अख्तियारमा सहसचिवको जिम्मेवारी हेरफेर: ३ प्रदेश गए २ केन्द्रमा आए

काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सहसचिवको जिम्मेवारी हेरफेर भएको छ। हालै सरुवा भएर गएका सहसचिवलाई प्रदेश कार्यालय पठाइएको छ भने ईटहरी र बुटवलका कार्यालय प्रमुखहरू केन्द्र आएका छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग, बुटवलका प्रमुख (सहसचिव) राजेन्द्रप्रसाद पौडेल आयोगको मुख्यालय टंगाल आएका छन्। पौडेलले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रवक्ताको जिम्मेवारी पाएका छन्। अख्तियारका प्रवक्ता रहेका नरहरि घिमिरे गृह मन्त्रालय हुँदै खोटाङको प्रमुख जिल्ला अधिकारी बनेर गएपछि अख्तियारका प्रवक्ता खाली भएको थियो। उक्त जिम्मेवारी पौडेलले पाएका हुन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोग, बुटवलका प्रमुखमा भने हालै सहसचिवमा बढुवा भएर अख्तियार पुगेकी विनिता भट्टराईले पाएकी छिन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग, ईटहरीको प्रमुख रहेका सहसचिव सुरेश न्यौपाने पनि टंगाल फर्किएका छन्। अख्तियार ईटहरीको प्रमुख भएर भने सहसचिव खगेन्द्रप्रसाद रिजाल गएका छन्। बाँकेको प्रमुख जिल्ला अधिकारी रहेका रिजाल भर्खरै अख्तियार छिरेका हुन्। ईटहरीबाट आएका न्यौपानेलाई २ नम्बर महाशाखा प्रमुखको जिम्मेवारी तोकिएको छ। अख्तियारको २ नम्बर महाशाखा प्रमुख रमेश केसीलाई भने प्रशासन महाशाखाको जिम्मेवारी दिएको हो।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग, कञ्चनपुरको प्रमुखमा सहसचिव वेदप्रसाद भण्डारी पठाइएको छ। कञ्चनपुरका प्रमुख रहेका सहसचिव माधवप्रसाद पोखरेलको गृह मन्त्रालय सरूवा भएपछि भण्डारीलाई कञ्चनपुर पठाइएको हो।
ट्याग : #राजेन्द्रप्रसाद पौडेल, #विनिता भट्टराई, #वेदप्रसाद भण्डारी
तपाईको प्रतिक्रिया दिनुहोस