उद्योगमन्त्री भण्डारी व्यापारीको इशारामा चल्दा सिमेन्टदेखि सुर्तीसम्म झेल
जनस्वास्थ्यमाथि गम्भीर खेलबाड

समाचार टिप्पणी
काठमाडौं। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी एकपछि अर्को विवादमा तानिन थालेका छन्। सिमेन्ट, डण्डीको मूल्यबृद्धिदेखि सुर्तीजन्य पदार्थको प्याकेजिङमा खुलेआम उद्योगी र कालोबजारीको पक्षमा उभिएपछि मन्त्री भण्डारी विवादमा तानिएका हुन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सूर्तीजन्य पदार्थको बाहिरी प्याकेटमा शतप्रतिशत चेतावनीमूलक सन्देश तथा चित्रहरू राख्नुपर्ने निर्देशिका निस्तेज पार्न उद्योगमन्त्री भण्डारी सक्रिय भएपछि नेपाल चिकित्सक संघले समेत आपत्ति जनाएको छ।
उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बोल्दै मन्त्री भण्डारी सिमेन्ट मूल्यवृद्धिबारे उद्योगमन्त्री उद्योगीको पक्षमा नबोलेर कसको पक्षमा बोल्छ त भन्दै खुलेआम उद्योगी र कालोबजारीको पक्षपोषण गरेका थिए। मूल्य निर्धारण खुला बजारले गर्ने भन्दै उद्योगमन्त्री अत्यावश्यक वस्तुको मूल्यबृद्धि रोक्ने कुरामा लाचार मात्र देखिएका छैनन् खुलेआम कार्टेलिङ गर्ने उद्योगेको पक्षमा वकालत गरिरहेका छन्।
यसैबीच उद्योगमन्त्री भण्डारीको सक्रियतामा भएको एउटा निर्णयले भने स्वास्थ्य क्षेत्र तरंगित भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा जारी सूर्तीजन्य पदार्थको बट्टा, प्याकेज, ऱ्यापर्स, पेटी तथा पार्सल प्याकेजिङमा सतप्रतिशत चेतावनीमूलक सन्देश तथा चित्र छाप्ने निर्देशिका, २०८१ लाई कार्यान्वयनमा नलान उद्योगमन्त्री भण्डारी लागिपरेका छन्।
उद्योगमन्त्रीस्तरीय निर्णयबाटै उद्योग व्यवसायलाई प्रभाव पर्ने कुनै नयाँ व्यवस्था नगर्नेगरी सहज औद्योगिक वातावरणका लागि उक्त निर्देशिका कार्यान्वय नगर्न र पुनरावलोकन गर्न उद्योग मन्त्रालयले स्वास्थ्य मन्त्रालयलाई पत्रचार गरेको छ। उद्योगमन्त्री सुर्तीजन्य पदार्थको व्यापार प्रवर्द्धनमा लागेर स्वास्थ्य मन्त्रालयमाथि दबाब बढाउन थालेका छन्।
उद्योग विभाग समेत सूर्ती व्यपारीको पक्षमा उभिएको देखिन्छ। सुपारी, मरिच, केराउदेखि हरेक विषयमा व्यापारीको पक्षमा उभिएको उद्योग विभाग र मन्त्रालय सुर्तीमा पनि उदांगिएको छ। सुर्तीजन्य पदार्थ नियन्त्रण र प्रयोगमा निस्तेज पार्नुपर्नेमा उद्योग मन्त्रालय स्वास्थ्य मन्त्रालयले जारी गरेको निर्देशिका निस्तेज पार्न लागिपरेको देखिन्छ।
धुम्रपान तथा सुर्तीजन्य पदार्थको उपभोगले मुटुरोग, दम, मुख तथा फोक्सोको क्यान्सरलगायत गम्भीर स्वास्थ्य समस्या उत्पन्न भई नेपालमा हजारौंको सङ्ख्यामा मानिसहरूको ज्यान गइरहेको छ। क्यान्सरको उपचार मात्र नभई रोकथाम गर्नका लागि सुर्तीजन्य पदार्थको प्याकेटमा शतप्रतिशत चेतावनीमूलक सन्देश तथा चित्रहरू राख्नुपर्ने नियम लागू गर्न नेपाल चिकित्सक संघले समेत सरकारसँग माग राखेको छ। तर, उद्योग मन्त्रालय भने सुर्ती उद्योगीको पक्षमा लागेर जनस्वास्थ्यमाथि गम्भीर खेलबाड गरिरहेको छ।
उद्योगमन्त्रीले सुर्तीजन्य पदार्थ प्रवर्द्धन गर्ने उद्देश्यले स्वास्थ्य मन्त्रालयलाई पत्रकार गरेको देखिन्छ। यो विषयमा संसदीय समितिले तत्काल छानबिन गर्न जरूरी देखिन्छ। उद्योगमन्त्री उद्योगीको पक्षमा उभिन्छ भन्दैमा जनस्वास्थ्यमाथि खेलबाड गर्न पाइँदैन।
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस