विदेश मात्र ताकिरहने प्रशासन सेवाका सहसचिव विन्देश्वर लेखक


काठमाडौं। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले गरेको एउटा निर्णयमा ‘सहसचिव विन्देश्वरप्रसाद लेखकलाई नेपाली महावाणिज्यदूताबास, हङकङको महावाणिज्यदूत पदमा एक अवधिको लागि नियुक्त गर्ने’, उल्लेख छ। यो निर्णयसँगै लेखक सहसचिव भएपछि पहिलोपटक जिम्मेवारी सम्हालेमा परेका छन्। २०७९ चैतमा आन्तरिक प्रतिस्पर्धाबाट प्रशासन सेवाको सहसचिव भएका लेखक पहिलोपटक त्यो पनि परराष्ट्र मन्त्रालय अन्तर्गत हङकङको महावाणिज्यदूत बनेर काम गर्ने जिम्मेवारीमा जान लागेका हुन्। उनीसँगै साउन अन्तिमतिर परराष्ट्र मन्त्रालय पुगेका भरत खनाल ग्वान्जाओ, लक्ष्मीप्रसाद निरौला ल्हासा र झक्कप्रसाद आचार्य कलकत्ताको महावाणिज्यदूत बनेर ‘एउटा भोटो’ फटाइसकेका छन्। ८ महिना परराष्ट्रको बरण्डामा बसेपछि लेखक बल्ल महावाणिज्यदूत बनेर हङकङ जाने भएका हुन्।

खनाल, निरौला, आचार्यसँगै परराष्ट्र पुगेका विन्देश्वरलाई बेइजिङको इकोनोमिक मिनिस्टर बनाउन सिफारिस गरिएको थियो। तर, उनी त्यहाँ जान आनाकानी गरिरहे। अन्ततः गृहमन्त्री रमेश लेखकका नातेदार रहेका विन्देश्वर नातावाद कै कारण जनजातीको बाहुल्यता रहेको हङकङको महावाणिज्यदूत बन्न सफल भएका छन्। जनजाती पृष्ठभूमिका उदयबहादुर राना मगर पुस अन्तिमतिर ४ वर्षे कार्यकाल पूरा गरेर हङकङको महावाणिज्यदूतबाट फिर्ता भएपछि ‘गौंडा ढुकेर’ बसेका विन्देश्वर हङकङ ‘पोस्टिङ’ भएका हुन्। तर, हङकङमा जनजाती पृष्ठभूमि कै सहसचिवलाई महावाणिज्यदूत बनाएर पठाउँदा राम्रो ‘म्यासेज’ जान्थ्यो। पहुँचवाला सहसचिव भएकै कारण विन्देश्वरले बाजी मारे।

विन्देश्वर सहसचिव भएको करिब डेढ वर्ष संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूह (बरण्डा)मा हाजिर गर्दै बसिरहेका थिए। त्यसपछि करिब ८ महिना उनले परराष्ट्र मन्त्रालयको बरण्डामै बिताए। एउटा सहसचिव २ वर्षसम्म कुनै काम नगरी हाजिर गरेर बेतनभोगी बन्नु राज्यमाथि ठूलो अन्याय हो। उनीसँगै सहसचिव बनेका रामकृष्ण लामिछाने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, महिला, बालबालिका जेष्ठ नागरिक, ताहाचलस्थित वैदेशिक रोजगार कार्यालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलगायतमा सहसचिव बनेर मुलुकलाई योगदान पुऱ्याइसकेका छन्। पार्वती अर्याल पनि ताहाचलस्थित वैदेशिक रोजगार कार्यालय, राष्ट्रिय महिला आयोगको सचिव हुँदै भन्सार जाँचपास पछिको परीक्षण कार्यालय प्रमुखको भूमिकामा रहेर काम गरिरहेकी छिन्। तर, उनीहरूसँगै सहसचिव बनेका विन्देश्वर भने अर्थ मन्त्रालयको गाडी चढेर विना काम कहिले सामान्य प्रशासन मन्त्रालय त कहिले परराष्ट्र मन्त्रालयमा हल्लिरहे।

विन्देश्वर प्रशासन सेवाका सहसचिव हुन् तर उनको शैली परराष्ट्रका कमचारी जस्तो बढी विदेशमै बित्ने गरेको छ। विन्देश्वर शाखा अधिकृत हुँदा उपसचिव जाने गरेको विश्व बैंकमा जागिर खान गए। अर्थ मन्त्रालयका सहसचिव श्रीकृष्ण नेपाललाई तानेर उपसचिव नरेन्द्र पाण्डे गएका थिए।  उपसचिव किशोर जोशी गएको उक्त ठाउँमा शाखा अधिकृत कै हैसियतमा रहेका विन्देश्वर जान सफल भएका थिए। विश्व बैंकमा काम गरेर फर्किएपछि ६ महिना अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखामा अन्तर्गत काम गर्नुपर्नेमा उनी राजस्व अनुसन्धान कार्यालय, ईटहरी गएका थिए। अर्थ मन्त्रालयका अधिकारीहरूका अनुसार दाताको सर्तविपरीत विश्व बैंकबाट फर्किनेबित्तिकै विन्देश्वर राजस्व अनुसन्धान कार्यालय, ईटहरीमा तरमार्न गएपछि दाताले ‘कम्प्लेन’ गरेका थिए। विश्व बैंकका अधिकारीहरूले ‘कम्प्लेन’ गरेपछि तत्कालीन अर्थमन्त्री रामशरण महतले उनलाई हप्काएका समेत थिए।

२०७३ मा उपसचिव भएपछि विन्देश्वरको पहिलो पोस्टिङ नै तस्करी हुने नाका भनेर परिचित कपिलवस्तुको कृष्णनगर भन्सारको प्रमुख भन्सार अधिकृत भएर गए। उनले कृष्णनगरबाट भन्सार विभाग चलाउने गरेको तत्कालीन भन्सारका कर्मचारीहरू बताउँछन्। कतिसम्म भने तत्कालीन भन्सार विभागका महानिर्देशक रामशरण चिमोरियालाई विन्देश्वरले कुन कर्मचारी कहाँ सरूवा गर्ने भनेर सरूवा सूची बनाएर दिन्थे। विन्देश्वरले दिएको भन्सारका कर्मचारी सरूवाको ‘चिट’ हराएपछि चिमोरियाको चिटचिट पसिना आएको समेत त्यो परिदृश्य देख्ने कर्मचारीहरू सुनाउँछन्।

२०७४ सालमा केपी शर्मा ओली नेतृत्वको बाम गठबन्धनको सरकारमा अर्थमन्त्री बनेका युवराज खतिवडाले समेत विन्देश्वरलाई हप्काएका थिए। खतिवडा निकट एक कर्मचारीका अनुसार कृष्णनगर भन्सार प्रमुख हुँदा विन्देश्वरलाई अर्थमन्त्री खतिवडा ड्राइभरलाई गाडी पठाएर आफू भने सधै प्लेनमा आउने भनेर हप्काएका थिए। उनको विषयमा धेरै ‘कम्प्लेन’ आएपछि खतिवडाले कार्यकक्षमैं बोलाएरै हप्काएको सुनाए। विन्देश्वर कृष्णनगर भन्सार प्रमुख हुँदा अर्थ मन्त्रालयले छुट्टै अनुसन्धान टोली खटाए सामानको पुनः जाँच गर्ने क्रममा बदमासी गरेको फेला परेपछि उनलाई विभागमा तानिएको थियो। त्यसपछि राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग पुगेका विन्देश्वर त्यहीँबाट जापान पढ्न गए।

शाखा अधिकृत हुँदा विश्व बैंक, उपसचिव हुँदा जापान र सहसचिव भएपछि हङकङ पुगेका विन्देश्वर नेपालभन्दा विदेश नै ताक्नेमा परेका छन्। विन्देश्वर विदेश मात्रै जाने गरेको हेर्दा उनी प्रशासन हुन् कि परराष्ट्र सेवाका कर्मचारी भनेर ‘कन्फ्युज’ हुने अवस्था आएको छ। देशमा काम नगर्ने र विदेश मात्र ताकिरहने यस्ता कर्मचारीको विषयमा लेखाजोखा भने हुनैपर्छ।

क्याटेगोरी : समाचार
ट्याग : #महावाणिज्यदूत हङकङ, #विन्देश्वर प्रसाद लेखक, #विन्देश्वरप्रसाद लेखक सहसचिव

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ