेन्द्र) शाही राप्रपातिर लागेपछि राजा फर्काउने अभियानमा छन्। शाही राजावादी पार्टी राप्रपाको प्रमुख सचेतक समेत रहेकाले उनी राजालाई स्वागत गर्न अग्रभागमा उभिन थालेका हुन्। अधिवक्ता भद्रप्रसाद नेपाल (स्वागत) नेपाल पनि ज्ञानेन्द्रको पक्षमा खुलेर लागेका छन्।

राजा ज्ञानेन्द्र पोखराबाट काठमाडौं फर्किदा युवाहरुको समेत स्वागतमा राम्रै उपस्थित रहेको थियो। पछिल्लो समय राजावादीहरू हौसिन थालेका छन् भने गणतन्त्रवादीहरू अत्तालिन थालेका छन्। राजतन्त्रको पक्षमा र त्यसको विपक्षमा अहिले देश विभाजित भएको छ। यो बहस कहाँसम्म पुग्छ त्यो भने हेर्न बाँकी छ।

क्याटेगोरी : विविध

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ