नेपाल बार निर्वाचन: मत गनिनसक्दै विजयी भएकाे टिम मिश्र

काठमाडौं। नेपाल बार एशोसिएसन निर्वाचनको अन्तिम परिणाम सार्वजनिक हुन लागेको छ। अहिले ५६० मत खसेको ललितपुर जिल्ला अदालत बारको मतगणना जारी छ। ललितपुर जिल्ला बारबाहेक सबै बारको मत मरिणाम सार्वजनिक भइसकेको छ।
ललितपुरबाहेकको मत परिणाम सार्वजनिक हुँदा कांग्रेस निकट डीएलए र एमाले निकट पीपीएलएका तर्फबाट अध्यक्षका उम्मेदवार विजयप्रसाद मिश्रले ४८९२ मत ल्याएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी रमणकुमार श्रेष्ठले २२२९ मत ल्याएर विजयलाई पछ्याइरहेका छन्। विजय र रमणबीच २६६३ मतान्तर रहेको छ। ५६० मतको परिणाम सार्वजनिक हुनु अगाडि नै २६६३ मतान्तर रहेकाले मिश्र विजयी भइसकेका छन्।
महासचिवमा विजय प्यानल कै केदारप्रसाद कोइरालाले ४७०४ मत पाएका छन्। रमण प्यानलका महासचिव यज्ञमणि न्यौपानेले २०२९ मत ल्याएका हुन्। महासचिवमा २६७५ मतान्तर रहेको छ।
कोषाध्यक्षमा जगतबहादुर कार्कीले ४९४० मत पाउँदा दिपक राईले १५८१ मत ल्याएका छन्। बागमती उपाध्यक्षमा तेजबहादुर रावलले ४८५२ मत ल्याउँदा डेकेन्द्र सुवेदी २०८१ मत पाएका छन्। महिला उपाध्यक्षमा सरस्वती श्रेष्ठले ४४६० मत ल्याउँदा दिना श्रेष्ठले २३९४ मत प्राप्त गरेकी छिन्।
उपाध्यक्षमा कोशी प्रदेशबाट अधिवक्ता पदमप्रसाद लिम्बु, मधेश प्रदेशबाट अधिवक्ता अजयशंकर झा, गण्डकी प्रदेशबाट अधिवक्ता भूपेन्द्र खनाल, लुम्बिनी प्रदेशबाट अधिवक्ता कृष्णप्रसाद पोखरेल, कर्णाली प्रदेशबाट अधिवक्ता विवसकुमार बस्नेत र सुदूरपश्चिम प्रदेशबाट उपाध्यक्षमा अधिवक्ता सिद्धराज ओझा निर्वाचित भएका छन्।
दलित सदस्यमा मिश्र प्यानल कै अधिवक्ता चिरञ्जीवी तिलक्यानी निर्वाचित भएका छन्। मधेशी/मुस्लिम काठमाडौं सदस्यमा उपत्यका बाहिरबाट अधिवक्ता सूर्यकुमार यादव र मधेशी/मुस्लिम खुला सदस्यमा अधिवक्ता रिंकुकुमारी यादव विजयी भएकी हुन्।
आदिवासी/जनजाति काठमाडौं उपत्यकाबाहिरबाट सदस्यमा वरिष्ठ अधिवक्ता राजकुमार श्रेष्ठ र आदिवासी/जनजाति खुला सदस्यमा अधिवक्ता मंगलकुमार शिल्पकार निर्वाचित भएका छन्। काठमाडौं उपत्यकाबाहिरबाट महिला सदस्यमा अधिवक्ता इन्दिरा आचार्य र महिला खुला सदस्यमा रन्जित कार्की विजयी भएका हुन्। काठमाडौं उपत्यकाबाहिरबाट सदस्यमा किरण पौडेल निर्वाचित भएका छन्।
६ जना आवश्यक पर्ने खुला सदस्यमा अधिवक्ता किरण न्यौपाने, अधिवक्ता शारदा गुरूङ, अधिवक्ता दमनबहादुर चन्द, अधिवक्ता बाबुराम अर्याल, अधिवक्ता डा. मुकुन्द अधिकारी र अधिवक्ता माधव मैनाली निर्वाचित भएका छन्। निर्वाचित यी सबै मिश्र प्यानल कै हुन्। निर्वाचनको अन्तिम परिणाम घोषणाको तयारी हुँदैछ।
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस