भूमि सचिव पोखरेल सेवानिवृत्त, पर्यटन सचिव सिंह लाइनमा


काठमाडौं। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव अर्जुनप्रसाद पोखरेल सेवा निवृत्त भएका छन्। सचिवको ५ वर्षे सेवा अवधिका कारण उनी अनिवार्य अवकाशमा गएका हुन्।

 २०७७ वैशाख २ गते प्रशासन सेवाको विशिष्ट श्रेणी सचिवमा बढुवा भएका पोखरेल मंगलबारबाट सेवानिवृत्त भएका छन्। उद्योग, अर्थ जस्ता मन्त्रालयको सचिवको भूमिकामा रहेर काम गरेका पोखरेल अन्तिममा भूमिबाट अवकाशमा गएका हुन्। पोखरेलको ठाउँमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको सहसचिव चन्द्रकला पौडेल सचिवमा बढुवा हुने लाइनमा छिन्।

यहीँ वैशाख महिनामा पोखरेलसहित संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव विनोदप्रकाश सिंह र महालेखा नियन्त्रक डा. गणेशप्रसाद पाण्डे सेवानिवृत्त हुँदैछन्। सिंह वैशाख २५ र पाण्डे वैशाख ३० गते ५८ वर्षे उमेर हदका कारण घर जान लागेका हुन्। सिंहको ठाउँमा अर्थ मन्त्रालयका सहसचिव शोभाकान्त पौडेल र पाण्डेको ठाउँमा वन तथा वातावरण मन्त्रालयका सहसचिव भूपाल बराल बढुवा हुने लाइनमा बसेका छन्। सिंह र पाण्डेले पूरा अवधि सचिव चलाउन नपाएपनि पौडेल र बराल ५ वर्ष सचिव चलाउनेमा पर्छन्।

जल तथा ऊर्जा आयोगका सचिव मधुप्रसाद भेटुवाल जेठ ६ गते सेवानिवृत्त हुँदैछन्। दिननाथ मिश्र, चिरञ्जीवी चटौत, जगदिश कर्मचार्य सचिव बढुवाको लाइनमा देखिन्छन्।

गण्डकी प्रदेशका प्रमुख सचिव रघुराम विष्ट जेठ २४ गते ५८ वर्षे उमेर हदका कारण अनिवार्य अवकाशमा जाँदैछन्। उनको ठाउँमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव डण्डुराज घिमिरे बढुवाको लाइनमा छन्।

कानुन सचिव उदयराज सापकोटा जेठ २८ र संसद् सेवाका सचिव सुदर्शन खड्का जेठ ३० गते अनिवार्य अवकाशमा जाँदैछन्। सापकोटाको ठाउँमा निर्मला अधिकारी भट्टराई र खड्काका ठाउँमा सुरजकुमार दुरा सचिव बढुवा हुने लाइनमा छन्।

क्याटेगोरी : समाचार
ट्याग : #अर्जुनप्रसाद पोखरेल, #विनोद प्रकाश सिंह

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ