डा. रघुराज काफ्ले बने स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक

काठमाडौं। स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक डा. रघुराज काफ्ले नियुक्त भएका छन्। सोमबार राति प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले डा. काफ्लेलाई स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक नियुक्त गर्ने निर्णय गरेको हो।
स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदिप पौडेलको गृह जिल्ला तनहुँका डा. काफ्ले बीमा बोर्डको कार्यकारी निर्देशक बन्न सफल भएका हुन्। स्वास्थ्य तथा जनसंख्यामन्त्री पौडेलको प्रस्तावमा उनी स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक बनेका हुन्।
स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकमा कमल पन्थी, डा. कृष्णप्रसाद अधिकारी र डा. काफ्लेको नाम सिफारिस भएको थियो। पन्थी र अधिकारीलाई पछाडि पार्दै डा. काफ्लेले बीमा बोर्डको कार्यकारी निर्देशकमा बाजी मारेका हुन्।
डा. काफ्ले गण्डकी प्रदेशको नीति तथा योजना आयोगको उपाध्यक्ष र वैदेशिक रोजगार प्रवर्द्धन बोर्डका कार्यकारी निर्देशक भइसकेका व्यक्ति हुन्। उनै काफ्ले फेरि स्वास्थ्य बीमा बोर्डमा कार्यकारी निर्देशक भएर आएका छन्। नेपाल धितोपत्र बोर्ड (सेबोन) अध्यक्षका लागि काफ्लेले आवेदन दिएका थिए। तर, उनी त्यहाँ जान असफल भए। स्वास्थ्य बीमामा भने काफ्ले सफल भए।
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस