अवकाशको मुखमा रहेका सहसचिवहरू मन्त्रालय तानिदै

काठमाडौं। अवकाशको मुखमा रहेका सहसचिवहरू भटाभट मन्त्रालय तानिन थालेका छन्। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले अवकाशको मुखमा रहेका सहसचिव मन्त्रालय तानेलगत्तै गृह मन्त्रालयले पनि त्यस्तै गरेको छ। श्रम मन्त्रालयले वैदेशिक रोजगार विभागका महानिर्देशक सूर्यबहादुर खत्रीलाई मन्त्रालय तानेलगत्तै गृह मन्त्रालयले पनि कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद सापकोटालाई मन्त्रालय तानेको हो।
वैदेशिक रोजगार विभागका महानिर्देशक रहेका खत्री २०८२ वैशाख १० गते ५८ वर्षे उमेर हदका कारण अनिवार्य अवकाश जाँदै थिए। महानिर्देशक खत्रीको पछिल्लो गतिविधि विवादित बन्दै गएपछि उनलाई मन्त्रालय तानिएको हो। वैदेशिक रोजगार विभागको महानिर्देशक भने जीवलाल भुसाललाई पठाइएको छ। सहसचिव भुसाल श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको वैदेशिक रोजगार व्यवस्थापन महाशाखा प्रमुखको भूमिकामा थिए। खत्री गत वर्ष मात्र सहसचिवमा बढुवा भएका थिए।
त्यस्तै २०८२ वैशाख २९ गते अनिवार्य अवकाशमा जान लागेका कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी (सिडिओ) नारायणप्रसाद सापकोटा गृह मन्त्रालय तानिएका छन्। कञ्चनपुरको सिडिओमा भने मन्त्रालयको जगेडामा रहेका सहसचिव लक्ष्मण ढकाललाई पठाइएको छ। सिडिओ सापकोटा कञ्चनपुरबाट १० महिनामै गृह मन्त्रालय तानिएका हुन्। उनी २०७८ सालमा सहसचिवमा बढुवा भएका थिए। अवकाश हुनुभन्दा १ महिना अघि नै सापकोटा गृह मन्त्रालयमा तानिएका छन्।
क्याटेगोरी : समाचारट्याग : #नारायणप्रसाद सापकोटा, #सहसचिव महानिर्देशक सूर्यबहादुर खत्री, #सहसचिव सिडिओ नारायणप्रसाद सापकोटा
तपाईको प्रतिक्रिया दिनुहोस