सचिवहरूको विदेशतिर लर्को, प्रधानमन्त्री र स्वास्थ्यमन्त्री पनि विदेशै जाने

काठमाडौं। मन्त्रिपरिषद्को बैठकले एकैपटक ५ जना सचिकको वैदेशिक भ्रमण स्वीकृत गरेको छ। सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले सार्वजनिक गरेको मन्त्रिपरिषद्को निर्णयमा ५ जना सचिवको वैदेशिक भ्रमण स्वीकृत गरिएको उल्लेख छ।
कानून, न्याय तथा संसदीय मन्त्रालय, गृह मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय (विज्ञान तथा प्रविधि), श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिवको वैदेशिक भ्रमण स्वीकृत गर्ने मन्त्रिपरिषद्को निर्णयमा उल्लेख छ।
कानून, न्याय तथा संसदीय मन्त्रालयका सचिव उदयराज सापकोटा, गृह मन्त्रालयका सचिव गोकर्णमणि दुवाडी, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय (विज्ञान तथा प्रविधि) हेर्ने सचिव विश्वबाबु पुडासैनी, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव कृष्णहरि पुस्कर कर्ण र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव रविलाल पन्थले विदेश घुम्न स्वीकृति पाएका हुन्। आर्थिक वर्ष २०८२/०८३ को बजेट निर्माण गर्ने बेलामा सचिवहरूको विदेशतिर लर्को लागेको हो।
२०८२ वैशाख २ गतेदेखि ४ गतेसम्म युएईको अबुधाबीमा सञ्चालन हुने आबुधाबी ग्लोवल हेल्थ विक कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री माननीय प्रदीप पौडेललाई सहभागी हुन स्वीकृति प्रदान गर्ने निर्णय समेत भएको छ।
त्यस्तै २०८१ चैत १९ गतेदेखि २३ गतेसम्म थाइल्याण्डको औपचारिक भ्रमण तथा बिमस्टेकको छैटौं शिखर सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वमा हुने प्रतिनिधिमण्डलको भ्रमण स्वीकृत गर्ने निर्णय समेत मन्त्रिपरिषद्को बैठकले गरेको हो।
त्यसैगरी २०८२ जेठ १० गतेदेखि १८ गतेसम्म अष्ट्रेलियामा सञ्चालन हुने क्यानबेरा फेलिोसिप प्रोग्राममा सहभागी हुन माननीय निर्वाचन आयुक्त डा. जानकीकुमारी तुलाधरलाई स्वीकृति प्रदान गर्ने निर्णय भएको समेत सञ्चारमन्त्री गुरूङले जानकारी दिए।
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस