भूमाफियासँग मिलेर डिल्लीबजारको राम मन्दिर हडप्ने प्रपञ्च, महानगरले भाडा तिर्नेगरी डोजर लगाइयो

काठमाडौं। ‘काहीँ नभएको जात्रा हाँडी गाउँमा’ भन्ने उखानलाई माथ खुवाउँदै ‘कहीँ भएको जात्रा डिल्लीबजारमै’ सरेको छ। त्यो पनि वडाध्यक्ष कै मिलेमतोमा राम मन्दिर (रामचन्द्र बाहाल)को अस्तित्व समाप्त पार्ने प्रपञ्च सुरू भएको हो।
काठमाडौं डिल्लीबजार राम मन्दिरको इतिहास डेढ सय वर्षभन्दा पुरानो देखिन्छ। बिक्रम सम्म्बत १९२४ सालमा राखिएको राम मन्दिरको घण्टीले नै त्यो मन्दिर घण्टीभन्दा पुरानो हो भन्ने प्रस्ट हुन्छ। तर, त्यो राम मन्दिरको अस्तित्व नै निमिट्यान्न पार्न काठमाडौं महानगरपालिका वडा नम्बर ३० का वडाध्यक्ष दलबहादुर कार्की नै संलग्न रहेको तथ्य फेला परेको छ।
मठ मन्दिरको जग्गा संरक्षण गर्नुपर्ने दायित्व बोकेको वडाध्यक्ष कार्कीले पुरातत्त्व विभागको निर्देशनलाई समेत चुनाैती दिँदै राम मन्दिर परिसरमा डोजर लगाएका हुन्। स्थानीयहरूले विरोध गर्दागर्दै नगर प्रहरी प्रयोग गरेर वडाध्यक्ष कार्कीको उपस्थितिमा राम मन्दिर परिसरमा डोजर चलेको हो।
डिल्लीबजारको मालपोत कार्यालय र गोश्वारा हुलाकसँगै जोडिएको राम मन्दिर मास्ने गरी वडाध्यक्ष नै सक्रियतापूर्वक लागेको छन्। उक्त विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत आवश्यक छानबिन गरेर दोषीमाथि कारवाही गर्न जरुरी देखिन्छ।
नापी कार्यालयको फिल्डबुकमा सिट नम्बर १०-११०५-१० कित्ता नम्बर १९१ मा राम चन्द्र मन्दिर उल्लेख छ। १९२ फिल्डबुकमा खाली छ। नापी नक्सामा पनि मन्दिर (म) जनिएको छ। तर, पछिल्लो नक्सामा ती सबै कुरा गायब बनाइएको देखिन्छ। त्यति मात्र होइन उक्त जग्गाको सुमन बस्नेत लगायतका नाममा पूर्जा समेत बनाएको पाइएको छ। उक्त जग्गामा दुषित दर्ता बदर गर्न भूमिका खेल्नु पर्ने वडाध्यक्ष कार्की भूमाफियालाई जग्गा खान दिने गरी सक्रिय भएका छन्। उनीहरू कै जग्गा हुने गरी सम्झौता गर्न उनी संलग्न रहेको पाइन्छ।
काठमाडौं महानगरपालिका वडा नम्बर ३० का वडाध्यक्ष दलबहादुर कार्की र भूमाफियाबीच राम मन्दिरको अस्तित्व समाप्त हुने गरी गरिएको सम्झौतामा उक्त ठाउँमा काठमाडौं महानगरपालिका वडा नम्बर ३० को भवन बनाउने उल्लेख छ। वडाध्यक्षले २५ वर्षका लागि भूमाफियासँग लिजमा लिएको उक्त जग्गामा वडा भवन बनाउने र महानगरले मासिक ३७ हजार भाडा बुझाउने उल्लेख छ। उक्त भाडा रकम प्रत्येक दुई/दुई वर्षमा १० प्रतिशतका दरले बृद्धि हुने उल्लेख छ।
वडा भवन बनाउन काठमाडौं महानगरपालिका वडा नम्बर ३० भित्र कुनै सरकारी/सार्वजनिक जग्गा नै नभए जसरी मन्दिरको अस्तित्वमा नामेट गर्ने गरी भूमाफियाले हडपेको जग्गा लिजमा लिएको पाइन्छ। यसले वडाध्यक्षको भूमिकामाथि गम्भीर संशय उत्पन्न भएको छ।
भूमाफियाले आफ्नो नाममा लालपूर्जा बनाएपनि उक्त जग्गा हडप्न सकेका थिएनन्। वडा भवन बनाउन दिने नाममा वडाध्यक्षलाई नै प्रयोग गरेर उक्त जग्गा र भवन बनेपछि त्यो पनि आफ्नो बनाउन सफल भएका छन्। काठमाडौं महानगरपालिका वडा नम्बर ३० ले भूमाफियाको पक्षमा लागेर मन्दिरको अस्तित्व समाप्त पार्न लागेको स्थानीयहरूको आरोप छ।
काठमाडौं महानगरपालिका वडा नम्बर ३० ले अहिले वडा भवन बनाउने भनेर जुन टहरोमा डोजर चलाएको छ त्यो ठाउँमा साबिक ३२ नम्बर वडा (हाल १९ को कार्यालय) रहेको थियो। पछि उक्त कार्यालय महावीर क्लबले भोगचलन गरेको डिल्लीबजार पिपलबोटमा सरेपछि चारखालस्थित राम मन्दिरको उक्त टहरो राम मन्दिरको भजनकीर्तन गर्ने ठाउँमा परिणत भएको थियो। अहिले साबिक वडा नम्बर ३२ को वडा कार्यालय रहेको ठाउँमा अहिले वडा नम्बर ३० को भवन बनाउने भनेर डोजर लगाइएको छ। तर, व्यक्तिलाई मासिक भाडा दिने गरी वडा कार्यालय भवन बनाउन उक्त ठाउँमा वडाध्यक्षले डोजर लगाएका हुन्। डिल्लीबजारका स्थानीयहरू भने राम मन्दिरको संरक्षणका लागि ज्यानको बाजी लगाएर वडाध्यक्षसँग भिडिरहेका छन्।
पुरातत्त्व विभागको निर्देशनको बेवास्ता गर्दै काठमाडौं महानगरपालिका वडा नम्बर ३० ले डोजर लगाएको उक्त क्षेत्र कांग्रेस महामन्त्री गगनकुमार थापाको हो। प्रतिनिधिसभा काठमाडौं क्षेत्र नम्बर ४ बाट निर्वाचित थापा हालै भारतको उत्तरप्रदेशस्थित प्रयागराजमा महाकुम्भ मेलामा डुबुल्की मारेर आएका थिए। धर्मकर्ममा त्यस्तो आस्था र विश्वास राख्ने थापा आफ्नै गृह वडामा रहेको राम मन्दिरको अस्तित्व नामेटे हुनेगरी भूमाफियासँग मिलेर वडाध्यक्षले डोजर चलाउँदा पनि बेखबर देखिन्छन्। विदेशमा धर्म गर्न जानेले स्वदेशमा रहेको राम मन्दिरको अस्तित्वमाथि धावा बोल्दा समेत नदेख्नु भनेको चाहिँ आश्चर्यको विषय हो।
डिल्लीबजारको राम मन्दिरको अस्तित्व नै समाप्त हुने गरी वडा भवन बनाउने नाममा भइरहेको अत्याचारको काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)को पनि ध्यानाकर्षण हुन जरूरी छ। उक्त विषयमा छानबिन गर्दा राम्रै हुन्छ। पुरातत्त्व विभागले पनि आफ्नो निर्देशन बेवास्ता गर्नेमाथि थप एक्सन लिन आवश्यक देखिन्छ। व्यक्तिको नाममा पूर्जा दिने विषयमा गुठी, मालपोत नापीका कर्मचारी ज-जसको संलग्नता छ उनीहरूमाथि छानबिन तथा कारबाही हुनैपर्छ।
ट्याग : #चारखाल, #डिल्लीबजार राम मन्दिर, #रामचन्द्र बाहाल, #वडाध्यक्ष दलबहादुर कार्की
तपाईको प्रतिक्रिया दिनुहोस