सरोज गुरागाईंलाई जस्तै विराटनगर महानगरपालिकाका रामचरित्र मेहतालाई सरकारले हाजिर गराउन सक्ला?


काठमाडौं। विराटनगर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भएर गएका रामचरित्र मेहताको विषयलाई लिएर विवाद सुरू भएको छ। नेपाल शिक्षा सेवाका सहसचिव मेहतालाई संघीय सरकारले प्रशासन सेवाको दरबन्दी रहेको विराटनगर महानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत बनाएर पठाएको छ। मेहताको ‘चरित्र’लाई लिएर विराटनगर महानगरपालिकाका जनप्रतिनिधि विभाजित छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सुशासनको धज्जी उडाउँदै मधेशी कोटाबाट नेपाल शिक्षा सेवाका सहसचिव बनेका मेहतालाई विराटनगर महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत बनाएर पठाएको हो। विराटनगरका मेयर नागेश कोइराला नै उनलाई हाजिर हुन नदिने पक्षमा छन्। काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)लाई पेलेर प्रमुख प्रशासकीय अधिकृत सरोजप्रसाद गुरागाईंलाई हाजिर गराएको संघीय सरकारले मेहताको हकमा कस्तो कदम चाल्छ हेर्न बाँकी छ। स्वतन्त्र मेयरलाई पेलेजस्तो राजनीतिक दलबाट मेयर बनेकालाई संघीय सरकारले कसरी कज्याउँछ त्यो पनि प्रतिक्षाको विषय हो।

मेहता करिब ३ वर्ष ईटहरी उपमहानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत बनेर बसेका थिए। ईटहरीमा हुँदै विराटनगर जान खोजेका थिए। तर, मेयरको ‘ग्रीन सिग्नल’ पाएनन्। ईटहरीमा हुँदै सहसचिव मेहताको युवा तथा खेलकुद मन्त्रालयमा सरुवा भएको थियो। तर, उनले ईटहरीमै थमौतीको प्रयास गरे। केही जोर नचलेपछि उनी मन्त्रालय आएर हाजिर गरे। फेरि सेटिङ मिलाएर उनी विराटनगर महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा सरूवा हुन सफल भएका छन्। तर, विराटनगर महानगरपालिकाका मेयर कोइरालाले मेहताको सेटिङ भत्काउने संकेत गरेका छन्। मेयरको रोजाईविपरीत विराटनगर सरूवा भएका मेहतालाई हाजिर गराउन सक्ने संघीय सरकारको ल्याकतको असली परीक्षण हुनेछ। काठमाडौंमा जस्तै दलिय जनप्रतिनिधिलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा बोलाएर रणनीति बनाएर मेहतालाई हाजिर गराउन सक्छ कि सक्दैन त्यो पनि हेर्न बाँकी छ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ