परराष्ट्रमा सहसचिवको ‘माछाबजार’मा मिसिए दिपक र सुरेन्द्र

काठमाडौं। परराष्ट्र मन्त्रालयमा सहसचिवको ‘माछाबजार’ नै लागेको छ। दरबन्दीभन्दा बढी सहसचिव हुँदा परराष्ट्र मन्त्रालय ‘माछाबजार’ जस्तो देखिएको हो। परराष्ट्रमा अनावश्यक सहसचिव थपिँदा सवारी साधनदेखि अन्य आवश्यक कुरा व्यवस्था गर्न अर्थ मन्त्रालयलाई समेत कठिनाइ भइरहेको छ। भन्सारमा तथा अर्थ मन्त्रालयका अन्य निकायमा रहेका गाडी परराष्ट्रका सहसचिवहरूलाई दिन धुइपताल खोज्ने काम भइरहेको हो। परराष्ट्रका सहसचिवलाई सुविधा जुटाउन अर्थका अधिकारीहरू पनि हैरान भएका छन्।
यस्तो अस्तव्यस्त रहेको परराष्ट्रमा सहसचिवको माछाबजारमा अहिले दिपक विक र सुरेन्द्रकुमार यादव मिसिएका छन्। दिपक हालै दलित कोटाबाट परराष्ट्र सेवाको सहसचिव बनेका हुन्। सुरेन्द्र बेइजिङबाट फर्किएका छन्। बेइजिङस्थित आवासीय नेपाली राजदूतावासको नियोग उपप्रमुख रहेका यादव दुई वर्ष पनि नबसी परराष्ट्रको माछा बजारमा मिसिन आइपुगेका हुन्।
परराष्ट्र सेवामा एक अवधि भनेको ४ वर्ष हो। तर, यादव २ वर्ष नै नभई बेइजिङबाट मन्त्रालय फिर्ता भएका छन्। यसले परराष्ट्र सेवामा बेथिति मौलाउन थालेको छ। पूरा अवधि नखाई अर्कोतिर ‘जम्प’ गर्न नियोगलाई भऱ्याङ बनाउँदा राज्यले समेत ठूलो क्षति व्यहोर्नु परेको छ। त्यहाँको राजनीति, सामाज, भाषा, नेपाललाई हुने आर्थिक लाभ सबै बुझोस् भनेर सम्बन्धित देशमा पठाउने गरिन्छ। तर, केही नबुझी अर्को ठाउँमा लाभ लिन ‘जम्प’ हान्दा राज्यले आर्थिक क्षति समेत व्यहोर्नु परेको हो। एक अवधि पूरा नगरी फर्किने अधिकारीलाई महत्त्वपूर्ण ठाउँमा पठाउनु भनेका अख्तियारको दुरुपयोग समेत हो। आउने-जाने जहाज भाडादेखि सामान ढुवानीलगायत सबै खर्च राज्यले व्यहोर्छ। आफूलाई विशिष्ट किसिमको ठान्ने परराष्ट्र सेवामा भने ‘बिरालो’ले बच्चा सारे जस्तो ४ वर्षे अवधिका लागि पठाइएकोलाई सार्न थालिएको छ।
परराष्ट्र मन्त्रालयमा रातारात ११ वटा सहसचिव दरबन्दी थपिएको थिए। सहसचिवको विज्ञापनका लागि लोक सेवा आयोगमा पठाउँदा १४ वटा दरबन्दी देखाइयो। त्यहीँ अनुसार अहिले १४ जना नै सहसचिवहरू परराष्ट्रको माछाबजारमा आइपुगेका छन्।
पुष्पराज भट्टराई, मणिरन्त शर्मा, लोकबहादुर पौडेल क्षेत्री, किरण शाक्य, दुरपदा सापकोटा, दधिराम भण्डारी, हरिप्रसाद ओडारी, प्रकाश अधिकारी, डमरुबल्लभ पौडेल, पारस पण्डित, ईला मैनाली, रोशन खनाल, रोजिना ताम्राकार र दिपक विक यो वर्ष परराष्ट्रमा थपिएका सहसचिव हुन्। राजदूतबाट फर्किएका गेहन्द्र राजभण्डारी, तापस अधिकारी र रामकाजी खड्का समेत परराष्ट्र मै मिसिएका छन्। त्यसो त परराष्ट्रमा १५ वटा महाशाखा बनाइँदा आफैंमा माछा बजार थियो। त्यसमा पनि राजदूतबाट फिर्ता आउनेले गर्दा दरबन्दीभन्दा बढी सहसचिव मन्त्रालयमा भए। त्यसमाथि पनि बेइजिङबाट अर्को पोस्टिङ खान यादव नेपाल फर्किएका छन्। पछिल्लो दिनमा यतिका धेरै सहसचिव भेला हुँदा परराष्ट्र मन्त्रालय माछाबजार बन्न पुगेको हो।
सहसचिवहरू कुमारराज खरेल, पुष्पराज भट्टराई, लोकबहादुर पौडेल क्षेत्री, किरण शाक्य, दुरपदा सापकोटा, हरिप्रसाद ओडारी, प्रकाश अधिकारी, डमरूबल्लभ पौडेल, पारस पण्डित, ईला मैनाली, रोशन खनाल, रोजिना ताम्राकार र दिपक विक मन्त्रालयको जगेडामा रहेका छन्। उक्त जगेडामा सुरेन्द्र यादव पनि थपिएका हुन्।
क्याटेगोरी : समाचार, सार्वजनिक सरोकार
ट्याग : #ईला मैनाली, #किरण शाक्य, #डमरुबल्लभ पौडेल, #दधिराम भण्डारी, #दिपक वि. क., #दुरपदा सापकोटा, #परराष्ट्र माछाबजार, #पारस पण्डित, #पुष्पराज भट्टराई, #प्रकाश अधिकारी, #मणिरन्त शर्मा, #रोजिना ताम्राकार, #रोशन खनाल, #लोकबहादुर पौडेल क्षेत्री, #सुरेन्द्रकुमार यादव, #हरिप्रसाद ओडारी
तपाईको प्रतिक्रिया दिनुहोस