वीर अस्पतालको निर्देशक देखाएर स्वास्थ्यमा अतिरिक्त सचिव बढुवा गर्ने प्रवृत्ति रोकिएन


काठमाडौं। मुलुक संघीयतामा गएको छ। सबैभन्दा ठूलो संरचना भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पनि संघीय संरचनामा गइसकेको छ। मुलुक संघीयतामा गएपछि स्वास्थ्य सेवाको माथिल्लो तहमा दरबन्दी बढाइएको छ। मुलुक अर्थिक संकटमा परेका बेला स्वास्थ्यमा अतिरिक्त सचिव (बाह्रौं तह)सहितका अनावश्यक दरबन्दी खारेज गर्न सरकारको ध्यान गएको छैन।

स्वास्थ्य मन्त्रालयको बढुवा सम्बन्धी सूचनामा भनिएको छ, ‘नेपाल स्वास्थ्य सेवाको अधिकृत बाहौं तहको अतिरिक्त स्वास्थ्य सचिव रिक्त पद संख्या २ (दुई) मा नेपाल स्वास्थ्य सेवा ऐन, २०५३ को दफा २५ (२) बमोजिम कार्य सम्पादन क्षमताको आधारमा बढुवा सिफारिस गर्नुपर्ने भएको हुँदा २०८१ आषाढ मसान्तसम्म ५ वर्ष सेवा अवधि पुरा भएका एघारौ तहका अधिकृत कर्मचारीहरुले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको वेबसाइट www.mohp.gov.np मा रहेको बढुवा सम्बन्धी व्यक्तिगत विवरण फाराम डाउनलोड गरी उक्त विवरण सम्बन्धित निकायबाट प्रमाणित गराई यो सूचना प्रकाशन भएको मितिले १५ (पन्ध्र) दिनभित्र यस मन्त्रालयको कर्मचारी प्रशासन शाखामा दर्ता गर्न बढुवा समितिको मिति २०८१/१२/०३ को निर्णयानुसार यो सूचना प्रकाशन गरिएको छ । साथै आवेदकले व्यक्तिगत विवरणसँग सम्बन्धित आवश्यक कागजातहरु फारामसँग संलग्न गरि पेश गर्नु हुन अनुरोध छ।’, यो सूचनासँगै स्वास्थ्य सेवामा २ जना अतिरिक्त सचिव बढुवाको प्रक्रिया अघि बढेको हो।

वीर अस्पतालको निर्देशकमा दिलिप शर्मालाई नियुक्त गरिसकेपछि उक्त दरबन्दीमा पठाइने बाह्रौं तहमा बढुवाका लागि प्रक्रिया अघि बढाइएको छ। वीर अस्पतालमा बाह्रौं तहका अतिरिक्त सचिव जानै मान्दैनन्। वीर अस्पतालको दरबन्दीमा बढुवा भएका अतिरिक्त सचिवलाई मन्त्रालयमै खटाइँदै आएको छ। वीरमा नजाने भएपछि वीरलाई देखाएर गरिने अतिरिक्त सचिवको दरबन्दी कटौती गर्नुपर्ने हो।

स्वास्थ्य मन्त्रालयमा ३ जना अतिरिक्त सचिव राखेर राज्यलाई अनावश्यक भार बोकाउने काम भएको छ। उक्त विषयमा सरोकारवाला निकायहरूको ध्यानाकर्षण हुन जरुरी छ।

अहिले स्वास्थ्य सेवा विभागमा बाह्रौं तहका महानिर्देशक १, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा २ र वीर अस्पतालमा १ जना दरबन्दी रहेको छ। स्वास्थ्य सेवा विभागको महानिर्देशक बाह्रौं तहका डा. टंक बाराकोटी रहेका छन्। मन्त्रालयमा डा. संगिता कौशल मिश्रा अतिरिक्त सचिव छिन्। डा. रोशन पोखरेल सचिवबाट ‘रिटायर्ड’ भएपछि अतिरिक्त सचिव डा. विकास देवकोटा सचिवमा बढुवा भए। रोशनसँगै दिपेन्द्र रमण सिंह पनि घर गए। दरबन्दी अनुसार अहिले डा. दिपेन्द्र र डा. विकासको ठाउँमा २ जना अतिरिक्त सचिव रिक्त भएको देखिन्छ। तर, वीर अस्पतालमा रहेको बाह्रौं तह अहिलेसम्म नगएको दरबन्दीमा समेत बढुवा गर्ने प्रक्रिया अघि बढाएको छ। यस्तो कुरामा कसैको ध्यान गएको छैन।

अस्पताललाई आवश्यक पर्ने चिकित्सकलगायत आवश्यक जनशक्ति थप्नु पर्छ। स्वास्थ्यकर्मी तथा चिकित्सकहरू प्रयाप्त नहुँदा जनताले उचित स्वास्थ्य सेवा पाउन सकेका छैनन्। त्यस्ता निकायमा तत्काल ओएन्डएम गरेर आवश्यक जनशक्ति लिनुपर्छ। तर माथिल्लो तहमा अनावश्यक दरबन्दी राखेर राज्यकोषको ‘लुटपाट’ गर्न हुँदैन।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ