कर्मचारी युनियनका केन्द्रीय उपाध्यक्ष पुरण गुरूङ भ्रष्टाचारी ठहर


काठमाडौं। नेपाली कांग्रेस निकट नेपाल निजामती कर्मचारी युनियनका केन्द्रीय उपाध्यक्ष पुरण गुरुङ विशेष अदालतबाट भ्रष्टाचारी ठहर भएका छन्। स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत हुँदा उनले सडक निर्माणमा भ्रष्टाचार गरेको विशेष अदालतको ठहर छ। विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरू रामबहादुर थापा र मुरारीबाबु श्रेष्ठको इजलासले तत्कालीन प्रमुख प्रशासकीय अधिकृत गुरूङ र कमलप्रसाद गौतम, गाउँपालिका अध्यक्ष दीर्घनारायण अर्यालसहित १२ जना प्रतिवादीलाई भ्रष्टाचारी ठहर गरेको हो।

आर्थिक वर्ष ०७५/७६ देखि ०७६/७७ सम्म सडक निर्माणमा गुणस्तरहीन कार्य गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गुरूङसहित १२ जनाविरूद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो। पुस १६ गते दायर भएको उक्त भ्रष्टाचारको मुद्दामा विशेष अदालतले बुधबार सबै प्रतिवादीलाई दोषी ठहर गरेको हो।

विशेष अदालतले अर्जुनचौपारी गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतद्वय पुरण गुरुङ, कमलप्रसाद गौतम, इन्जिनियरद्वय नवीन थापा र सुदीप आचार्य तथा सब-इन्जिनियर सूर्यप्रसाद पौडेललाई जनही ३/३ महिना कैद सजाय सुनाएको छ। गाउँपालिका अध्यक्ष अर्याललाई भने डेढ महिना मात्र कैद सजाय सुनाएको हो।

नेपाल निजामती कर्मचारी युनियनका केन्द्रीय उपाध्यक्ष रहेका गुरूङलाई २ लाख १३ हजारभन्दा बढी जरिवाना गरेको छ। उनले क्षतिपूर्तिबापत ८ हजार ५ सय रुपैयाँ बुझाउनुपर्ने छ। त्यस्तै तत्कालीन प्रमुख प्रशासकीय अधिकृत गौतम र इन्जिनियर आचार्यलाई कैदका साथै जनही १ लाख १९ हजार रुपैयाँभन्दा बढी जरिवाना र क्षतिपूर्तिबापत साढे ५ हजार रुपैयाँ तिर्नुपर्ने गरी फैसला भएको हो।

गाउँपालिकामा अध्यक्ष अर्याल र र इन्जिनियर थापाको हकमा भने जनही ३ लाख ३२ हजार रुपैयाँभन्दा बढी जरिवाना र क्षतिपूर्तिबापत १३ हजार रुपैयाँभन्दा बढी बुझाउनुपर्ने फैसलामा उल्लेख छ। विशेष अख्तियारले उक्त भ्रष्टाचार मुद्दामा प्रतिवादी बनाएका उपभोक्ता समितिका सबैलाई विशेष अदालतले दोषी ठहऱ्याएको हो। उपभोक्ता समितिमा रहेकालाई कैद सजाय नगरेपनि जरिवाना र क्षतिपूर्ति भने भराउने विशेष अदालतको फैसलामा उल्लेख छ ।

पुरण गुरूङ नेपाल निजामती कर्मचारी युनियनको ८ औं महाधिवेशनबाट आदिवासी/जनजाति तर्फको केन्द्रीय उपाध्यक्षमा निर्वाचित भएका थिए। पुरण स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका, चापाकोट नगरपालिका, गोरखाको गण्डकी गाउँपालिकालगायतमा प्रमुख प्रशासकीय अधिकृत बनेर बसेका थिए। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा समेत बसेर रजगज गरेका पुरण अहिले विशेष अदालतबाट भ्रष्टाचारी ठहर भएका हुन्। कर्मचारी संगठनको आडमा यस्ता अनियमितता गर्ने धेरै भएपनि पुरण भने अख्तियार र विशेष अदालतको फेला परेका छन्। कर्मचारी संगठनको नेता बनेर यस्तो कर्ममा लाग्ने धेरै कर्मचारी भएपनि अख्तियारको ‘राडार’भित्र पर्न सकेका छैनन्। विशेष अदालतको उक्त फैसला सदर भए पुरणको जागिरे जीवन यतिमै सीमित हुने देखिन्छ।

क्याटेगोरी : समाचार
ट्याग : #अर्जुन चौपारी गाउँपालिका, #नेपाल निजामती कर्मचारी युनियन, #पुरण गुरूङ, #भ्रष्टाचारी ठहर

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ