पोखरामा नि:शुल्क आयुर्वेद तथा वैकल्पिक स्वास्थ्य शिविर सम्पन्न

कास्की । पोखरा महानगरपालिका, स्वास्थ्य महाशाखाको आयोजना, गण्डकी आयुर्वेद अस्पताल, कास्कीको प्राविधिक सहयोग एवं पोखरा महानगरपालिका वडा नं.२६ को समन्वयमा जलधारेमा १ दिने बृहत नि:शुल्क आयुर्वेद तथा वैकल्पिक स्वास्थ्य (जेष्ठ नागरिक) शिविर सम्पन्न भएको छ ।
राखी स्वास्थ्य चौकी, जलधारे टोलविकास संस्था, जलधारे जेष्ठनागरिक केन्द्र, नमुना महिला समूहको व्यवस्थापन सहयोग रहेको उक्त शिविरमा १११ जना जेष्ठ नागरिक अन्य २८१ जनाको निःशुल्क सुगर सहित स्वास्थ्य परिक्षण, आयुर्वेद औषधि वितरण गरिएको थियो ।
शिविरमा ३९ जनाको एकांग स्नेहन स्वेदन एवं २७ जनालाई अकुपन्चर तथा कपिंग सेवा पनि प्रदान गरिएको थियो । यस्तै शिविरमा हाडजोर्नी रोग सम्बन्धि सेवा अन्तर्गत घुँडा र जोर्नीको समस्या, बाथ युरिक एसिड, नशा रोग सम्बन्धि सेवा अन्तर्गत प्यारालाइसिस, नशा च्यापिएको, हाड जोर्नी झमझमाउने, साइटिका, पायल्स, फिसर, फिस्टुला अन्तर्गत, दिसा गर्दा रगत आउने, पिप आउने, मलद्वार च्यातिएको, दिसा गर्दा मासु बाहिर आउने, मलद्वारमा मासु पलाएको तथा जनरल फिजिसियन सेवा प्रदान गरिएको थियो ।
यसैगरी नाक, कान, घाँटी रोग सम्बन्धि पिनास, माइग्रेन, नाकको एलर्जी, स्त्री तथा प्रसुतीरोग सम्बन्धि सेवा अन्तर्गत सेतो पानी बग्ने, योनि चिलाउने, तल्लो पेट दुख्ने, बाँझोपना, पेट तथा छाति रोग सम्बन्धि ग्याष्ट्रिक, कब्जियत, अल्सर, दम, खोकी, निमोनिया र पिसाब रोग सम्बन्धि सेवा प्रदान गरिएको थियो ।
शिविरका लागि गण्डकी आयुर्वेद अस्पताल प्रमुख डा. शंकर गौतमको नेतृत्वमा चिकित्सकीय टोली खटिएको थियो । सो टोलीमा डा. नारायण पाण्डे, डा. सुभाष भुजेल, डा. रामकृष्ण भुजेल, श्री सरिता अधिकारी, श्री शरद आचार्य, श्री लक्ष्मी देवी शर्मा लगाएत कविराज, ल्याव टेक्निसियन, नर्सिंग स्टाफ, अकुपन्चर असिस्टेन्ट, अभ्यंगकर्ताहरु रहेका थिए।
पोखरा महानगर वडा नं. २६ का अध्यक्ष श्री नरेन्द्र थापा ज्यूले उद्घाटन गर्नु भएको शिविरको उद्घाटन सत्रको अध्यक्षता पोखरा महानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख श्री भरतराज पौडेलले गर्नु भएको थियो । सो कार्यक्रममा २८ नं. वडा सदस्य श्री तिर्थ बहादुर राजभाट, जलधारे टोल विकास संस्था अध्यक्ष महेन्द्र ढुंगाना, जलधारे जेष्ठनागरिक केन्द्र अध्यक्ष मनहरि ढुंगाना, नमुना महिला समूह अध्यक्ष अंगुर देवी भुर्तेल ढुंगाना, राखी स्वास्थ्य चौकी प्रमुख हरिलाल आचार्य लगायतको उपस्थिति रहेको उद्घाटन कार्यक्रमको संचालन पोखरा महानगरपालिका स्वास्थ्य महाशाखा आयुर्वेद तथा वैकल्पिक स्वास्थ्य (जेष्ठनागरिक) शिविर कार्यक्रम संयोजक सरिता अधिकारी देवकोटाले गर्नु भएको थियो ।
उक्त कार्यक्रममा बोल्दै वडा नं २६ का वडा अध्यक्ष श्री नरेन्द्र थापाले वडा भित्रका सम्पूर्ण नागरिकको स्वस्थता प्रति आफु सचेत रहेको र हाल प्रभावकारी देखिदै आएको आयुर्वेद तथा वैकल्पिक उपचार सेवा लिन आफ्ना नागरिकलाई हर सम्भव सहयोग गर्ने तथा यस्तै प्रकारका कार्यक्रम आयोजना गरि रोगको पहिचान, घरेलु विधिबाट रोकथाम तथा सम्बन्धित निकाय संग समन्वय गरि उपचार व्यवस्थापन गर्ने प्रतिवद्दता जनाउनुभयो ।
अन्य वक्ताहरुले वडा, पालिका र प्रदेश सरकार मातहतको आयुर्वेद अस्पतालको यस प्रकारको सहकार्य को सह्राना गर्दै यस्ता कार्यक्रमको वृहतता सहित स्वस्थ नागरिक सुखी पोखराबासि अभियान संचालन गर्नुपर्नेमा जोड दिनुभएको थियो ।
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस