पटकपटक वैकल्पिकमा परेकी जुनु हमाल, सहसचिवमा पनि ‘रेकर्ड’ दोहोरियो

काठमाडौं। जुम्ला चन्दननाथकी जुनु हमाल ढकाल लोक सेवा आयोगमा पटकपटक विभिन्न पदमा नाम निकालेर वैकल्पिक पर्दै आएकी छिन्। शाखा अधिकृतदेखि हालै सार्वजनिक भएको सहसचिव खुलाको नतिजामा पनि जुनु वैकल्पिकमै परेकी छिन्।
२०६९ सालमा महिला कोटाबाट प्रशासन सेवा, सामान्य प्रशासन समूहको शाखा अधिकृत बनेकी जुनु अहिले उक्त समूह कै उपसचिव हुन्। लोक सेवा आयोगले २०८१ सालमा लिएको परीक्षाको खुला तर्फको सहसचिवमा लिखितमा नाम निकाले पनि अन्तर्वार्तापछि जुनु वैकल्पिकमा सिफारिस भइन्।
जुनु २०६९ सालमा परराष्ट्र सेवाको शाखा अधिकृतमा वैकल्पिकमा परेकी थिइन्। महिला कोटाबाट परराष्ट्र सेवाको शाखा अधिकृतमा रोजिना ताम्राकार सिफारिस हुँदा जुनु वैकल्पिकमा परेकी थिइन्। त्यसपछि उनले प्रशासन सेवा तर्फको यात्रा तय गरिन्। जुनुलाई वैकल्पिकमा पार्ने रोजिना परराष्ट्र सेवाको सहसचिव भइसकेकी छिन्। जुनुको सहसचिव हुने प्रयास भने सफल हुन सकेको छैन।
जुनु २०८१ साल असोजमा नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूहको उपसचिव भएकी हुन्। परराष्ट्र सेवाको उपसचिवमा २ पटक वैकल्पिकमा परेपछि उनी प्रशासन सेवाबाटै उपसचिव बनेकी थिइन्।
२०७८ मा परराष्ट्र सेवाको उपसचिवको लिखितमा नाम निकालेकी जुनु सिफारिस हुँदा वैकल्पिकमा परेकी थिइन्। परराष्ट्र सेवाको उपसचिवमा पाल्पाका सुभाङ्ग पराजुली सिफारिस हुँदा जुनु वैकल्पिकमै सीमित भइन्।
२०७८ मै प्रशासन सेवाको खुला तर्फको सहसचिवको लिखितमा उत्तीर्ण भएकी जुनु सिफारिस हुँदा वैकल्पिकमा परिन्। माधवप्रसाद पोखरेल, तीर्थराज चिलुवाल, रामचन्द्र तिवारी र भोला दाहाल सहसचिव हुँदा प्रविण ढकाल र जुनु वैकल्पिकमा परेका थिए। उक्त वर्ष जुनुले उपसचिव र सहसचिवमै वैकल्पिकमा चित्त बुझाउनु परेको देखिन्छ।
२०७८ मा परराष्ट्र सेवाको उपसचिवमा वैकल्पिकमा परेकी जुनु २०८० मा नतिजा उल्ट्याउन लागिपरिन्। तर, उनी २०८० मा पनि परराष्ट्र सेवामा छिर्न सकिनन्। २०८० मा भएको परराष्ट्र सेवाको आन्तरिक प्रतिस्पर्धाको लिखित परीक्षामा जुनु फेरि सफल भएकी थिइन्। तर, अन्तर्वार्तामा असफल भएर वैकल्पिकमा परिन्।
आन्तरिक प्रतिस्पर्धाबाट २०८० मा परराष्ट्र सेवाको उपसचिवमा जीमसन रूम्दाली राई, विपिन दुवाडी, कृष्णप्रसाद चापागाईं सिफारिस भएका थिए। त्यो बेला पनि जुनु वैकल्पिकमै चित्त बुझाउन बाध्य भइन्। तर, उनले हार मानिनन्।
२०८१ सालमा प्रशासन सेवाको सहसचिवमा लिखितमा नाम निकालेकी जुनु फेरि वैकल्पिकमा परिन्। सहसचिव महिला कोटाबाट नीता शर्मा सिफारिस हुँदा जुनु फेरि सहसचिवको वैकल्पिकमा धकेलिएकी छिन्। लिखितमा खुला र महिला दुवैतर्फ नाम निकालेकी जुनु सिफारिस हुँदा महिलाको वैकल्पिकमा परेकी हुन्।
पटकपटक असफल हुँदै सफलताको सिँढीमा उक्लने जुनुको प्रयास मान्नैपर्छ। उनले कर्मचारी प्रशासनको उच्च पद चुम्न धेरै मेहनत गरेको देखिन्छ। उक्त प्रयासलाई निरन्तरता दिइरहने हो भने जुनुका लागि सहसचिव पद त्यति टाढा भने देखिँदैन। सहसचिवको वैकल्पिकबाट माथि उठेर सहसचिवमा सिफारिस हुन जुनुले यो प्रयासलाई जारी राख्नुपर्छ।
क्याटेगोरी : समाचारट्याग : #उपसचिव जुनु हमाल दाहाल, #जुनु हमाल, #परराष्ट्र सेवा वैकल्पिक, #रोजिना ताम्राकार
तपाईको प्रतिक्रिया दिनुहोस