नेपाल बारको निर्वाचनमा वरिष्ठ अधिवक्ता विजयप्रसाद मिश्रको प्यानल नै विजयी
अध्यक्षमा विजय र रमणबीच २४३१ मतान्तर

काठमाडौं। नेपाल बार एसोसिएसनको निर्वाचनमा वरिष्ठ अधिवक्ता प्राध्यापक विजयप्रसाद मिश्रको प्यानल नै विजयी भएको छ। नेपाल बार एसोसिएसनको २७ औं केन्द्रीय कार्यसमिति निर्वाचनको अन्तिम मत परिणाम घोषणा हुँदा अध्यक्षसहित २५ वटै पदमा मिश्रको प्यानल विजयी भएको हो।
बृहत्त लोकतान्त्रिक, प्रगतिशील, पेशागत, राष्ट्रवादी एवं समावेशी कानुन व्यवसायी समूह नाम दिइएको मिश्रको प्यानलले रमणकुमार श्रेष्ठको विपक्षी गठबन्धनलाई सबै सिटमा शून्य बनाइदिएको हो।
कांग्रेस निकट डीएलए र एमाले निकट पीपीएलएका तर्फबाट अध्यक्षका उम्मेदवार रहेका विजयप्रसाद मिश्रले रमणकुमार श्रेष्ठलाई भारी मतले पराजित गरेका छन्। विजय ५०५२ मत ल्याएर विजयी भएका हुन्। मिश्र र निकटतम प्रतिद्वन्द्वी श्रेष्ठबीच २४३१ मतान्तर रहेको छ। अन्तिम मत परिणाम सार्वजनिक हुँदा रमणको २६२१ मत आएको छ।
महासचिवमा मिश्र प्यानल कै वरिष्ठ अधिवक्ता केदारप्रसाद कोइराला विजयी भएका छन्। कोइरालाले रमण प्यानलका यज्ञमणि न्यौपानेलाई पराजित गरेका हुन्। कोइरालाले ४८७४ मत पाएका छन्। न्यौपानेले २३६७ मत पाएका छन्। कोइराला र न्यौपानेबीच २४०७ मतान्तर रहेको छ।
कोषाध्यक्षमा मिश्र प्यानल कै वरिष्ठ अधिवक्ता जगतबहादुर कार्की निर्वाचित भएका छन्। उनको ५०८७ मत आएको छ। कार्कीले रमण प्यानलका अधिवक्ता दिपक राईलाई ३१३७ मतान्तरले हराएका छन्। दिपकको मत १९५० आएको छ। कोषाध्यक्षमा अध्यक्ष र महासचिवभन्दा बढी मतान्तर भएको हो।
बागमती प्रदेशको उपाध्यक्षमा मिश्र प्यानलका अधिवक्ता तेजबहादुर रावल विजयी भएका छन्। त्यस्तै उपाध्यक्षमा कोशी प्रदेशबाट अधिवक्ता पदमप्रसाद लिम्बु, मधेश प्रदेशबाट अधिवक्ता अजयशंकर झा, गण्डकी प्रदेशबाट अधिवक्ता भूपेन्द्र खनाल, लुम्बिनी प्रदेशबाट अधिवक्ता कृष्णप्रसाद पोखरेल, कर्णाली प्रदेशबाट अधिवक्ता विवसकुमार बस्नेत र सुदूरपश्चिम प्रदेशबाट उपाध्यक्षमा अधिवक्ता सिद्धराज ओझा निर्वाचित भएका छन्।
दलित सदस्यमा मिश्र प्यानल कै अधिवक्ता चिरञ्जीवी तिलक्यानी निर्वाचित भएका छन्। मधेशी/मुस्लिम काठमाडौं सदस्यमा उपत्यका बाहिरबाट अधिवक्ता सूर्यकुमार यादव र मधेशी/मुस्लिम खुला सदस्यमा अधिवक्ता रिंकुकुमारी यादव विजयी भएकी हुन्।
आदिवासी/जनजाति काठमाडौं उपत्यकाबाहिरबाट सदस्यमा वरिष्ठ अधिवक्ता राजकुमार श्रेष्ठ र आदिवासी/जनजाति खुला सदस्यमा अधिवक्ता मंगलकुमार शिल्पकार निर्वाचित भएका छन्। काठमाडौं उपत्यकाबाहिरबाट महिला सदस्यमा अधिवक्ता इन्दिरा आचार्य र महिला खुला सदस्यमा रन्जित कार्की विजयी भएका हुन्। काठमाडौं उपत्यकाबाहिरबाट सदस्यमा किरण पौडेल निर्वाचित भएका छन्।
६ जना आवश्यक पर्ने खुला सदस्यमा अधिवक्ता किरण न्यौपाने, अधिवक्ता शारदा गुरूङ, अधिवक्ता दमनबहादुर चन्द, अधिवक्ता बाबुराम अर्याल, अधिवक्ता डा. मुकुन्द अधिकारी र अधिवक्ता माधव मैनाली निर्वाचित भएका छन्। निर्वाचित यी सबै मिश्र प्यानल कै हुन्। निर्वाचनको अन्तिम परिणाम घोषणा गर्ने तयारी भइरहेको छ।
यी हुन् ५ हजार क्लबमा पर्नेहरू
नेपाल बार एसोसिएसनको २७ औं केन्द्रीय कार्यसमिति निर्वाचनको अध्यक्ष विजयप्रसाद मिश्रसहित उपाध्यक्ष र कोषाध्यक्ष ५ हजार क्लबमा परेका छन्। महासचिव केदारप्रसाद कोइराला भने ५ हजार क्लबमा प्रवेश गर्न सकेनन्।
अध्यक्षका उम्मेदवार मिश्रले ५०५२, कोशी उपाध्यक्ष पदमप्रसाद लिम्बुले ५२००, मधेश उपाध्यक्ष अजय शंकर झाले ५२५२, बागमती उपाध्यक्ष तेजबहादुर रावलले ५००६, गण्डकी उपाध्यक्ष भूपेन्द्र खनालले ५०५६, लुम्बिनी उपाध्यक्ष कृष्णप्रसाद पोखरेल ५१६७, कर्णाली उपाध्यक्ष विवसकुमार बस्नेत ५०४४, सुदूरपश्चिम उपाध्यक्ष सिद्धराज ओझा ५१५१ मत र कोषाध्यक्ष जगतबहादुर कार्की ५०८७ मत ल्याएर ५ हजार क्लबमा पर्न सफल भएका छन्।
सदस्यमा रिंकुकुमारी यादव ५२३०, राजकुमार श्रेष्ठ ५०७२, इन्दिरा आचार्य ५२५१, किरण पौडेल ५१४८, किरण न्यौपाने ५१७८, शारदा गुरूङ ५१७६, दमनबहादुर चन्द ५०८६ र डा. मुकुन्द अधिकारी ५०४५ ल्याएर ५ हजार क्लबमा पर्न सफल भएका हुन्।
ट्याग : #केदारप्रसाद कोइराला महासचिव नेपाल बार एसोसिएसन, #जगतबहादुर कार्की कोषाध्यक्ष नेपाल बार एसोसिएसन, #तेज रावल, #विजयप्रसाद मिश्र अध्यक्ष नेपाल बार एसोसिएसन, #सरस्तवी श्रेष्ठ
तपाईको प्रतिक्रिया दिनुहोस