यी हुन् सिडिओ भएर घर जानेहरू

काठमाडौं। गृह मन्त्रालयले कानुनविपरीत केही कर्मचारीलाई प्रमुख जिल्ला अधिकारी (सिडिओ) बनाएर घर पठाएको पाइएको छ। गृह मन्त्रालयले कानुनको धज्जी उडाउँदै लालबाबु कवारी, स्किम श्रेष्ठ र नवराज जैशीलाई सिडिओ बनाएर घर पठाएको पाइएको हो।
गृहले बनाएको सिडिओ पदस्थापन वा सरुवा कार्यविधिमा गृहजिल्लामा कर्मचारीलाई सिडिओ नबनाउने भनेको छ। गृहले बनाएको उक्त कार्यविधिको दफा ५ (ङ) मा ‘कर्मचारीको स्थायी ठेगाना भएको जिल्लामा प्रमुख जिल्ला अधिकारीको रूपमा पदस्थापन, सरुवा गर्न वा काजमा खटाइनेछैन’ भन्ने उल्लेख छ। तर, उक्त कार्यविधिलाई ‘घाममा सुकाउँदै’ गृह मन्त्रालयले लालबाबु कवारीलाई गृह जिल्ला महोत्तरी, स्किम श्रेष्ठलाई गृह जिल्ला मकवानपुर र नवराज जैशीलाई गृह जिल्ला दैलेखको सिडिओ बनाएर पठाएको पाइन्छ।
रमेश लेखक गृहमन्त्री र गोकर्णमणि दुवाडी गृहसचिव भएर आएपछि कार्यविधिविपरीत उनीहरूलाई गृहजिल्लाको सिडिओ बनाएर पठाइएको हो। यसले पनि गृह मन्त्रालयमा सुशासनको अवस्था र कानुन पालना तथा कार्यान्वयनको अवस्था कस्तो छ भनेर स्पष्ट हुन्छ।
महत्तरीको जलेश्वरमा जन्मिएका लालबाबु कवारीलाई विवादित पृष्ठभूमिका कर्मचारी भएकाले धेरैले सकेसम्म सिडिओ नबनाउन र बनाउनै परेपनि पहाडी जिल्ला खोटाङ, ओखलढुङ्गा लगायतको सिडिओ बनाएर पठाउन सुझाव दिइएको छ। त्यस्तो सुझावको बेवास्ता गर्दै गृह मन्त्रालयले विवादित कवारीलाई गृहजिल्ला महोत्तरीको सिडिओ बनाएर पठायो। कानुन पढेका रमेश लेखक नै गृहमन्त्री हुँदा कवारी गृहजिल्लाको सिडिओ बनेका हुन्।
कवारी सिडिओ भएर गएको केही समयमै जिल्ला प्रशासन कार्यालय महोत्तरीका नायब सुब्बा अशोककुमार यादवलाई २० हजार घुससहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको थियो। कम्पनी रजिष्ट्रारको कार्यालयमा हुँदा कवारी पनि भ्रष्टाचार मुद्दा लागेका कर्मचारी हुन्। चितवन मेडिकल कलेजका प्रवन्ध सञ्चालक डा. हरिशचन्द्र न्यौपानेसँग २० लाख घुस लिएको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७० सालमै कम्पनी रजिष्ट्रार कार्यालयका तत्कालीन उप-रजिष्ट्रार कवारीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो। यद्यपि उनले सफाइ पाइसकेका छन्। तर संवेदनशील मानिने सिडिओ बनाउँदा उनको ‘ट्रयाक रेकर्ड’ समेत हेरिएन।
मकवानपुर हटियाकी स्किम श्रेष्ठ पनि आफू जन्मिएको जिल्लामै सिडिओ भएर गएकी छिन्। नवलपरासी पश्चिमको प्रमुख जिल्ला अधिकारी रहेकी स्किमलाई गृह मन्त्रालयले गृहजिल्ला कै सिडिओ बनाएर पठाइदिएको हो। गृह मन्त्रालयले छिरेको छोटो समयमै नवलपरासी पश्चिमको सिडिओ भएर गएकी स्किम त्यसपछि गृहजिल्ला मकवानपुरको सिडिओ भएर घर गएकी हुन्। यस्ता कुरामा गृह मन्त्रालयले कानुन र कार्यविधिलाई तिलाञ्जली दिएर विधिको शासन र सुशासनको ‘जप’ गर्ने गरेको छ।
लालबाबु र स्किम मात्र होइन दैलेखी नवराज जैशी पनि गृहजिल्ला दैलेखको सिडिओ भएर गएका छन्। गृहले उपसचिव रहेका जैशीलाई सहसचिव दरबन्दी रहेको दैलेखको सिडिओ बनाएर घर पठाइएको पाइन्छ। सहसचिवहरू गृह मन्त्रालयको बरण्डामा ‘घाम तापिरहँदा’ उपसचिव जैशी ढुक्कले सिडिओ चलाएर गृहजिल्लामा बसिरहेका छन्।
गुहजिल्लामा यस्ता अरूपनि कर्मचारी सिडिओ बनेर गएका होलान्। कानुनविपरीत गृहजिल्लाको सिडिओ बनेर गएकाहरूको जानकारी पाउन साथ स्वास्थ्य लाइभले यस्ता विकृति र विसङ्गतिप्रति भण्डाफोर गर्ने कामलाई निरन्तरता दिन्छ। सुशासन कायम गर्ने र कानुन कार्यान्वयन गर्ने मुख्य जिम्मेवारी बोकेको गृह मन्त्रालय नै कुशासनको ‘आहाल’मा डुबेको देखिन्छ। कार्यविधिविपरीत सिडिओ बनाएर गृहजिल्ला खटाएका कर्मचारीलाई तत्काल फिर्ता बोलाएर निर्णय ‘करेक्सन’ नगरे गृहमन्त्रीले सुशासन र विधिको उच्चारण गर्न छाडिदिए हुन्छ। कानुन मिच्नेले नै सुशासनको कुरा गर्न सुहाउँदैन।
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस