परराष्ट्रमा मौलाएको विकृति: खटाएको देशमा जान राजदूत नै गर्छन् आनाकानी


काठमाडौं। परराष्ट्र मन्त्रालय विकृति र विसङ्गतिको खेल मैदान बन्न थालेको छ। अनावश्यक दरबन्दी थपेर माछा बजार बनाइएको परराष्ट्रमा अर्को विकृति पनि देखा परेको हो। यो विकृतिले प्रशासन सेवाका कर्मचारीलाई बदनाम गराएको छ।

परराष्ट्रमा अन्य सेवाका कर्मचारी समेत जान मरिहत्ते गर्छन्। उनीहरू विदेश गएर सेतो धन(ह्वाईट मनी) कमाउन पाउने भएर परराष्ट्रमा जान मरिहत्ते गर्ने गरेका हुन्। तर, पछिल्लो समय भने परराष्ट्र अनौठो दृश्य देखिन थालेको छ। अमेरिकाका लागि नेपाली आवासीय राजदूतमा नियुक्ति भएका लोकदर्शन रेग्मी अमेरिका नगइकन नेपालमै हल्लिरहेका छन्। जसरी परराष्ट्रको माछा बजारमा सहसचिवहरू रुमल्लिरहेका छन् त्यसरी नै राजदूत बनेर अमेरिका जानु पर्ने रेग्मी रुमल्लिरहेको पाइन्छ।

२०८१ मंसिर १६ गते राष्ट्रपति रामचन्द्र पौडेल समक्ष राष्ट्रपति निवासमा राजदूत पदको, पद तथा गोपनीयताको शपथ ग्रहण गरेका रेग्मी अहिलेसम्म अमेरिका पुगेका छैनन्। उनीसँगै सपथ ग्रहण गरेका शैल रूपाखेती (जर्मनी), नरेशविक्रम ढकाल (साउदी अरेबिया अधिराज्य) र चित्रलेखा यादव (अस्ट्रेलिया) पुगिसकेपनि रेग्मी भने ४ महिना पुग्न लाग्दा समेत नेपालमै छन्। उनकै कारण कूटनीतिकमा समेत आँच पुगेको छ।

मुख्यसचिवमा ‘लेनदेन’ गरेर बेलायतको राजदूत बनेका रेग्मीले प्रशासन सेवामा समेत विकृति फैलाएका थिए। भूमि मन्त्रालय, अर्थ, गृह हुँदै मुख्यसचिव बनेका रेग्मी बेलायत र अमेरिकाको राजदूत हुनेमा पर्छन्। भारतका लागि आवासीय राजदूतमा समेत सिफारिस भएका रेग्मी त्यहाँ जान नपाई अमेरिकातिर लाइन मिलाएका थिए। तर, अहिलेसम्म खटाएको देशमा राजदूत रेग्मी नजाँदा नेपालको कुटनैतिक बेइज्जती भएको छ।

गृह मन्त्रालयमा हुँदा ‘आईजीपी प्रकरण’ निम्ताउन भूमिका खेलेका रेग्मीले दुर्गम भनेकै सिंहदरबार हो भनेर जागिर खाएका परराष्ट्र सेवामा शंकरदास बैरागी खनाललाई मुख्यसचिव बनाएर निजामती प्रशासनलाई कमजोर बनाउन योगदान गरे। अहिले अमेरिकाको राजदूत बनेका उनै रेग्मीले सम्बन्धित देश नगई नेपालको भूमिका नै कमजोर पार्ने काम गरेका छन्। यो ‘बापत’ प्रधानमन्त्री केपी शर्मा ओलीले रेग्मीलाई अर्को गतिलै नियुक्ति नदेलान् भन्न सकिन्न। गणतान्त्रिक व्यवस्थाका ‘सुन्दर फूल’ बनेर उदाएका लोकदर्शन रेग्मीहरूलाई राज्यले विशेष कदर गर्ने गरेको छ।

रेग्मीको दाउ भने अमेरिकाको राजदूतभन्दा नेपाल राष्ट्र बैंकको गभर्नर बन्ने रहेको स्रोतले बतायो। वर्तमान राज्यसत्ताका शक्तिशाली बिचौलिया दिपक भट्टका विश्वासपात्र रेग्मीले गभर्नरमा आँखा लगाएको बुझिन्छ। अंग्रेजी भाषामा कमजोर पकड भएका रेग्मीलाई राजदूतभन्दा गभर्नर बन्नु रुचिको विषय भएको स्रोतको दाबी छ। ओली दाहिना भएपछि रेग्मीका लागि गभर्नरको नियुक्ति पनि सम्भावना कै खेल हो।

रेग्मीको त कुरा नै हुँदाहुँदा प्रशासन सेवाको सहसचिव रहेका विन्देश्वरप्रसाद लेखक समेत पठाएको देशमा नभइ परराष्ट्र मन्त्रालयमै डेरा जमाएर बसेका छन्। साउनमै परराष्ट्र पुगेका लेखक ८ महिला लागिसक्दा समेत परराष्ट्र मन्त्रालयमै हल्लिरहेका छन्। उनीसँगै परराष्ट्र पुगेका भरत खनाल, लक्ष्मीप्रसाद निरौला, झक्कप्रसाद आचार्य खटाएको ठाउँमा पुगिसके। लेखक भने खटाएको ठाउँमा जान आनाकानी गरिरहेका छन्। चीनको बेइजिङस्थित नेपाली दूतावासमा ‘मिनिस्टर इकोनोमिक ‘को हैसियतमा खटाइएका लेखक उक्त ठाउँमा नगई परराष्ट्रमा नै रूमल्लिरहेको पाइन्छ। उनी बेइजिङ नगई हङकङ ताकेर बसिरहेको परराष्ट्रका अधिकारीहरू बताउँछन्। यसले परराष्ट्रमा विकृत अभ्यास सुरू भएको देखिन्छ।

शोभाकान्त पौडेल र विन्देश्वर लेखकलाई अर्थ मन्त्रालयमै ल्याउनु पर्छ भन्ने अर्थतिर सुनिन्छ। उनीहरूले अर्थबाट लगेको गाडी फिर्ता नगर्ने भएकाले गाडी मन्त्रालयमै ल्याउनका लागि मन्त्रालयमै सरुवा गरेर ल्याउनुपर्छ भनेर अर्थतिर किस्सा सुन्न पाइन्छ। अझ विन्देश्वर चढ्ने सरकारी गाडीको नम्बर प्लेटमा समेत कैफियत रहेको समेत चर्चा गरिन्छ। अर्थका चर्चित पात्र विन्देश्वर परराष्ट्रमा समेत अहिले चर्चामा आउन थालेका छन्। प्रशासन सेवाका कर्मचारीलाई परराष्ट्रमा बदनाम गराउन विन्देश्वरहरूको ‘विशेष भूमिका’ देखिन्छ।

क्याटेगोरी : समाचार
ट्याग : #अमेरिकी राजदूतावास, #परराष्ट्र मन्त्रालय, #लोकदर्शन रेग्मी, #विन्देश्वरप्रसाद लेखक सहसचिव

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ