अध्ययन अनुसन्धानका आधारमा बन्नुपर्ने नीति भोटका आधारमा बन्छ : शिक्षामन्त्री


काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले राजनीतिक प्रभावले कुनै पनि नीतिलाइ प्रभावित बनाएको बताएकी छन्। नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को एघारौँ शिखर सम्मेलनको उद्घाटन गर्दै मन्त्री भट्टराईले राजनीतिक प्रभावले निति निर्माणहरु प्रभावित हुने गरेको गुनासो गरिन्।

अध्ययन अनुसन्धान नीति निर्माणको आधारशीला र मार्गनिर्देशन भएको मन्त्री भट्टराईको भनाइ छ । मन्त्री भट्टराईले तथ्य र प्रमाणका आधारमा नीति निर्माण गर्ने भन्दा पनि भोटको आधारमा निर्धारण भइरहेको दुखेसो गरिन्। उनले भनिन् “देशका नीति निर्माणहरु अध्ययन अनुसन्धानबाट प्राप्त तथ्याङ्क र प्रमाणका आधारमा तयार हुनुपर्ने हो, तर दुर्भाग्य भोटको भरमा निर्धारण भइरहेका छन्।”

अनुसन्धानकर्ताहरूको निष्कर्षका आधारमा नीति निर्माणहरू तयार भए दिगो हुन्छ भन्नेमा हामी विश्वस्त छौं मन्त्री भट्टराईले भनिन् । त्यसैले अध्ययन र अनुसन्धानमा आधारित नीति निर्माणलाई हामीले संस्थागत गर्नुपर्छ ।

परिषद्का सदस्य सचिव डा. प्रमोद जोशीले काठमाडौंको शिखर सम्मेलनमा एक हजारभन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय वैज्ञानिकहरुको सहभागिता रहेको जानकारी दिए ।

‘स्वास्थ्य, जलवायु र जनसंख्या परिवर्तनः दिगो र समतामूलक भविष्यको लागि उत्थानशील स्वास्थ्य प्रणाली’ भन्ने मूल नाराका साथ हुने उक्त शिखर सम्मेलनमा भारत, चीन, बेलायत, स्वीटजरल्याण्ड, अमेरिकालगायतका देशहरुको वैज्ञानिकहरुको सहभागिता रहेको छ।

सम्मेलनका लागि १४६ वटा मौखिक तथा १२३ वटा पोष्टर प्रस्तुतीकरणका लागि गरी कुल २७६ वटा अब्स्ट्याकहरु प्राप्त भएका थिए । जसमध्ये साइन्टीफिक कमिटीले निर्धारण गरेको मापदण्डका आधारमा ८७ वटा मौखिक प्रस्तुतीकरण र ११५ वटा पोष्टर प्रस्तुतीकरण सम्मेलनमा प्रस्तुत गर्ने कार्यक्रम छ ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ