यी हुन् भूमि सचिव बन्ने चर्चामा रहेका सचिवहरू


काठमाडौं। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव अर्जुनप्रसाद पोखरेलले अवकाश पाएसँगै मन्त्रालय सचिवविहीन बनेको छ। भूमि मन्त्रालयमा आउन विभिन्न सचिवहरू दौडधुमा रहेको पाइन्छ। अहिले भूमिमा आउन आधा दर्जन सचिवहरू दौडधुपमा रहेका छन्।

भूमिमा आउन सबैभन्दा बढी जोड प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव चूडामणि पौडेलले गरिरहेको स्रोतले बतायो। मुख्यसचिव एकनारायण अर्यालसँग समधुर सम्बन्ध रहेका पौडेल भूमि सचिव बन्न लागिपरेको पाइन्छ। कर्णालीको प्रमुख सचिव हुँदै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय आएका पौडेल शिक्षातिरका हुन्। शिक्षाकै सूर्यप्रसाद गौतम र टेकनारायण पाण्डे भूमि सचिव भइरहेकाले पौडेलले पनि त्यहाँ आउन निकै जोडबल गरिरहेको बनाइन्छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अर्का सचिव राजकुमार श्रेष्ठ पनि भूमि सचिवको दौडमा रहेका छन्। अहिलेसम्म मन्त्रालय नपाएका श्रेष्ठ भूमिमा जान लागिपरेका हुन्।

कोशी प्रदेशको प्रमुख सचिव केदारनाथ शर्मा, बागमतीका माहादेव पन्थ र लुम्बिनीका प्रमुख सचिव बाबुराम अधिकारी पनि भूमिमा आउन दौडधुपमा लागेको पाइन्छ। दुई महिनाअघि मात्र सचिवमा बढुवा भएर लुम्बिनी पदस्थापन भएका अधिकारी लुम्बिनीका मुख्यमन्त्री चेतनारायण पौडेल, नेकपा एमालेका महासचिव शंकर पोखरेललगायत मार्फत भूमिमा आउने लबिइङमा लागेका छन्। चूडामणि पौडेलपछि भूमि सचिवमा बाबुराम अधिकारी कै बढी नाम चर्चामा छ।

कोशी प्रदेशका प्रमुख सचिव केदारनाथ शर्मा प्रदेशमा रहेका प्रमुख सचिवमध्ये सबैभन्दा वरिष्ठ हुन्। न्यायिक हिसाबले हेर्दा प्रदेशबाट आउनेमा शर्मा नै पहिलो हकदार हुन्। उनी पनि भूमिमा आउन खोजिरहेको चर्चा छ। शर्माभन्दा अगाडि माहादेव पन्थले बाजी मार्ने सम्भावना पनि उत्तिकै छ। लुम्बिनीबाट बागमती प्रदेशमा फड्को मारेका पन्थ पनि भूमि मन्त्रालयको सचिव बन्ने चर्चामा रहेका छन्। यिनीहरूमध्येबाटै भूमि सचिव बन्ने देखिन्छ।

भूमिमा मात्र होइन वाणिज्य, गृह, सञ्चारलगायतका मन्त्रालयका सचिव पनि फेर्ने तयारी भइरहेको चर्चा छ। भूमिमा सचिव खाली भएका तत्काल रिक्त स्थान पूर्ति गर्दा अन्य सचिव पनि चल्ने सम्भावना रहेको प्रधानमन्त्री कार्यालय स्रोतले बतायो।

क्याटेगोरी : समाचार
ट्याग : #अर्जुनप्रसाद पोखरेल, #चुडामणि पौडेल सचिव, #भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालय, #राजकुमार श्रेष्ठ सचिव, #सचिव केदारनाथ शर्मा, #सचिव बाबुराम अधिकारी, #सचिव माहादेव पन्थ

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ