रोगको कारण खोज्न १७ हजारमा अनुसन्धान


काठमाडौं । मानिसमा लाग्ने रोगको कारण पत्ता लगाउन नेपाल फ्यामिली कोहर्टको प्रारम्भिक रिपोर्ट सार्वजनिक भएको छ । देशका दुई वटा नगरपालिकाका ५०० घरपरिवारका १७ हजार मानिसमा २० वर्ष लामो अध्ययन भएको हो ।

अध्ययन भइरहेको नगरपालिकामा लुम्बिनी साँस्कृतिक नगरपालिका र वालिङ नगरपालिका रहेका छन् । अध्ययनका क्रममा ५ वर्षमाथिका ७ हजार ८ सय ६८ बालबालिका र ६५६९ अभिभावक लिइएको प्रारम्भिक रिपोर्ट सूचना प्रविधी तथा सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले सार्वजनिक गरेका हुन् ।

रिपोर्ट सार्वजनिक पश्चात आयोजित पत्रकार सम्मेलनमा प्रमुख अनुसन्धानकर्ता कोभेन्ट्र विश्वविद्यालय बेलायतका डा. ओमकुमार कुर्मीले यो अध्ययनले स्वास्थ्य क्षेत्रको बहुआयामिक पक्षलाई समेट्ने बताए ।

उनले सन् २०२२ मा परियोजना तय गरेर नेपाल स्वास्थ्य अनुसन्धान परिषदबाट स्वीकृती लिइसकिएको र २०४४ सम्म नियमित रुपमा हुने बताए । ‘यो अध्ययनले फोक्सो स्वास्थ्यसँगै एउटा व्यक्तिको सम्पूर्ण स्वास्थ्य सम्बन्धी अध्ययन गरी रोकथामका लागि सहयोगी हुन्छ,’ उनले भने, ‘अध्ययनमा पारिवारिक हिस्ट्री, जाँच पड्तालदेखि लिएर उपचार सिफारिससम्मको प्रक्रिया पूरा हुन्छ ।’

अनुसन्धानका क्रममा शारीरिक क्रियाशीलता, पोषण तथा इन्डोक्राइन, मुटुरोग सम्बन्धी अध्ययन, दम, एलर्जी र फोक्सोको अवस्था, वातावरणीय संक्रमण, सुताइमा अनियमितता, नसा तथा मस्तिष्क विकास, मानसिक स्वास्थ्य, संक्रमण, प्रजनन स्वास्थ्य आदि विषयलाई ८०० भन्दा बढी प्रश्नावलीमार्फत सम्बोधन गरिने जनाइएको छ ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ