‘वैरो’को डिजी बने माओवादी सत्ताका तरमारा सहसचिव कमलप्रसाद भट्टराई

काठमाडौं। माओवादी सत्ताका तरमारा सहसचिव कमलप्रसाद भट्टराईले वैदेशिक रोजगार विभागको महानिर्देशक (डिजी)को जिम्मेवारी पाएका छन्। केही समयअघि मात्र श्रम तथा व्यवसायजन्य सुरक्षा विभागका महानिर्देशक बनेका तरमारा सहसचिव भट्टराई वैदेशिक रोजगार विभाग (वैरो)मा फड्को मारेका हुन्।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव कृष्णहरि पुष्कर कर्णका विश्वास पात्र भट्टराई वैरोको डिजी बन्न सफल भएका छन्। कर्ण अर्थ मन्त्रालयको राजस्व सचिव हुँदा भट्टराई भन्सार विभागको महानिर्देशक रहेका थिए। उनीहरूको सिण्डिकेट ‘वैरो’मा पनि कायम हुने देखिएको छ।
सूर्यबहादुर खत्री अवकाश भएपछि वैरोको डिजी बन्ने गरी श्रम विभाग पुगेका भट्टराईको बाटोम मन्त्रालयका सहसचिव जीवलाल भुसालले अवरोध खडा गरेका थिए। ‘वैरो’मा गडबडी गरेको तथ्य सार्वजनिक भएपछि ‘हुलाकी’ खत्रीलाई मन्त्रालयमा तानेर वैदेशिक रोजगार व्यवस्थापन महाशाखाका प्रमुख भुसाललाई ‘वैरो’को डिजीमा पठाउने निर्णय भएको थियो। तर, भुसालले सूर्यबहादुर हुने खतरा देखेपछि जोखिम मोल्न चाहेनन्। चतुर स्वभावका भुसाल पछाडि हटेपछि भट्टराई खुदो पल्टिएको छ।
गोरखाका प्रमुख जिल्ला अधिकारी हुँदै प्रचण्ड परिवारको विश्वास जितेर हङकङको महावाणिज्यदूत भएका भट्टराईको वैदेशिक रोजगार विभागसँगको तितो अनुभव छ। सामान्य प्रशासन मन्त्रालयमा हुँदा माओवादी निकट कर्मचारी भएर भाइलाई बै वैदेशिक रोजगार विभागमा सरुवा गरेको थाहा पाएपछि सहसचिव भट्टराईलाई माओवादी निकट नेपाल राष्ट्रिय कर्मचारी संगठनले कारबाहीस्वरुप राष्ट्रपति कार्यालयमा सरुवा गरिदिएको थियो। पछि फेरि गोरखा पुगेपछि प्रचण्ड परिवारसँग घनिष्ठ सम्बन्धले भट्टराईलाई हङकङ पुऱ्यायो।
माओवादी सत्तामा हुँदा भट्टराई आकर्षक अड्डामा मात्र पुगे। माओवादी सत्ताबाट बाहिर पुग्नेवित्तिकै सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागबाट राष्ट्रिय सूचना आयोग पुगेका भट्टराई सत्तामा माओवादी नहुँदा पनि अहिले वैरोको डिजी बनेका छन्। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमासँगै काम गरेका सचिव कर्णले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट श्रम मन्त्रालय पुग्नेवित्तिकै सूचना आयोगमा थन्किएका भट्टराई आफूसँगै श्रममा भित्र्याए। अहिले श्रममन्त्री शरदसिंह भण्डारीलाई समेत ‘चक्मा’ दिएर सचिव कर्णले तरमारा सहसचिव भट्टराईलाई श्रम विभागबाट ‘वैरो’को डिजी बनाएका छन्। भट्टराईको डिजीबाट डिजीमा सरूवा भएको छ।
माओवादी सत्तामा हुँदा भन्सार विभागको महानिर्देशक, पर्यटन मन्त्रालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको कर्मचारी प्रशासन महाशाखा प्रमुख, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा राइँदाइँ गरेका भट्टराई अहिले ‘वैरो’मा जान सफल भएका छन्। आफूलाई क्रस गरेर ‘वैरो’ पुगेका जीवलालको प्रयास असफल पारेर भट्टराई ताकेकै ठाउँमा पुगेका हुन्।
श्रम तथा व्यवसायजन्य सुरक्षा विभागको महानिर्देशकको जिम्मेवारी भने मन्त्रालयको आन्तरिक रोजगार व्यवस्थापन महाशाखाका प्रमुख चक्रपाणिले पाएका छन्। पाण्डेले हेर्ने महाशाखामा राष्ट्रिय योजना आयोगबाट भित्रिएका कृष्णप्रसाद सापकोटा पुगेका छन्। भट्टराईले भने ‘वैरो’ गएर सबैलाई हेरेको हेरै पारेका हुन्।
क्याटेगोरी : समाचारट्याग : #कमलप्रसाद भट्टराई सहसचिव, #कृष्णप्रसाद सापकोटा, #कृष्णहरि पुष्कर कर्ण, #चक्रपाणि पाण्डे, #जीवलाल भुसाल, #माओवादी सत्ताका तरमारा सहसचिवहरू, #वैदेशिक रोजगार विभाग, #शरदसिंह भण्डारी श्रममन्त्री, #श्रम तथा व्यवसायजन्य सुरक्षा विभाग
तपाईको प्रतिक्रिया दिनुहोस