गृहको बरण्डामा १ दर्जन बढी सहसचिव, सहसचिवको दरबन्दीमा पहुँचवाला उपसचिव सिडिओको राइँदाइँ


काठमाडौं। गृह मन्त्रालयको बरण्डामा १ दर्जन बढी सहसचिव पुगेका छन्। सहसचिवको दरबन्दीमा उपसचिव प्रमुख जिल्ला अधिकारी (सिडिओ)ले राइँदाइँ गरेपछि सहसचिवहरू गृह मन्त्रालयको बरण्डामा थन्किएका हुन्।

मोरङको सिडिओबाट मन्त्रालय आएका सहसचिव प्रेमप्रसाद भट्टराई र झापाका सिडिओबाट फिर्ता बोलाइएका बन्धुप्रसाद बाँस्तोला ३ महिनादेखि गृहको बरण्डामा ‘घाम’ तापिरहेका छन्। अर्थ मन्त्रालयबाट गृह मन्त्रालय प्रवेश गरेका नारायणप्रसाद रिसालको हालत पनि उस्तै छ। भट्टराई र बाँस्तोलासँगै गृह मन्त्रालयमा सरूवा भएर आएका सहसचिवहरू सुनसरीका सिडिओ रामचन्द्र तिवारी र काठमाडौंका सिडिओ जयनारायण आचार्यले भने मन्त्रालयको महाशाखा पाइसकेका छन्।

गृह मन्त्रालयमा अहिले सहसचिव रामकृष्ण अधिकारी १ महिनादेखि जगेडामा छन्। उनी नुवाकोटको सिडिओबाट मन्त्रालय तानिएका हुन्। चैतको पहिलो साता सुर्खेतका सिडिओ सहसचिव शंकरहरि आचार्य, नवलपरासी (बर्दघाट सुस्ता पूर्व)का सिडिओ अरूण पोखरेल, बाग्लुङका सिडिओ नेत्रप्रसाद सुवेदी र पर्वतका सिडिओ केदारनाथ शर्मा गृह मन्त्रालय तानिएका थिए। उनीहरूसँगै गृह मन्त्रालय तानिएका कपिलवस्तुका सिडिओ विश्वप्रकाश अर्याल भने सिरहाको सिडिओ भएर गइसकेका छन्। सिरहाका सिडिओ सहसचिव बासुदेव दाहाल गृह मन्त्रालयको जगेडामा आइपुगेका हुन्।

हालै कञ्चनपुरको सिडिओबाट तानिएका नारायणप्रसाद सापकोटा, लमजुङको सिडिओबाट सारिएका बुद्धबहादुर गुरूङ र स्याङ्जाको सिडिओबाट फिर्ता बोलाईएकी सहसचिव सुनिता नेपाल पनि गृह मन्त्रालयको बरण्डामा थपिएका छन्। उनीहरू गृहको बरण्डामा हाजिर भइसकेका छैनन्। अवकाशको मुखमा रहेका सापकोटाको हिसाब नभएपनि गुरूङ र नेपाल गृहको बरण्डामा रहेका सहसचिवमा गन्ती हुनेछन्।

एकैदिन गृह मन्त्रालय पुगेका सहसचिवहरू नरहरि घिमिरे, विजयराज सुवेदी, दिव्यराज पोखरेल, प्रेमप्रसाद लुइँटेल,भविश्वर पाण्डे, दिलकुमार तामाङ, जगदिश्वर उपाध्याय, धर्मराज जोशी, आनन्द सारू, कुमानसिंह गुरुङ, लक्ष्मण ढकाल, दीपकराज नेपाल, वेदप्रसाद खरेल, ईश्वरीप्रसाद अर्याल र माधवप्रसाद पोखरेलले सिडिओको जिम्मेवारी पाएका छन्। त्यहिँ दिन गृह छिरेका सहसचिव बलराम रिज्याल र सुरेन्द्र पौडेल भने अझै गृह मन्त्रालयको बरण्डामै हल्लिरहेको अवस्थामा भेटिन्छन्।

नरहरि घिमिरे खोटाङको प्रमुख जिल्ला अधिकारी, विजयराज सुवेदी ओखलढुङ्गा र दिव्यराज पोखरेल संखुवासभाको प्रमुख जिल्ला अधिकारी भएर गएका छन्। सहसचिवहरू प्रेमप्रसाद लुइँटेल उदयपुरको सिडिओ, भविश्वर पाण्डे नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को सिडिओ, धर्मराज जोशी बाँकेको सिडिओ, आनन्द सारू अछामको सिडिओ र कुमानसिंह गुरूङ बाग्लुङ्गको सिडिओ भएर गएका हुन्।

सहसचिवहरू लक्ष्मण ढकाल कञ्चनपुरको सिडिओ, दीपकराज नेपाल प्युठानको सिडिओ, वेदप्रसाद खरेल अर्घाखाँचीको सिडिओ, माधवपसाद पोखरेल लम्जुङ्गको सिडिओ र ईश्वरीप्रसाद अर्या ल स्याङ्जाको भएका छन्। सँगै गृह छिरेका सहसचिवहरू बलराम रिज्याल र सुरेन्द्र पौडेल भने बरण्डाबाटै आफूसँगै गृह छिरेका सहसचिव साथीहरू सिडिओ बनेर गएको दृश्य हेरेको हेरै भएका हुन्।

सहसचिवको दरबन्दी रहेका अछाम, प्युठान र अर्घाखाँचीबाट उपसचिव सिडिओलाई हटाएर सहसचिव पठाइएको छ। अछामका सिडिओ उपसचिव शिवप्रसाद लम्साललाई गृह मन्त्रालय फिर्ता बोलाएर सहसचिव आनन्द सारूलाई त्यहाँको सिडिओ बनाएर पठाइएको छ। प्युठानको सिडिओ रहेकी उपसचिव रमा आचार्य (सुवेदी)लाई गृह मन्त्रालय तानेर उक्त जिल्लाको सिडिओमा सहसचिव दिपकराज नेपाललाई पठाइएको हो। त्यस्तै अर्घाखाँचीका सिडिओ बाबुराम अर्याललाई गृह मन्त्रालय तानेर अर्यालको ठाउँमा सिडिओ बनाएर मन्त्रालयको जगेडामा रहेका सहसचिव वेदप्रसाद खरेललाई पठाइएको छ।

अझै पनि सहसचिवको दरबन्दी रहेका डडेलधुरा, डोटी, बैतडी, सल्यान, जुम्ला, दैलेख र रामेछापका उपसचिव सिडिओ हटाउन गृह मन्त्रालय असफल भएको छ। डडेलधुराको सिडिओ उपसचिव चोमेन्द्र न्यौपाने, डोटीको सिडिओ उपसचिव मोहनराज जोशी, बैतडीको उपसचिव दिर्घराज उपाध्याय, सल्यानको सिडिओ सावित्रा पुन, जुम्लाका सिडिओ उपसचिव रामबहादुर शाही, दैलेखको सिडिओ उपसचिव नवराज जैसी र रामेछापको उपसचिव राजुप्रसाद पौडेल रहेका छन्। गृह मन्त्रालयको जगेडामा १ दर्जन बढी सहसचिव हुँदा पनि सहसचिवको दरबन्दीमा यी उपसचिवहरूको रजगज चलिरहेको पाइन्छ। यसले गृह प्रशासनको बेथितिलाई राम्रोसँग उजागर भएको छ। गृहमन्त्री रमेश लेखक र गृह सचिव गोकर्णमणि दुवाडीको सुशासन सहसचिवलाई जगेडामा थन्क्याइदिएर सिडिओ बनेर जाने उपसचिवहरूले प्रस्ट देखाइदिएका छन्।

प्रेमप्रसाद भट्टराई, बन्धुप्रसाद बाँस्तोला, नारायणप्रसाद रिसाल, रामकृष्ण अधिकारी, बलराम रिज्याल, सुरेन्द्र पौडेल, नेत्रप्रसाद सुवेदी, केदारनाथ शर्मा, शंकरहरि आचार्य, अरूण पोखरेल, बासुदेव दाहाल, नारायणप्रसाद सापकोटा, बुद्धबहादुर गुरूङ, सुनिता नेपाल, विश्वप्रकाश अर्याल

क्याटेगोरी : समाचार
ट्याग : #अरूण पोखरेल, #केदारनाथ शर्मा, #नारायणप्रसाद रिसाल, #नारायणप्रसाद सापकोटा, #नेत्रप्रसाद सुवेदी, #प्रेमप्रसाद भट्टराई, #बन्धुप्रसाद बाँस्तोला, #बलराम रिज्याल, #बासुदेव दाहाल, #बुद्धबहादुर गुरूङ, #रामकृष्ण अधिकारी, #विश्वप्रकाश अर्याल, #शंकरहरि आचार्य, #सुनिता नेपाल, #सुरेन्द्र पौडेल

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ