डिल्लीबजारको राम मन्दिर खाने भूमाफियाविरूद्ध न्यायिक लडाईं लड्ने साहसी स्थानीयहरू


काठमाडौं। डिल्लीबजार चारखालस्थित राम मन्दिर (रामचन्द्र बाहाल) खाने भूमाफिया र वडाध्यक्षविरूद्ध स्थानीयहरू न्यायिक लडाईं लड्न बाध्य भएका छन्। काठमाडौं महानगरपालिका वडा नम्बर ३० डिल्लीबजार मालपोतसँगै रहेको राम मन्दिरको जग्गा भूमाफिया र वडाध्यक्ष मिलेर हडपेपछि स्थानीयहरू न्यायिक लडाईं लड्न बाध्य भएका हुन्।

फिल्डबुक र नापी नक्सामा मन्दिर जनिएको जग्गा निजी रामचन्द्र गुठीमा लगेर व्यक्ति विशेषको नाममा दुषित दर्ता गरेपछि स्थानीयहरू अदालतको ढोका ढकढकाउन बाध्य भएका छन्। मन्दिरको जग्गा आफ्नो नाममा लाने भूमाफियासँग मिलेर काठमाडौं महानगरपालिका वडा नम्बर ३० का वडाध्यक्ष दलबहादुर कार्कीले मन्दिर कै अस्तित्व नामेट पार्न खोजेपछि स्थानीयहरू आन्दोलित छन्। राम मन्दिरको जग्गामा काठमाडौं महानगरपालिका वडा नम्बर ३० को वडा भवन बनाउने र भूमाफियालाई मासिक ३७ हजार भाडा तिर्ने सम्झौता गरेपछि स्थानीयहरू वडाध्यक्ष कार्कीमाथि खनिएका छन्। उनीहरू मैदानमा मात्र होइन उक्त कदमविरूद्ध न्यायिक लडाईं लड्न अदालतमा समेत पुगेका हुन्।

भूमाफियाले हडपेको मन्दिरको जग्गा २५ वर्षका लागि लिजमा लिएर वडा भवन बनाउने निर्णयविरूद्ध स्थानीय अर्जुन श्रेष्ठ, बालगोपाल कारजिंत, पुष्परत्न बज्राचार्य, ओमहरि श्रेष्ठ, प्रदीपकुमार शाही, कृपेश लोहनी, वसन्तकुमार प्रधान, राजकुमार श्रेष्ठलगायत उच्च अदालत पाटन पुगेका हुन्।

नापी कार्यालयको फिल्डबुकमा सिट नम्बर १०-११०५-१० कित्ता नम्बर १९१ मा राम चन्द्र मन्दिर उल्लेख छ। १९२ फिल्डबुकमा खाली छ। नापी नक्सामा पनि मन्दिर (म) जनिएको छ। तर, पछिल्लो नक्सामा ती सबै कुरा गायब बनाइएको देखिन्छ। त्यति मात्र होइन उक्त जग्गा रामचन्द्र निजी गुठीमा लगेर सुमन बस्नेतसहितको नाममा पूर्जा समेत बनाएको पाइएको छ। उक्त विषयलाई लिएर स्थानीयहरू अदालतसमक्ष पुगेका हुन्। उच्च अदालत पाटनले राम मन्दिरमा तत्कालका लागि संरचना निर्माणको काम अगाडि नबढाउन उच्च अदालत पाटनले अल्पकालीन अन्तरिम आदेश दिएको छ।

स्थानीयहरू पुष्परत्न बज्राचार्यसहितले हालेको रिटमा न्यायाधीश कृष्णराम कोइराला एकल इजलासले अल्पकालीन अन्तरिम आदेश दिएको हो। अल्पकालीन अन्तरिम आदेश दिँदै उच्च अदालत पाटनले १४ गते दुबै पक्षलाई अन्तरिम आदेशको छलफलका लागि बोलाएको छ।

डिल्लीबजारको मालपोत कार्यालय र गोश्वारा हुलाकसँगै जोडिएको राम मन्दिर मास्ने गरी वडाध्यक्ष नै सक्रियतापूर्वक लागेको छन्। मन्दिर संरक्षणका लागि स्थानीयहरु विरोधमा उत्रिएका हुन्। काठमाडौं महानगरपालिका वडा नम्बर ३० का वडाध्यक्ष दलबहादुर कार्की र भूमाफियाबीच राम मन्दिरको अस्तित्व समाप्त हुने गरी गरिएको सम्झौतामा उक्त ठाउँमा काठमाडौं महानगरपालिका वडा नम्बर ३० को भवन बनाउने उल्लेख छ। वडाध्यक्षले २५ वर्षका लागि भूमाफियासँग लिजमा लिएको उक्त जग्गामा वडा भवन बनाउने र महानगरले मासिक ३७ हजार भाडा बुझाउने उल्लेख छ। उक्त भाडा रकम प्रत्येक दुई/दुई वर्षमा १० प्रतिशतका दरले बृद्धि हुने उल्लेख छ।

भूमाफियाले आफ्नो नाममा लालपूर्जा बनाएपनि उक्त जग्गा हडप्न सकेका थिएनन्। काठमाडौं महानगरपालिका वडा नम्बर ३० ले भूमाफियाको पक्षमा लागेर मन्दिरको अस्तित्व समाप्त पार्न लागेको स्थानीयहरूको आरोप छ। काठमाडौं महानगरपालिका वडा नम्बर ३० ले अहिले वडा भवन बनाउने भनेर जुन टहरोमा डोजर चलाएको छ त्यो ठाउँमा साबिक ३२ नम्बर वडा (हाल १९ को कार्यालय) रहेको थियो। पछि उक्त कार्यालय महावीर क्लबले भोगचलन गरेको डिल्लीबजार पिपलबोटमा सरेपछि चारखालस्थित राम मन्दिरको उक्त टहरो राम मन्दिरको भजन कीर्तन गर्ने ठाउँमा परिणत भएको थियो। अहिले साबिक वडा नम्बर ३२ को वडा कार्यालय रहेको ठाउँमा अहिले वडा नम्बर ३० को भवन बनाउने भनेर डोजर लगाइएको छ। तर, व्यक्तिलाई मासिक भाडा दिने गरी वडा कार्यालय भवन बनाउन उक्त ठाउँमा वडाध्यक्षले डोजर लगाएका हुन्। डिल्लीबजारका स्थानीयहरू भने राम मन्दिरको संरक्षणका लागि ज्यानको बाजी लगाएर वडाध्यक्षसँग भिडिरहेका छन्।

राम मन्दिरको जग्गा भूमाफियाले हडपेको थाहा पाएपछि डिल्लीबजार मात्र होइन मैतीदेवी, घट्टेकुलो, अनामनगर, कालिकास्थान स्थानीयहरू जाग्न थालेका छन्। सुरूका दिनमा स्थानीय केही व्यक्तिहरू मात्र मन्दिरको जग्गा हडप्न लागेपछि डोजर रोक्न फिल्डमा उत्रिएका थिए। अहिले उनीहरूको पक्षमा व्यापक जनसमर्थन देखिन थालेको छ। मन्दिरको जग्गामा पूर्जा बनाएर खाने भूमाफिया र उनीहरूलाई सहयोग गर्ने वडाध्यक्षविरूद्ध स्थानीयहरू एकत्रित भएर लागेका छन्। न्यायिक लडाईंमा होमिएका स्थानीयहरू राम मन्दिरको जग्गा भूमाफियालाई खान नदिने अठोटमा देखिन्छन्।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ