विशाल पण्डितसँग मिलेमतो गर्दा भ्रष्टाचारमा डामिएका महानिर्देशक इमनारायण श्रेष्ठ


काठमाडौं। पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक इमनारायण श्रेष्ठ भ्रष्टाचार मुद्दामा डामिएका छन्। मधेश प्रदेशको सामाजिक विकास सचिव हुँदा पालिकाहरूमा जनस्वास्थ्य प्रयोगशाला स्थापना गर्दा भ्रष्टाचार गरेको भन्दै उनीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ४१ करोड ३५ लाखभन्दा बढी बिगो मागदाबीसहित श्रेष्ठलाई प्रतिवादी बनाएर भ्रष्टाचार मुद्दा दायर गरेको हो।

पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक रहेका श्रेष्ठ मधेश प्रदेशमा पुगेपछि मेडिकल माफिया विशाल पण्डित विश्वास पात्र भएर काम गरेको जानकारहरू बताउँछन्। पण्डितसँग भएको हरेक ठेक्कामा उनले मिलेमतो गरेर अनियमितता गरेको पाइन्छ।

सचिवमा बढुवा हुने लाइनमा रहेका श्रेष्ठ विशेष अदालतबाट भ्रष्टाचारी ठहर भए उनको जागिरे जीवन सहसचिवमै समाप्त हुनेछ। २०७१ माघमा नेपाल शिक्षा प्रशासनको सहसचिव भएका श्रेष्ठ ६ जनापछि सचिव हुने पालो कुरेर बसेका थिए। नेपाल प्रशासन सेवा तर्फका सहसचिवहरू सोभाकान्त पौडेल, भूपाल बराल, डण्डुराज घिमिरे सचिव भएपछि शिक्षा तर्फका खगेन्द्रप्रसाद सुवेदी, कृष्णप्रसाद काप्री, बैकुण्ठप्रसाद अर्याल र इमनारायण श्रेष्ठ सचिव बन्ने पालो कुरेर बसेका थिए। तर, श्रेष्ठलाई भ्रष्टाचार मुद्दा दायर भएपछि तत्कालका लागि उनी लाइनबाट बाहिर गएका छन्।

विशाल पण्डितसँग मिलेमतो गर्दा श्रेष्ठलाई निकै महँगो पर्न गएको छ। निजामती कर्मचारीको अवकाशको उमेर हद ६० वर्ष नपुगे श्रेष्ठ यहीँ २०८२ चैत २६ गते ५८ वर्षे उमेर हदका कारण घर जानेछन्। त्योभन्दा पहिला विशेष अदालतबाट भ्रष्टाचारी ठहर भए त्यतैबाट घर जानेछन्।

श्रेष्ठ राष्ट्रिय पुननिर्माण प्राधिकरण अन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन इकाइ, शिक्षाको प्रमुख हुँदाको खरिद प्रक्रियामा अनुसन्धान हुने हो भने अर्को भ्रष्टाचार मुद्दा जाने उच्च सम्भावना रहेको स्रोतले बतायो। उनी जहाँ बसे त्यहाँ भएको खरिदमा कैफियत रहेको स्रोतको दाबी छ।

 

क्याटेगोरी : समाचार
ट्याग : #इमनारायण श्रेष्ठ

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ