पशुपतिनाथ मन्दिरको गजुरको ढकन कहिले जोडिन्छ?


काठमाडौं। पशुपतिनाथ मन्दिरको मूल गजुरको अग्रभागको अंश (ढकन) खसेको एक हप्ता बढी भइसकेको छ। उक्त अंश नजोड्दा जिम्मेवार निकाय पशुपति क्षेत्र विकास कोषको आलोचना समेत हुन थालेको छ।

गजुरको सबैभन्दामाथिको अंश (ढकन) खस्दा अहिले टुप्पो सुईरो आकारमा मात्र देखिन्छ। त्यसलाई छोप्ने सुनको कभर झरेको छ। अनुमानित ४ इन्च लम्बाइ र गोलाई भएको (माथितिर सानो र तलतिर ठूलो त्रिभुज आकारको) उक्त कभर बाँदर वा प्राकृतिक हावाहुरीले झरेको बताइन्छ। पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीका अनुसार उक्त गजुरको कभर बाँदर वा प्राकृतिक हावाहुरीले झारेको हो। सुनको कभर झर्दा गजुरको टुप्पोमा सुईरो जस्तो आकार देखिएर स्वरूप बिग्रिएको छ। तर, गजुरको खसेको उक्त अंश जडान गर्न शास्त्रीय विधि र मर्यादा अनुसार मात्रै हुने हुँदा हाल शुक्रअन्ध भएकाले जडान नगरिएको हो।

पशुपतिनाथ मन्दिरका मूल भट्ट गणेश रावलसँग सल्लाह गर्दा चैत १६ अगाडि शुक्रअन्ध भएकाले गजुरको टुप्पो छोप्न नमिल्ने कुरा आएकाले १६ गतेबाट शुक्र उदय भएपछि मात्र काम थालिने प्रवक्ता अधिकारीको भनाइ छ। उक्त विषयमा गुठी संस्थानलगायत सरोकारवाला निकायसँग पनि कुरा भइसकेको उनले जानकारी दिए। विधि र प्रक्रिया पूरा गरेर गजुरले पूर्णता पाउने विश्वास छ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ