स्वास्थ्य सेवा विभागमा दयाको ‘दयालाग्दो’ अनुभव, अत्यावश्यक स्वास्थ्य सामानको अभाव हुँदै


काठमाडौँ ।  स्वास्थ्य क्षेत्रमा हुने खरिद र त्यसको उचित प्रक्रियाबारे जानकार नहुँदा स्वास्थ्य सेवा विभागले विगत चार महिनादेखि काम गर्न सकेको छैन्। चार महिना अगाडि स्वास्थ्यमन्त्री प्रदीप पौडेलले दया  पन्तलाई खरिदको ताला चाबी सुम्पिएका थिए। तर, पन्त हालसालै बढुवा भएका र खरिदमा अनुभव नभएका कारण चार महिनादेखि काम कारबाही ठप्प बनेको छ। 

दया पन्तको ‘दयालाग्दो’ अनुभवले स्वास्थ्य क्षेत्रमा हुने नियमित र जरुरी काम समेत रोकिने अवस्थामा पुगेको विभागका अधिकारीहरू बताउँन थालेका छन्।  परिवार कल्याण महाशाखाको मात्रै १ अर्बको काम ठप्प भएको छ। अधिकारीहरू भन्छन् पहिला व्यापारीले भेट्नु पर्ने उनको तर्क रहेको छ। तर, व्यापारी नियम अनुसार काम गर्ने, कर्मचारी नभेट्ने पक्षमा छन्। यही कारण पन्तले सम्झौता गर्न मानेका छैनन्।

महाशाखाले बताए अनुसार बैशाखमा भिटामिन “ए” आउने सम्भावना सकिएको छ। पन्तले काम गर्न नसकेपछि विभाग दातृ निकायको सहयोग मागेर भिटामिन “ए” जुटाउने तयारीमा लागेको छ। परिवार नियोजनको साधन सकिएको छ। त्यस्तै पोषण सामग्री पनि सकिएको छ। खरिदका लागि व्यवस्थापन महाशाखामा फायलहरु पुगेका छन् तर, अनुभवको कमी र स्वार्थले गर्दा काम हुन सकेको छैन। यसको असर नागरिक र स्वास्थ्यमन्त्रीलाई अवश्य पर्ने छ। यस्ता कर्मचारीका कारण उत्पन्न सङ्कटको जवाफ मन्त्रीले संसद्मा दिनुपर्ने हुन्छ। 

देशभर हुने स्वास्थ्य सामग्री ढुवानीको काम पनि ठप्प भएको छ। सम्झौता नगर्दा अहिले ढुवानी बन्द छ। अगाडि बढेका कामको पनि इभ्यालुएसन गरेर सम्झौता भएको छैन। भ्याक्सिन भण्डार स्टोरमा सकिएको छ। खरिद काम रोकिएको छ। व्यापारी भेट्न नगए सम्झौता रद्द गर्ने नियतिले जनताले स्वास्थ्य सेवाको अनुभूति गर्न पाउने छैनन्। अधिकारीहरू भन्छन् ‘यसमा ढिला नगरी मन्त्रीले पन्तको विकल्प तुरुन्त खोज्नुपर्छ।’,

विभागले ४० कोडको सूचना निकाल्न सकेको छैन। ६० करोडको सूचना निकालेको पनि कसैको इभ्यालुएसन भएको छैन। तीनवटाको अवार्ड भएको छ तर, सम्झौता भएको छैन। बहुवर्षीय ठेक्काबाहेक भ्याक्सिनको नियमित खरिद गर्न सकिएको छैन। 

विभागका अधिकारी थप्छन्, ‘महानिर्देशक सम्म फायल पुग्नै मुस्किल भएको छ । दयाले फायल पढ्ने र ५, ६ पाना टिप्पणी लेख्ने गर्दै आएका छन्। उनले समाधान हैन महालेखाले गरेको प्रश्न जसरी प्रतिप्रश्न गरेर बस्दै आएका छन् ।’, समस्यालाई निराकरण गर्ने जिम्मा लिएर खरिदमा गएका उनी प्रश्न गरेर थप समस्या निकालिरहेको अधिकारीहरू बताउँछन् । यही कारण महिनौं लगाएर लेखिएको टिप्पणीले फायल अगाडि बढ्दैन। 

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ