सरकारको सुशासन

प्रशासनका सहसचिव फालाफाल हुँदाहुँदै शिक्षाका सहसचिवलाई महानगरको प्रमुख प्रशासकीय अधिकृत बनाइयो



काठमाडौं। सहसचिव सरूवा बेथिति देखिएको छ। नेपाल प्रशासन सेवाका सहसचिव फालाफाल हुँदाहुँदै नेपाल शिक्षा सेवाका सहसचिवलाई विराटनगर महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत बनाएर पठाइएको छ। युवा तथा खेलकुद मन्त्रालयमा कार्यरत शिक्षातिरका सहसचिव रामचरित्र मेहतालाई विराटनगर महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत बनाएर पठाइएको हो।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूह (बरण्डा) प्रशासन सेवाका आधा दर्जन बढी सहसचिव राखेर शिक्षा सेवाका सहसचिव मेहतालाई प्रशासन सेवाको दरबन्दीमा प्रमुख प्रशासकीय अधिकृत बनाएर पठाइएको छ। यसले मुख्यसचिव एकनारायण अर्यालको सुशासनको हावा खुस्काइदिएको हो।

सामान्यको बरण्डामा प्रशासन सेवाका सहसचिवहरू गोविन्दप्रसाद अधिकारी, चिरञ्जीवी तिमिल्सिना, सिर्जना थपलिया, हेमराज अर्याल, टंकनाथ लम्साल र निता शर्मा हाजिर गर्दै टाप ठोक्दै (हाटा) गर्दै आएका छन्। लोक सेवा आयोगबाट नरेन्द्रकुमार राना मगर र बागमती प्रदेशमा रहेका सहसचिव रुद्रप्रसाद लामिछाने सामान्यको अतिरिक्त समूह (बरण्डा)मा तानिएका छन्। एक दर्जन बढी प्रशासन सेवाका सहसचिव सामान्यको बरण्डामा राखेर शिक्षाको सहसचिवलाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मा दिइएको हो।

उच्चस्तरीय सुशासन आयोग गठन गर्ने निर्णय भएकै बैठकबाट प्रशासनको दरबन्दी भएको ठाउँमा शिक्षाको सहसचिव पठाउने स्वीकृति प्रदान भएको पाइन्छ। उक्त निर्णयले हालै गठन भएको आयोगलाई समेत गिज्याइरहेको छ।

सहसचिवको दरबन्दी भएका उपमहानगरपालिकामा समेत उपसचिवलाई पठाउने नियतका साथ सहसचिव झिकिएको छ। ईटहरी उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हेमराज भुसाल बागमती प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय वा अन्तर्गत सरूवा गरेर उक्त ठाउँमा सहसचिव पठाएको छैन।

जनकपुर उपमहानगरपालिकाका वीरेन्द्रकुमार मिश्र सदूरपश्चित प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय वा अन्तर्गत र नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओमबहादुर खड्का सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय वा अन्तर्गत सरूवा गरिएको छ। जनकपुर र नेपालगञ्जमा प्रमुख प्रशासकीय अधिकृत सरूवाको प्रदेशमा गरेर त्यहाँ अर्को सहसचिव पठाएको देखिँदैन। यसले पनि सरकारले प्रमुख प्रशासकीय अधिकृतमा बेथिति निम्त्याउने खोजेको देखिन्छ।

क्याटेगोरी : समाचार
ट्याग : #रामचरित्र मेहता, #रामचरित्र मेहता सहसचिव, #विराटनगर महानगरपालिका

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ