ज्ञानेन्द्र शाहलाई जरिवानाको पत्र थमाउन बालेनको टोली पुग्यो निर्मल निवास

काठमाडौं। ज्ञानेन्द्र शाहलाई जरिवाना पत्र थमाउन बालेनको टोली निर्मल निवास पुगेको छ। काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)को निर्देशनमा महानगर प्रहरी बलको टोली निर्मल निवास पुगेको हो।
महानगरले काठमाडौं तिनकुनेसहित आसपासका क्षेत्रमा राजावादीहरूले शुक्रबार गरेको आन्दोलनमा फोहोरमैला, बोट, बिरुवा मास्नेलगायतका विभिन्न शीर्षकमा ज्ञानेन्द्रलाई ७ लाख ९३ हजार जरिवाना गर्ने निर्णय गरेको थियो। उक्त निर्णय कार्यान्वयनका लागि महानगरको टोली बिहानै ज्ञानेन्द्र बस्ने निर्मल निवास पुगेको हो।
मेयर बालेनले यस अघिको आन्दोलनमा फोहोर गरेको भन्दै राप्रपालाई १ लाख रुपैयाँ जरिवाना गरेको थियो। उक्त जरिवाना राप्रपाले तिरिसकेको छ। त्यस्तै दरबार मार्गमा कार्यक्रम गरेर नेकपा एमालेले फोहोर गरेपछि महानगरले १ लाख रुपैयाँ नै जरिवाना गरेको थियो। एमाले अहिलेसम्म उक्त जरिवाना तिरेको छैन। ज्ञानेन्द्रलाई बालेनले जरिवाना गर्दा ठिक गऱ्यो भन्ने एमालेका नेताहरू आफैं भने महानगरलाई जरिवाना तिर्न आनाकानी गरिरहेका छन्। आन्दोलनका नाममा फोहोर गर्नेलाई दण्डित गर्ने बालेनको नीति निरन्तर कार्यान्वयनमा आइरहेको छ। तर, एमाले भने महानगरलाई जरिवाना नतिर्ने पार्टीमा ‘दर्ज’ भएको देखिन्छ।
तपाईको प्रतिक्रिया दिनुहोस