भाटभटेनी सुपरमार्केटबाट ब्ल्याकलेवल र बियर लुट्ने पक्राउ


काठमाडौं। कोटेश्वरको भाटभटेनी सुपरमार्केटबाट ब्लाक लेबल र बियर लुट्ने पक्राउ परेका छन्। नेपाल प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार भाटभटेनी सुपरमार्केटबाट ब्ल्याकलेवल, यार्सागुम्बा ब्रान्डको मदिरा र बियर लुटपाट गर्नेसहित ९ जना व्यक्ति लुटपाट कार्यमा संलग्न रहेको अभियोगमा पक्राउ परेका हुन्। पक्राउ पर्ने अधिकांश कोटेश्वर बस्ने रहेका छन्।

प्रहरीका अनुसार भाटभटेनी सुपरमार्केटमा लुटपाट मच्चाएर मदिरा लुटेको आरोपमा धनुषा मथिला नगरपालिका वडा नम्बर ६ ढल्केबर घर भई हाल काठमाडौं महानगरपालिका वडा नम्बर ३२ कोटेश्वर बस्ने आशिष सिंह पक्राउ परेका छन्। उनको साथबाट १ थान ब्ल्याकलेवल मदिरा र २ थान जैक डेनियल ब्रान्ड व्हिस्की बरामद गरिएको प्रहरीले जनाएको छ।

त्यस्तै ४ वटा बियर लुटेको आरोपमा सर्लाही बरथहवाका प्रेमकुमार महतो पक्राउ परेका छन्। कोटेश्वर नरेफाँट बस्ने महतोको साथबाट ४ थान बियर बरामद गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।

यर्सागुम्बा ब्रान्डको १ थान मदिरासहित १ भारतीय नागरिक पक्राउ परेका छन्। नरेफाँट नै बस्ने भारत बिहारका रवि रञ्जन कुमार यर्सागुम्बा ब्रान्डको रक्सीसहित प्रहरीको नियन्त्रणमा पुगेका हुन्।

भाटभटेनीबाट हाफ पाइन्ट र ट्राउजर लुटेको आरोपमा नुवाकोटका सुशिल कुमार र ट्रे, क्यारेटसहित कोटेश्वर बस्ने धरानकी एलिसा राई पक्राउ परेकी छिन्। भाटभटेनीबाट क्यारेट लुटेकै आरोपमा नरेफाँट बस्ने बालकुमारी कार्कीलाई पनि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको छ।

कोटेश्वर नरेफाँट नै बस्ने सिन्धुली तिनपाटनकी चित्रमाया बस्नेत र सुस्मिता बराल लिपस्टिक, गाजल र ऐना लुटेको आरोपमा पक्राउ परेका छन्। त्यस्तै नरेफाँट नै बस्ने सिन्धुपाल्चोकका निर्मल कार्की पनि भाटभटेनी सुपरमार्केट लुटपाट गरेको अभियोगमा पक्राउ परेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ। प्रहरीले भाटभटेनी सुपरमार्केट लुटपाट गरेको अभियोगमा पक्राउ परेका ९ जनाको नाम सार्वजनिक गरेको हो।

शुक्रबार राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियानमाका केन्द्रीय अध्यक्ष दुर्गाप्रसाईको नेतृत्वमा राजावदी समूहसहितको संयुक्त आन्दोलनका क्रममा कोटेश्वरस्थित भाटभटेनी सुपरमार्केट तोडफोड गरेपश्चात लुटपाटमा संलग्न भइ फरार भएका व्यक्तिहरूलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।

 

 

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ