१२:१५ बजेदेखि नेपाल बार एसोसिएसन निर्वाचनको मतगणना सुरू


काठमाडौं। नेपाल बार एसोसिएसन नयाँ कार्यसमितिका लागि भएको निर्वाचनका लागि मतगणना १२:१५ बजेदेखि सुरु हुने भएको छ। नेपाल बार एसोसिएसन निर्वाचन समितिका सदस्य चन्द्रबहादुर शाहीका अनुसार १२:१५ बजेदेखि मतगणना सुरू हुने सहमति भएको हो। चैत २३ गते शनिबार सम्पन्न चुनावको सोमबारदेखि मतगणना सुरू हुन लागेको हो।
नेपाल बार एसोसिएसनको आगामी निर्वाचनमा विजयप्रसाद मिश्र र रमणकुमार श्रेष्ठको ‘प्यानल’बीच मुख्य प्रतिस्पर्धा रहेको छ। नेपाली कांग्रेस निकट कानुन व्यवसायीहरूको संस्था ‘डीएलए’ र नेकपा एमाले निकट संगठन ‘पीपीएलए’को गठबन्धनबाट अध्यक्षमा मिश्र उठेका छन्। नेकपा माओवादी केन्द्र निकट कानुन व्यवसायीहरूको संगठन ‘आरपीएल’ र राष्ट्रिय स्वतन्त्र पार्टी निकट कानुन व्यवसायीहरूको समेत समर्थनमा रमणकुमार श्रेष्ठ अध्यक्षमा उठेका हुन्। अध्यक्षका उम्मेदवार मिश्र र श्रेष्ठ दुवैजना नेपाल बार एसोसिएसनका महासचिव भइसकेका व्यक्ति हुन्। बारको अध्यक्षका लागि राजु कैती, उज्जवल घिमिरे र आशिष पौडेलले समेत उम्मेदवारी रहेको छ। सत्ता गठबन्धन अथवा मिश्रको प्यानलबाट केदारप्रासद कोइराला र विपक्षी गठबन्धन श्रेष्ठको प्यानलबाट यज्ञमणि न्यौपाने महासचिवको उम्मेदवार रहेका छन्। बारको कोषाध्यक्षमा मिश्रको प्यानलबाट जगतबहादुर कार्की र श्रेष्ठको प्यानलबाट दिपक राई उम्मेदवार रहेका छन्। महिला उपाध्यक्षमा सरस्वती श्रेष्ठ र दिना श्रेष्ठ प्रतिस्पर्धामा छन्। बागमतीको उपाध्यक्षमा तेजबहादुर रावल र डेकेन्द्रप्रसाद सुवेदी उम्मेदवार हुन्।

बार एसोसिएसनको नयाँ कार्यसमितिका लागि भएको निर्वाचनमा ७ हजार ९ सय ९ सय ९५ मत  खसेको मत छ। ९ हजार ९ सय ९७ मतदाता रहेकोमा झन्डै ८० प्रतिशत मत खसेको हो। सबैभन्दा बढी उच्च बार पाटन १ हजार ५ सय ५८, काठमाडौं जिल्ला बार एसोसिएसनबाट १ हजार ३ सय ८१, ललितपुर जिल्ला अदालत बारबाट ५ सय ६० र सर्वोच्च अदालत बार एशोसिएसनबाट ५ सय ५० मत खसेको निर्वाचन समितिले जनाएको छ।भक्तपुरबार ३ सय ८८ र केन्द्र परिवर्तनको २ सय ६ गरी उपत्यकामा ४ हजार ६ सय ४३ मत खसेको हो। उपत्यका बाहिर ३ हजार ३ सय ५२ मत खसेको निर्वाचन समितिले जनाएको छ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ