डा. सेनेन्द्रराज, डा. गुणराज अध्यक्ष बनेको स्वास्थ्य बीमा बोर्डमा सूर्यका भाइ चन्द्र


समाचार टिप्पणी

काठमाडौं। पूर्वस्वास्थ्य सचिव डा. सनेन्द्रराज उप्रेती, अतिरिक्त स्वास्थ्य सचिव डा. गुणराज लोहनी अध्यक्ष भइसकेको स्वास्थ्य बीमा बोर्डको अध्यक्ष एमाले नेता सूर्यबहादुर थापा क्षेत्रीका भाइ चन्द्रबहादुर थापा क्षेत्रीलाई बनाइएको छ। डा. सेनेन्द्र र डा. गुणराजले नेतृत्व गरिसकेको बोर्डमा सूर्यका भाइ चन्द्रलाई नियुक्ति गरेपछि स्वास्थ्य क्षेत्रमा चर्चा परिचर्चा हुन थालेको हो।

स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदिप पौडेलले स्वास्थ्य बीमालाई आफ्नो ‘ड्रिम प्रोजेक्ट’ मान्ने गरेका छन्। तर, स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा एमाले नेता सूर्य थापाका भाइ चन्द्रलाई नियुक्ति गरेपछि उनको ‘ड्रिम’ सपनामै सीमित हुने जोखिम बढेको स्वास्थ्यका अधिकारीहरू टिप्पणी गर्छन्।

स्वास्थ्य सचिव भइसकेका डा. सेनेन्द्र र अतिरिक्त सचिवबाट अवकाशप्राप्त डा. गुणराजको सम्हालेको उक्त पदमा सूर्यका भाइ चन्द्र पुगेपछि ओज नै घटेको टिप्पणी हुन थालेको छ। तिलगंगा आँखा प्रतिष्ठानमा पढाउने चन्द्रलाई स्वास्थ्य बिमा बोर्डको अध्यक्ष नियुक्त गरेपछि स्वास्थ्य बीमा क्षेत्रका विज्ञहरूले सरकारको आलोचना समेत गरेका छन्।

स्वास्थ्य बीमा बोर्डको पहिलो अध्यक्ष राष्ट्रिय योजना आयोगका सदस्य समेत भइसकेका डा. उमाशंकर प्रसाद बनेका थिए। त्यसपछि डा. सेनेन्द्रराज उप्रेती र डा. गुणराज लोहनी अध्यक्ष बने। स्वास्थ्य बीमा बोर्डको अध्यक्षबाट डा. उमाशंकर, सेनेन्द्रराज र गुणराजले बीचैमा राजीनामा दिएर हिँडेका थिए। विगतका अध्यक्षको नजिर हेर्ने हो भने चन्द्र कति बेला ओझेलमा पर्छन् भन्न सकिन्न। तर, उनको नियुक्तिलाई लिएर स्वास्थ्य बीमामाथि नै प्रश्न उठ्न सुरू भएको छ। पछिल्लो नियुक्त हेर्दा स्वास्थ्य बीमामा सरकार अझै पनि गम्भीर छैन भन्ने देखाउँछ।

क्याटेगोरी : समाचार
ट्याग : #चन्द्रबहादुर थापा क्षेत्री, #डा. उमाशंकर प्रसाद, #डा. गुणराज लोहनी, #डा. सेनेन्द्रराज उप्रेती, #स्वास्थ्य बीमा बोर्ड

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ