बार पदाधिकारीका लागि मुख्य प्रतिस्पर्धी, अध्यक्षमा मिश्र र श्रेष्ठबीच टक्कर


काठमाडौं। नेपाल बार एसोसिएसनको आगामी निर्वाचनमा विजयप्रसाद मिश्र र रमणकुमार श्रेष्ठको ‘प्यानल’बीच मुख्य प्रतिस्पर्धा हुने भएको छ। अध्यक्षमा ५ जनाको उम्मेदवारी परेपनि मिश्र र श्रेष्ठबीच नै मुख्य प्रतिस्पर्धा हुने देखिन्छ।

नेपाली कांग्रेस निकट कानुन व्यवसायीहरूको संस्था ‘डीएलए’ र नेकपा एमाले निकट संगठन ‘पीपीएलए’को गठबन्धनबाट अध्यक्षमा मिश्रलाई साझा उम्मेदवारका रूपमा अघि सारिएको छ। उनी सत्ता गठबन्धनको समेत साझा उम्मेदवार हुन्। अहिलेको गणित हेर्दा मिश्रलाई जित हासिल गर्न सहज हुने देखिन्छ।

नेकपा माओवादी केन्द्र निकट कानुन व्यवसायीहरूको संगठन ‘आरपीएल’ र राष्ट्रिय स्वतन्त्र पार्टी निकट कानुन व्यवसायीहरूको समेत समर्थनमा रमणकुमार श्रेष्ठ मिश्रका विरुद्धमा मैदानमा खडा भएका छन्। आफूलाई विपक्षी गठबन्धनको उम्मेदवारका रूपमा समेत चिनाउने रमणले मिश्रलाई पराजित गरेर बारको नेतृत्वमा स्थापित गर्न हरसम्भव प्रयास गर्ने कानुन व्यवसायीहरूबीच चर्चा छ। रमणलाई सम्भु थापा सुशिल पन्तलगायतको बलियो साथ रहेको छ।

अध्यक्षका उम्मेदवार मिश्र र श्रेष्ठ दुवैजना नेपाल बार एसोसिएसनका महासचिव भइसकेका व्यक्ति हुन्। बारको अध्यक्षका लागि राजु कैती, उज्जवल घिमिरे र आशिष पौडेलले समेत उम्मेदवारी दिए पनि उनीहरूको उम्मेदवारी उम्मेदवारीमै सीमित हुने देखिन्छ।

अध्यक्षपछि महत्त्वपूर्ण मानिने बारको महासचिवमा केदारप्रासद कोइराला र यज्ञमणि न्यौपानेबीच मुख्य प्रतिस्पर्धा हुने देखिन्छ। सत्ता गठबन्धन अथवा मिश्रको प्यानलबाट कोइराला र विपक्षी गठबन्धन श्रेष्ठको प्यानलबाट न्यौपाने महासचिवको उम्मेदवार बनेर मैदानमा खडा भएका छन्। यसमा कोइरालाले सहजै जित हासिल गर्ने वकिलवृत्तमा चर्चा सुनिन्छ। उनी नेपाल बार एसोसिएसनको केन्द्रीय सदस्य भइसकेका व्यक्ति हुन्। नेपाल बारमा यसअघि पनि महासचिवको उम्मेदवार बनेर पराजित भएका कोइराला दोस्रो प्रयासमा बारको महासचिव बन्ने दाउमा छन्। महासचिवमा हरिशरण कार्कीले समेत उम्मेदवारी दिएपनि उनको नाम मात्रको उम्मेदवारी हुने सम्भावना छ।

बारको पदाधिकारीमा अध्यक्ष र महासचिवपछि कोषाध्यक्षलाई महत्त्वपूर्ण भूमिकामा लिने गरिन्छ। बारको कोषाध्यक्षमा मिश्रको प्यानलबाट जगतबहादुर कार्की र श्रेष्ठको प्यानलबाट दिपक राई मैदानमा खडा भएका छन्। सर्वोच्च अदालत बार एसोसिएसनको कोषाध्यक्ष भइसकेका र अघिल्लो पटक नेपाल बारको कोषाध्यक्षमा उम्मेदवारी दिएर पराजित भएका कार्की यसपटक जित निकाल्न लागिपरेका छन्। उनलाई राईले टक्कर दिने देखिन्छ। कोषाध्यक्षमा विष्णुप्रसाद सापकोटाले पनि भोट काट्ने आँकलन गरिएको छ।

महिला समितिको संयोजक रहने महिला उपाध्यक्षमा सरस्वती श्रेष्ठ र दिना श्रेष्ठको उम्मेदवारी परेको छ। सरस्वतीले मिश्रको प्यानलबाट र दिनाले श्रेष्ठको प्यानलबाट महिला उपाध्यक्षमा उम्मेदवारी दिएकी हुन्। उनीहरूबीच कडा प्रतिस्पर्धा हुने देखिन्छ।

उपाध्यक्षमा आकर्षक मानिने बागमतीको उपाध्यक्षमा तेजबहादुर रावल र डेकेन्द्रप्रसाद सुवेदीको उम्मेदवारी परेको छ। जे होस् आगामी चैत २३ गते हुने नेपाल बार एसोसिएसनको निर्वाचन र मिश्र प्यानल र श्रेष्ठ प्यानलबीच रोचक प्रतिस्पर्धा हुने देखिन्छ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ