पहुँचवाला उपसचिवहरूले सिडिओ नछाड्दा सहसचिवहरू गृहको बरण्डामा


काठमाडौं। सहसचिवको दरबन्दी रहेको जिल्लामा प्रमुख जिल्ला अधिकारी (सिडिओ) भएर गएका पहुँचवाला उपसचिवले नछाड्दा सहसचिवहरू गृह मन्त्रालयको बरण्डामा थन्किएका छन्। गृह मन्त्रालयको बरण्डामा अहिले १७ जना सहसचिव ‘बेरोजगार’ भएर बसिरहेका छन्। तर, सहसचिवको दरबन्दी रहेका जिल्लामा तरमारा उपसचिव सिडिओहरूले रजगज गरिरहेका छन्।

गृह मन्त्रालयको बरण्डामा २१ जना सहसचिव रहेकोमा नरहरि घिमिरेलाई खोटाङ, दिव्यराज पोखरेललाई संखुवासभा, विजयराज सुवेदीलाई ओखलढुङ्गा र धर्मराज जोशीलाई बाँकेको सिडिओ बनाएर पठाइएको थियो। गृहको बरण्डामा रहेका सहसचिव शशिधर घिमिरेलाई नुवाकोटको प्रमुख जिल्ला अधिकारीमा पठाएर त्यहाँका रामकृष्ण अधिकारीलाई मन्त्रालय तानियो। यसले गर्दा फेरि गृहको बरण्डामा १७ जना सहसचिव पुगे। संखुवासभाका सिडिओ विनोद खड्का रौतहट सरूवा भए। अन्य १० जिल्लामा सहसचिवलाई सिडिओ बनाएर पठाउने ठाउँ हुँदाहुँदै तरमारा उपसचिवसामु गृह मन्त्रालय निरीह बनेको छ।

सहसचिवको दरबन्दी रहेकोमा उपसचिव सिडिओ भएका जिल्लामा डडेलधुरा, डोटी, बैतडी, अछाम, प्युठान, अर्घाखाँची, सल्यान, जुम्ला, दैलेख र रामेछाप रहेका छन्। सहसचिव दरबन्दी रहेको डडेलधुरा सिडिओ उपसचिव चोमेन्द्र न्यौपाने हुन्। डोटीमा उपसचिव माेहनराज जाेशी र प्युठानमा उपसचिव रमा आचार्य (सुवेदी) र बैतडीमा उपसचिव दीर्घराज उपाध्याय सिडिओ रहेका छन्।

सहसचिव कै दरबन्दी रहेको अर्घाखाँचीको सिडिओमा उपसचिव बाबुराम अर्याल, सल्यामा सावित्रा पुन, दैलेखमा उपसचिव नवराज जैसी सिडिओ रहेका छन्। सहसचिव जानुपर्ने जुम्लाको सिडिओमा उपसचिव रामबहादुर शाही र रामेछापमा उपसचिव राजुप्रसाद पौडेल सिडिओ भएर रजगज चलाइरहेका हुन्। सहसचिवहरू भने आफ्नो दरबन्दीमा तरमारा उपसचिवको रजाईं गर्दा गृहको बरन्डामा ‘घाम ताप्न’ बाध्य छन्।

अहिले गृह मन्त्रालयको बरण्डामा दुई महिनाभन्दा अगाडि आएका सहसचिवहरू प्रेमप्रसाद भट्टराई, बन्धुप्रसाद बाँस्तोला रहेका छन्। भट्टराई मोरङ र बाँस्तोला झापाको सिडिओबाट तानिएको भइसकेको छ। उनीहरूसँग बाराबाट तानिएका शशिधर घिमिरे भने नुवाकोटको सिडिओ बनेर गइसकेका छन्। उनीहरू भने गृहको बरण्डामा थन्किएका हुन्।

त्यस्तै गृहको बरण्डामा सहसचिवहरू भविश्वर पाण्डे, प्रेमप्रसाद लुइँटेल, लक्ष्मण ढकाल, दिलकुमार तामाङ, जगदिश्वर उपाध्याय,बलराम रिज्याल र सुरेन्द्र पौडेल पुगेका छन्। सहसचिवहरू आनन्द सारु, वेदप्रसाद खरेल, कुमानसिंह गुरुङ, दीपकराज नेपाल, नरहरी घिमिरे, ईश्वरीप्रसाद अर्याल र माधवप्रसाद पोखरेल पनि गृहमै हल्लिरहेका छन्। उक्त टोलीमा नुवाकोटको सिडिओबाट तानिएका रामकृष्ण अधिकारी पनि थपिएका हुन्।

 तरमारा उपसचिवले मैदान खाली नगर्दा दरबन्दी हुँदाहुँदै पनि आधाभन्दा बढी सहसचिवहरू गृह मन्त्रालयको बरण्डामा थन्किएका हुन्। दरबन्दी अनुसार सहसचिव प्रयाप्ता हुँदा पनि उपसचिवलाई नै सिडिओ बनाइराख्नु भनेको चाहिँ गृहमन्त्री रमेश लेखक, सचिव गोकर्णमणि दुवाडी र गृह प्रशासनको अकर्मण्यता हो। यसले गर्दा गृह प्रशासनमा सुशासनले हावा खाएको प्रस्ट हुन्छ।

 

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ